रोचकका रोचक संस्मरण
पाकिस्तानको पेसावरको होटलका कोठामा पिसाब फेर्न जाँदा बाथरुमको पिसाब फेर्ने भाँडो भैरव र बादेपाका छातीमा पुग्ने रहेछ, अग्ला युवा...लाई बनाइएका त्यस्ता साधन पुड्का नेपालीलाई थुक्न मात्र मिल्ने रहेछ (१०१)।
माथिको वर्णन रोचक घिमिरे रचित ‘अनुहार र अनुभूति’ पुस्तक भित्रका केही रोचक प्रसंगमध्ये एक हो। यो पुस्तक ३७ जना स्रष्टाका यस्तैयस्तै इन्द्रेणी अनुहार र तिनका रोचक अनुभूतिले रंगिएको छ।
साहित्य विद्रोह र विरहमा जन्मने अभिव्यक्ति हो (२८) भन्ने धुस्वाँ सायमी आफ्नो अनुभवअनुसार आफूले भोगेको समय र परिवेशलाई कागजमा उतार्ने प्रयत्न गर्छन्। नेवारी भाषामा सर्वप्रथम उपन्यास लेखेर रेकर्ड बनाउने यिनै धुस्वाँ सायमीको सुकिलो अनुहार र उनीसँगका रमणीय अनुभूति रोचकले यहाँ पस्केका छन्।
हाँस्नु र हँसाउनु तपाईंहामी सबैको अधिकार र कर्तव्य पनि हो भन्ने मान्यता राख्ने (३७) कौवा प्रकाशनका संस्थापक थिए, वासुदेव लुइँटेल। उनको हास्यदेव, व्यंग्यावतार, भूतका भिनाजु अनेक नाम छन्, जसले घरजग्गा बेचेर आएको १५ लाखबाट वासुदेव लुइँटेल पुरस्कार स्थापना गरे। उनीसँगका रमणीय अनुभूतिसँग साक्षात्कार गराइदिएका छन् रोचकले। कुनै सभा गोष्ठीमा अतिथि बनाएर बोलाउँदा आफू नगई आफ्नो तस्बिर पठाइदिने (३७); लुइँटेलको लेखन मात्र होइन, बोलीचाली, व्यवहार र आनीबानीमा समेत हास्यव्यंग्य रहेको अनुभूत रोचकले गरेका छन्।
खाने बेलामा तरकारीमा नुन कम भयो भने ‘आज कोही राणाजी मरेको छ कि क्या हो ? ’ भनी भान्से बज्यैलाई ठट्यौली पारामा हकार्ने, एकादशी कहिले हो भनेर सोध्नेका लागि ‘मेरो घ्याम्पामा जहिले चामल सकिन्छ तहिले’ भनेर जवाफ दिने (५७) कवि लेखनाथको ठट्यौली व्यक्तित्वको पाटो पनि यहाँ लेखकले अनावरण गरिदिएका छन्। लेखनाथकै कारण रोचक घिमिरेका बुवा सोमनाथ घिमिरे (व्यास)को पहुँच भीमशमशेरका दरबारभित्र पुगेको र रोचकका पिताजी काठमाडौंका बासिन्दा हुन पाएको कुरा रोचकले बेलिविस्तार लगाएका छन्।
भैरव अर्याललाई अपहरणकै शैलीमा बन्धक बनाई दिनभरि कोठामा थुनेर कोपरामा पिसाब फेर्ने व्यवस्था मिलाइएको र रचना पत्रिकाका निम्ति निबन्ध लेख्न लगाएका रोचकको अर्यालसँगको यो रोचक अनुभूतिले यस किताबको पठनीयतालाई रोचक तुल्याएको छ। भैरवको पहिलो निबन्ध ‘टी पार्टी’ छापेका रोचकले भैरवको व्यक्तित्वका अनेकौं पाटा अनावृत्त गरिदिएका छन्। घाँटीको बिरामीका कारण होला, डिप्रेसनले थिल्थिलिएका भैरव अर्याल पटकपटक मृत्यु प्रयास र इच्छा गरेको सन्दर्भ रोचकले भैरवकै शब्दमा यसरी प्रस्तुत गरेका छन् ‘हरिद्वारमा गंगामा आफूलाई सेलाइदिऊँ कि भन्ने सोचेँ... आगरा र बनारस जाँदा रेल दुर्घटना होस् भनेर कति कल्पिएँ सबुत नै रहेँ।... त्रिभुवन राजपथमा आफू चढेको थोत्रो ट्रक खसेर सिद्धिन पाए हुन्थ्यो भन्ने लाग्यो, सरदारले सबुत नै ल्याइपुर्यायो। कति सकस हन्डर खेप्नु छ : त्यसै के मर्थे चाहेर पनि’ (२०२)। काठमाडौंमा कहिले घरकै झ्यालबाट हामफालेर र कहिले त्रिशूलीसम्म पुगेर पुलबाट खस्ने आँट नआएर फर्केका घटना दोहोर्याइरहेका थिए भैरव अर्याल, भन्छन् रोचक। भैरवको सिर्जना यात्रा र मृत्युको अनुभूतिलाई जीवन्त रूपमा प्रस्तुत गरिदिएका छन्, यसरी रोचकले।
चर्चित पत्रकार शक्ति लम्साललाई मैनबत्तीको रापमा हत्केला सेक्न लगाई कम्युनिस्ट पार्टीको सदस्यता दिन शपथ खुवाउने रमेश विकलसँगको अनुभूति पनि गज्जबकै छ रोचकसँग। बर्फी खान भनेपछि मरिहत्ते गर्ने विकलले रोचकलाई काठमाडौं, पाटन, भक्तपुर मात्र होइन, बनेपासम्म पुर्याएका अनौठा अनुभव छन् यसमा। ‘दिल जलता है तो जलने दो...(पृ. ७०) हिन्दी गीत आलापसहित गाउँदै हिँड्ने, कमिक्स र जासुसी उपन्यास खोजीखोजी पढ्ने (५०), बाँसुरी बजाउँदै राति १२ बजे काठमाडौंको नक्सालबाट निकै टाढा आरुबारीको घरसम्म हिलै धुलै भएर हिँडेरै पुग्ने (७१) विकल अभिभावकविहीन थिए। विकलमाथि कसैको नियन्त्रण रहेन, अनुशासन रहेन। उनी फुक्का छाडा स्वभावका थिए (७१) रोचक भन्छन्। रोचकको भनाइ छ, जीवनमा तीनपटक विकल उनीसँग रोएका थिए रे। पहिलोपटक माहिलो कलिलो छोरा शेखरको दुर्घटनावश मृत्यु भएका बेला समवेदना दिन जाँदा, दोस्रोपटक पत्नी सुशीलाको निधनमा समवेदना दिन जाँदा अनि तेस्रोपटक उनको निधनभन्दा १०–१२ दिन अगाडि फोनमा वार्ता गर्दा (७३)। विकलसँग लामो सहकार्य गरेका रोचक विकलको अवसानबाट विकल बनेका छन्।
भैरव अर्याललाई अपहरणकै शैलीमा बन्धक बनाई दिनभरि कोठामा थुनेर कोपरामा पिसाब फेर्ने व्यवस्था मिलाइएको र रचना पत्रिकाका निम्ति निबन्ध लेख्न लगाएको लगायत अनुभूतिले यस किताबको पठनीयतालाई रोचक तुल्याएको छ।
रोचकले बालकृष्ण समबारे पनि केही रोचक केही रोचक घोचक अनुभूति पस्केका छन्। समका प्रिय पात्र लीलाध्वज थापा समका घरमा जाँदा समकै छोरीसँग लभ परेछ, सुइँको पाउनासाथ समको परिवारले लीलाध्वजलाई घर प्रवेशमै र छोरी मिट्ठुलाई बाहिर जान रोक लगाएछ। लीलाध्वज थापालाई रिसै उठेछ। उनले समलाई व्यंग्य गरेर दाह्रीवाल (सम त्यस बेला दाह्री पाल्थे) कविता लेखेछन् र मिट्ठुलाई माया गरेर मिट्ठु मैयाँ काव्य नै तयार पारेछन्। त्यतिले मात्रै नपुगेर लीलाध्वजले त ‘बालकन्याको हक’ कविता नै लेखेर रेडियो नेपालमा आयोजित कवि गोष्ठीमा सुनाउन खोजेछन् तर आयोजकले अनुमति दिएनछन् (२१५)। तर पछि लीलाध्वज बिरामी परेका बेला स्वयं भेट्न गएर बालकृष्ण समले सहृदयतापूर्वक सघाएको र सम्बन्ध सुमधुर भएको अनुभूति पनि रोचकै छ, यस कृतिमा।
बालकृष्ण समलाई आफ्नै बाबु समरशमशेरले अंशमा ठगेका रहेछन्। बाबु समरशमशेरकी भित्रिनी अर्थात् समकी सौतेनी आमासँग अवैध सम्बन्ध राखेको आरोप लगाई बाबुले चरित्र हत्या गर्न र झ्यालखानामा कोच्न जुद्धशमशेरकहाँ उजुरी दिएको सनसनीपूर्ण प्रसंग पनि यसै (२१७) मा विभिन्न स्रोत दिँदै रोचकले प्रस्तुत गरेका छन्। तर, उनी आफ्नी सौतेनी आमासँग होइन; एउटी नेवार कन्याका प्रेममा चुर्लुम्म डुबेको बताउँछन्, नयाँ सडकभित्रको त्यो बहालमा सम कुनै नेवार बाला (युवती)को आकर्षणमा जाने गरेको र ती नेवार रमणीबाट ‘नेमी सम’ नामको पुत्र जन्मेको रहस्य पनि यहाँ छ।
केदारमान व्यथित प्रज्ञाको कुलपति र सम उपकुलपति हुँदा व्यथितले समलाई हेपेको देख्दा रोचक र भैरव व्यथित भएको प्रसंग (२१२/२१३) पनि यहाँ छ। त्यति मात्रै होइन यहाँ समको अवसरवादी चरित्रप्रति तिखो टिप्पणी पनि छ। राणा शासनमा राणाहरूको पक्षधर, नपुंसक राणा लेखेबापत ६ वर्षको कारावासपश्चात् मृत्युवरण गरेका लक्ष्मीनन्दन चालिसे काण्ड र प्रजातन्त्र आउनासाथ ‘सम’ थर राखेर ( श्रीमतीलाई पनि तपाईं भनी सम्बोधन गरेका घटना) प्रजातन्त्रवादी बनेका उहाँका अस्थिर अवसरवादी चरित्रप्रति रोचकको घोचक प्रस्तुति (२१९) पनि यहाँ छ।
रोचकसँगको पहिलो भेटमै रक्सी निकै घुटयाएका र चुरोट निकै तन्काएका मनु ब्राजाकी (२५४) पहिलो भेटमा ‘सुरापान गरेपछि नै मलाई कथा लेखनमा सहजता हुन्छ, लगातार चार पाँच दिन रक्सी खाएपछि म कथालाई पूर्णता दिन्छु’ (२५८) भन्थे रे। मोफसलका लेखक ब्राजाकीका लेखरचना ‘रचना’मा छपाएर ब्राजाकीको व्यक्तित्व उठाउन आफूले खेलेको भूमिकाप्रति रोचक घिमिरे प्रसन्नताको अनुभूति गर्छन्।
महाकवि देवकोटाले हार्मोनियम बजाउँदै टाउको हल्लाउँदै र गाउँदै गरेका दृश्य देखेका रोचकले त्यस्तो दृश्य नदेखे, नसुनेका हामी पाठकमाझ उक्त दृश्यलाई समेत जीवन्त रूपमा उतारेका छन्, यस कृतिमा। देवकोटाका संकलित कृतिभित्र नपरेको सत्ताविरोधी एक रचनालाई देवकोटाले हार्मोनियम र तबलाको तालमा लय हालेर तन्मय भएर भावभंगिका साथ यसरी गाउँदै हुनुहुन्थ्यो रे ‘तन्त्र तँ पर जा। पर जा तन्त्र। मन्त्र जपी तपी आ !’
देवकोटाका घरमा चियाको प्रवेश कसरी भयो ? रोचकका पिताले नेपाली र संस्कृतमा लेखेका पुस्तकको भूमिका देवकोटाले अंग्रेजीमा किन लेखे ? रु. ५ सयका लागि ‘म्यादभित्र यो तिर्न नसके लीलाशमशेर जबराले मलाई बकसपत्र गरिदिएको काठमाडौं इलाका जमलको यति चार किल्ला भित्रको आधा रोपनी जग्गा तपाईं साहूले भोगचलन गरिलिए मलाई मञ्जुर छ’ भन्ने तमसुक आफ्नै हातले लेखेर देवकोटाले किन र कसलाई दिए ? यी सारा सूचना र रमणीय अनुभूतिहरू थाहा पाउन ‘अनुहार र अनुभूति’ पढ्नै पर्छ।
रोचकले अच्युतरमण, बादेपा, रामचन्द्र गौतम, मोहन दुवाल जस्ता पत्रकार र साहित्यकारहरूका अनुहार र ती सँगका आफ्ना अन्तरंग अनुभूतिहरू शब्दमा सजाएका छन्। उनले आनन्ददेव भट्ट, गणेशबहादुर प्रसाई, माधवलाल कर्माचार्य जस्ता समालोचक, मदनमणि दीक्षित, देवकुमारी थापा, जगदीश घिमिरे जस्ता आख्यानकार मात्र होइन; विभिन्न क्षेत्रका व्यक्तिका अनुभूतिहरूलाई दृश्यचित्रका रूपमा प्रस्तुत गरेका छन्। विशेष गरी डम्मरशमशेर थापा, दधिराम पौडेल, जनकलाल, क्षेत्रप्रताप अधिकारीसँगका प्रंसग छन्। नेपाली साहियमा यो एक पठनीय कृतिका रूपमा आएको छ।