एक सातामै १८ सय नागरिकता जारी
चरिकोट : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले बुधबारदेखि सेयर संकलन सुरु गरेयता एक सातामा दोलखा जिल्लाबाट नयाँ र प्रतिलिपि गरी करिब एक हजार ८ सय नागरिकता जारी भएको छ । जिल्ला प्रशासन कार्यालय चरिकोट र इलाका प्रशासन कार्यालय बिगु गाउँपालिका–४, सिँगटीबाट सातामा करिब एक हजार ८ सय नागरिकता वितरण भएको हो ।
जन्मदर्ताअनुसार १६ वर्ष उमेर पार गरेपछि नागरिकता प्रमाणपत्र पेस नगरे सेयर आवेदन स्वीकृत नहुने भएकाले पनि नागरिकता बनाउने र प्रतिलिपि लिनेको भीड बढेको जिल्ला प्रशासन कार्यालय चरिकोटका नागरिकता फाँटका कर्मचारी नारायण सुवेदीले जानकारी दिए ।
नागरिकता बनाउने पंक्तिमा उभिएका मेलुङ गाउँपालिका–३, घ्याङसुकाठोकरका रवि कार्कीले तामाकोसी आयोजनाकै सेयरका लागि भनेर दुई दिन लगाएर नागरिकता लिएको बताए । नागरिकता लिनेको भीड बढेका कारण बिहीबार तामाकोसी गाउँपालिका–१, भीरकोटकी मनिता कार्की चेपिएर बेहोस भएकी थिइन् । नयाँ नागरिकता लिनेमा अधिकांश एसईई सकेका विद्यार्थी रहेको चरिकोट तथा सिँगटी प्रशासन कार्यालयको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय चरिकोटबाट मात्र सातामा १ हजार २ सय नागरिकता वितरण भएको प्रशासनले जनाएको छ । प्रशासन कार्यालयका अनुसार बेलुका ७ बजेसम्म कार्यालय खोलेर एकै दिन दुई सय २५ वटासम्म नागरिकता वितरण गरिएको छ ।
उत्तरी दोलखाका ३ गाउँपालिकाको व्यापारिक क्षेत्र सिँगटीबाट सातामा करिब ६ सय नागरिकता वितरण गरिएको छ । इलाका प्रशासन कार्यालय बिगु गाउँपालिका–४, सिँगटीका प्रशासकीय अधिकृत प्रेमप्रसाद सापकोटाले सातामा ६ सयभन्दा बढी नागरिकता वितरण गरिएको बताए ।