युद्धपछि पर्यटक तान्दै लिबाङ बजार (फोटो फिचर)
(लिबाङ) रोल्पा : रोल्पाको सदरमुकाम हो लिबाङ । मगर भाषामा ‘लि’ भनेको बाँस र ‘बाङ’ को अर्थ चौर हुन्छ । लिबाङ अर्थात बाँसचौर ! तर, अचेल लिबाङमा घना बाँस छैन, शान्ति प्रक्रियापछि कंक्रिटको सहर भइसकेको छ । खोल्साखोल्सीमा मात्र बाँस देख्न सकिन्छ ।
मगर जातिको घना बस्ती रहेको रोल्पाको सदरमुकाम लिबाङमा भने मगर, ब्राह्मण, क्षेत्री, ठकुरी, नेवार, दलित, गुरुङ लगायतको मिश्रित बसोबास छ ।
सशस्त्र युद्धको उद्गमथलोसमेत रहेकाले यस जिल्लाबारे चासो राख्ने धेरै छन् । जो कसैले यहाँ घुम्ने चहाना राख्छन् । रोल्पा नटेकेका धेरैको मनमा अहिले पनि विकटता, अभाव, डर, भयका विम्व खडा हुन्छन् । तर, रोल्पा शान्त, सौम्य र मनोरम छ । कतिपयले लिबाङलाई सिक्किम र दार्जलिङसँग पनि दाँज्छन् ।
पुर्व–पश्चिम राजमार्गको भालुबाङ सडकखण्डबाट एक सय तीन किलोमिटरको वटासिल सडक हुँदै लिबाङ पुगिन्छ । सुलीचौरबाट नागबेली सडक हुँदै सातदोबाटो पुगेपछि ‘स्वर्ग’ पुगेको भान हुन्छ ।
डाँडाका ओराला घुम्ती छिचोल्दै खोँचमा रहेको लिबाङ बजार पुगिन्छ । चारैतिर अग्ला पहाडका थुम्काबीचमा लिबाङ लमतन्न परेको छ । सदरमुकामको तिरैतिर धाङ्सी खोला छ । लिबाङ ओर्लिएपछि सबैको मुखबाट ‘आहा !’ शब्द निस्कन्छ ।
विगतका सलेट ढुंगाका छाना विस्थापित गर्दै लिबाङले कंक्रिटको रुप धारण गरेको छ । बजारको बीचमा रहेको टुँडिखेलमा दुबो बौरिन थालेको छ ।
अघिल्ला हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुने टुँडिलेल ‘ग्रिन टुँडिखेल’ बन्दैछ । रोल्पा नगरपालिकाको पहलमा टुँडिखेलले मुहार फेर्दैछ । टुँडिखेलको छेउमै सशस्त्र युद्धताका ज्यान गुमाएका ९ सय ६९ जना र ३३ बेपत्ताको सम्झनामा शान्ति स्मारक ठडिएको छ । यो स्मारक हरप्लेस र नगरपालिकाको पहलमा बनाइएको हो ।