सरकारी फार्मेसी रित्तै

सरकारी फार्मेसी रित्तै

धनगढी/दार्चुला : कञ्चनपुरको पुनर्वासका विमल विष्टलाई करेन्ट लागेपछि आफन्तले उपचारका लागि सेती अञ्चल अस्पताल पु¥याए । अस्पताल पुग्नेबित्तिकै चिकित्सकले औषधि लेखिदिएपछि उनी सरकारी फार्मेसी गए । तर, त्यहाँ दुई वटा औषधि पाइएन । ‘तीन किसिमको औषधिमा फार्मेसीमा एउटा मात्र पाए’, विष्टका आफन्तले भने ।

अस्पतालको फार्मेसी परिसरमा दुई दम्पती पनि हातमा पर्चा लिएर अलमलमा परिरहेका थिए ।

डाक्टरले पर्चामा लेखिदिएको अधिकांश औषधि फार्मेसीमा नपाइएको अधिकांशको गुनासो छ । धनगढी उपमहानगरपालिका-३ विशालनगरका विरमा धामीले भनिन् ‘सरकारी फार्मेसीमा औषधि सस्तोमा पाइन्थ्यो तर जहिले पनि छैन मात्र भन्छन् ।’

अधिकांश औषधि बाहिर मेडिकलको भन्दा सरकारी फार्मेसीमा चार गुणासम्म सस्तोमा पाइन्छ । बाहिरका मेडिकलमा ५० प्रतिशतसम्म छुट पाइने औषधि छापिएको मूल्यमा मात्रै पाइन्छ तर फार्मेसीमा १० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाइने भएकाले औषधि सस्तो पाइएको हो । ‘सस्तो भनेर के गर्नु र ! अस्पतालमा आएका बिरामीले ९० प्रतिशत औषधि मेडिकलबाटै किन्नुपर्छ’, धामीले भनिन् । फार्मेसी र अस्पतालमा काम गर्ने धेरैका अस्पताल परिसरबाहिर मेडिकल सञ्चालनमा छन् ।

राष्ट्रिय स्वास्थ्य नीति ०७१ मा सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्नुपर्ने र त्यहाँ ७० प्रकारको निःशुल्क पाइने औषधिसमेत हुनुपर्ने व्यवस्था छ । तर, प्रदेश ७ को रिफरल अस्पताल सेतीमा सरकारले निःशुल्क भनेको ७० प्रकारका औषधिसमेत किन्नुपर्ने बाध्यता छ ।

अस्पतालको आकस्मिक कक्षमा आउने बिरामीले स्लाइन पानी र ड्रेसिङका सामग्रीसमेत निजी मेडिकलबाट किन्नुपर्ने बाध्यता छ । ‘अस्पतालको फार्मेसी त नाम मात्रैको हो, यहाँ आकस्मिक सेवा लिन आउनेले स्लाइन पानी पनि बाहिरबाट किन्नुपर्छ’, तारनगरका हरिष भट्टले भने ।

सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सजन केसीले पनि अस्पतालको फार्मेसीमा पर्याप्त औषधि नहुँदा बाहिरबाट किन्नुपरेको बताए । ‘अस्पतालमा कार्यरत डाक्टरले सिफारिस गरेको सबै औषधि राख्न सक्ने अवस्था नै हुँदैन’, उनले भने, ‘बजारमा एउटै रोगको पनि धेरै किसिमका औषधि हुन्छन् ।’

डाक्टरले जुनेरिक नामभन्दा पनि कम्पनीको नामले औषधि लेख्दा पनि यस्तो भएको हो । ‘अस्पतालको फार्मेसीमा आउने औषधि टेन्डर गरेर किनिन्छ, त्यहाँका अधिकांश चिकित्सकलाई फार्मेसीमा पाउने औषधि थाहा हुन्छ, अनि पर्चामा त्यो बाहेक कम्पनीको नामले औषधि लेखिदिन्छन् । बिरामीले पनि नाम नमिलेपछि औषधि लैजाँदैनन्, भएको औषधिमा पनि समस्या यस्तो छ’, अस्पतालका एक कर्मचारीले भने ।

अस्पताल प्रशासनले पनि गत वर्ष ६ सय प्रकारका औषधि फार्मेसीमा राखेकोमा यस वर्ष १२ सय प्रकारका औषधिको टेन्डर गरिएको जनाएको छ ।

सिटामोल पनि अभाव

दार्चुलामा पनि औषधिको अभाव भएको छ । जिल्ला अस्पतालको फार्मेसी र स्वास्थ्यचौकीमा औषधि अभाव भएको हो । औषधि अभाव हुँदा चेक गर्न आएका बरामी रित्तै फर्किन बाध्य छन् ।

मालिकार्जुन गाउँपालिका स्वास्थ्य केन्द्रमा दैनिक १५÷२० जना बिरामी आउँछन् । तर, अधिकांश बिरामी औषधि नपाएपछि रित्तै पर्किनुपरेको मालिकार्जुन गाउँपालिका-२ का पदमसिंह धामीले बताए । उनले भने, ‘स्वास्थ्य केन्द्रमा औषधि अभाव भएकाले बाहिर मेडिकलबाट महँगो मूल्यमा औषधि किन्नुपरेको छ ।’

सरकारले निःशुल्क वितरण गर्ने औषधि पनि अभाव छ । सरकारले जनतालाई निःशुल्क दिने ७० प्रकारका औषधिमा सिटामोलसमेत नपाइएको बिरामीले बताएका छन् ।

निःशुल्क उपलब्ध हुने ड्रेसिङ, घाउ सफा गर्ने एनएस औषधि इमर्जेन्सी कक्षमै नपाइएको मालिकार्जुन गाउँपालिका-४ की बिरामी गीता खत्रीले बताइन् । स्थानीय सरकार आएपछि झन् औषधि अभाव हुने गरेको स्थानीयले बताएका छन् । जिल्ला अस्पताल दार्चुलाका प्रमुख रविरञ्जन शाह भने औषधिको खासै अभाव नरहेको बताउँछन् । ‘जिल्ला अस्पतालमा कुनै-कुनै औषधि अभाव छ तर हाहाकार नै हुनेगरी छैन’, उनले भने । उनले बर्खाका बेला हुने महामारीका लागि पनि केही औषधि स्टक राखेको बताए ।

स्थानीय सरकार आउनुअघि केन्द्र सरकारले नै जिल्ला अस्पतालका लागि बजेट विनियोजन गरेर रकम छुट्ट्याउने गरेकोमा स्थानीय सरकार बनेपछि झन् औषधि अभाव भएको लेकम गाउँपालिका-३ लालीका स्थानीय डम्बर भण्डारीले बताए । ‘बिरामीले सर्वप्रथम डाक्टर पाउँदैनन्, पाइहाले पनि औषधि पाइँदैन’, लेकम गाउँपालिका-३ कै कमल पार्कीले दुखेसो पोखे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.