कान्द्रा नदी बस्तीतिर पस्दै
धनगढी : कन्द्रा नदीको कटानका कारण कैलालीको घोडाघोडी नगरपालिका–५ शितलपुरको बस्ती जोखिममा परेको छ। शितलपुर भएर बग्ने कन्द्रा नदीले आफ्नो क्षेत्र बढाउँदै लगेपछि बस्ती जोखिममा परेको हो।
२०५० सालमा अछामबाट तराई झरेका मन्दिरबहादुर विष्टले भने, ‘सुरुमा नदीको क्षेत्र सानो थियो, तर अहिले जति वर्ष बित्दै गयो बस्तीतर्फ नदी बढ्दै आएको छ।’ उनले स्थानीय कालिका आधारभूत विद्यालयसमेत सार्नुपर्ने स्थितिमा पुगेको बताए।
नदीछेउ रहेको ३० घरपरिवार नदीले आफ्नो क्षेत्र बढाउँदै गएपछि छेउतिर सर्दै गएको विष्टले बताए। नदी कटानमा सरकारले वर्षेनी तटबन्धका लागि बजेट छुट्याए पनि प्रभावकारी बन्न नसकेको स्थानीयको आरोप छ। स्थानीयका अनुसार, २०५० सालयता नदीले सय बिगाहाभन्दा बढी जमिन कटान गरेको छ।
‘वर्षायाममा नदीले बहाब बढाउँदै लग्छ’, स्थानीय डिल्लीराज जोशीले भने, ‘नदी आसपासमा भएका मानिसलाई अग्लो ठाउँ खोज्न सुरु गर्छन्।’ नदीको छेउबाट टाढा घर बनाए पनि एक दुई वर्षमा नदी घरनजिक पुग्ने गरेको उनको भनाई छ।
पारीपट्टि सामुदायिक वनक्षेत्र भएकाले नदी बस्तीतर्फ फर्र्किएको स्थानीयको भनाई छ। कन्द्रा कैलालीमा सबैभन्दा बढी क्षति गर्ने नदी भनेर चिनिन्छ। चुरेबाट तराई पसेको कन्द्राले नागबेली झैं कैलालीको सीमा क्षेत्र भएर बग्ने मोहनासम्म क्षति पु¥याउँदै आएको स्थानीयले बताए।
बर्खायाममा नदीको बहाबले गर्दा विद्यालयको कक्षाभित्र नै पानी भरिने भएकाले सय मिटर विद्यालय सारेको कालिका आधारभूत विद्यालयका विद्यालय व्यवथापन समितिका अध्यक्ष देबहादुर बमले बताए।
‘नदीमा बाढी आएमा विद्यालयको ५ फिट पानी भरिन्छ’, उनले भने, ‘त्यसैले गर्दा सामुदायिक वनको जग्गामा सय मिटर अगाडि भवन बनाएका छौं।’ कान्द्राका कटान रोक्नकाल लागि स्थानीयले विभिन्न जैविक उपाय गरे पनि रोक्न नसकेको धनबहादुर विष्टले बताए। ‘तटबन्ध त तटबन्धकै ठाउँमा छ, जैविक उपाय गर्दा पनि रोक्न सकेको छैन’, उनले थपे। खेतीयोग्य जमिन वर्षेनी कटान हुन थालेपछि स्थानीय चिन्तित भएका छन्।
‘सुरुमा एक बिगाहा भएको जमिन नदीले काट्दै लगेपछि १३ कट्ठामा झरेको छ’, शारदा थापाले भनिन्, ‘अब त त्यही जमिन रहने पनि आस छैन।’ कान्द्रा नदीले घोडाघोडी नगरपालिकाको धेरै बस्ती जोखिममा पारेको छ। धेरै विद्यालय र बस्तीहरु विस्थापित भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस !