गरिबी निवारणको १३ करोड रकम हिनामिन

गरिबी निवारणको १३ करोड रकम हिनामिन

जनकपुरधाम : धनुषामा गरिबी निवारण कोषको रकम दुरुपयोग भएको भन्दै विभिन्न समूहमा आबद्ध महिलाले असन्तुष्टि जनाएका छन्।

लक्ष्मीनियाँ गाउँपालिकामा मात्र कोषको १३ करोडभन्दा बढी रकममा अनियमितता भएको पीडितको दाबी छ। पीडितले शनिबार लक्ष्मिनिया गाउँपालिका–३ अगिलेसबामा पत्रकार सम्मेलन गरी कोषमार्फत आएको रकम प्रडाप्स संस्थाले हिनामिना गरेको दाबी गरेका हुन्।

गरिब र विपन्न परिवारलाई आयआर्जनमा सहज होस् भनेर सञ्चालित कोषको रकम परिचालनमा सहजीकरण गर्ने संस्थाका पदाधिकारीको गलत नियतका कारण आफू ठगिएको बताएका छन्। सत्ताधारी संघीय समाजवादी फोरमका प्रदेश २ को सचिवकै संस्थाबाट करोडौं भ्रष्टाचार भएको स्थानीयको दाबी छ।

सहजीकरणको अभिभारा पाएको जनता ग्रामीण विकास तथा जनजागृति सेवा (प्रडाप्स)मार्फत कोषको १३ करोडभन्दा बढी रकम साबिक सपही गाविस र हालको लक्ष्मीनियाँ गाउँपालिकाका विभिन्न वडामा १ सय २ समूहमा लगानीका लागि वितरण गरिनुपर्ने थियो। तर, संस्थाले फर्जी रूपमा समूह बनाएर रकम हिनामिना गरेको आरोप पीडितले लगाएका छन्।

संस्थाका कोषाध्यक्ष मनोज यादवले २०७१ सालमा समूहमार्फत रकम लगानी गर्न र त्यसबाट समाज तथा महिलाको जीवन उकास्न सहयोग पुग्ने भन्दै प्रस्ताव सारेका थिए। उनले महिलालाई समूह गठन गर्न आग्रहसमेत गरेका थिए। आर्थिक रूपमा कमजोर भएका कारण यादवको कुराले उत्साहित भई समूह गठनमा लागेको दिव्यदृष्टि समूहकी अध्यक्ष रिना साहले बताइन्।

‘हामीलाई समूह गठन गर्न भनिए पनि पछि संस्थाका व्यक्तिले मनलाग्दी सम्बन्धित वडाका महिलाको नाम संकलन गरी समूह बनाए’, उनले भनिन्। फर्जी माइन्युटसमेत तयार गरी संस्थाका पदाधिकारीले समूहको मान्यता दिएको जनाइएको छ। यसरी १७ वटा समूह गठन गरी कोषबाट विभिन्न मितिमा १ करोड ५० लाखभन्दा बढी रकम लिई संस्थाका पदाधिकारीले चेकमा नक्कली हस्ताक्षर गरेको आरोप पीडित महिलाको छ।


रकम लगानीमा सहजीकरण गर्ने संस्थाका पदाधिकारी राजनीतिक रूपमा बलियो भएका कारण न्याय पाउन नसकिएको पीडितको गुनासो।

लेखपढ गर्न नजान्ने महिलालाई मूर्ख बनाएर रकम ठगी गरेको दिव्यशक्ति समूहकी अध्यक्ष ममता यादवले बताइन्। ‘६ वर्षदेखि हामीले प्रतिमहिना सय रुपैयाँका दरले संस्थामा लगानी गर्दै आएका छौं’, उनले भनिन्, ‘महिनापिच्छे रकम संकलन गर्न आउने संस्थाका मनोज यादव हिसाब माग्दा पन्छिन थालेपछि यथार्थ खोतल्दै जाँदा ठगीमा फसेको जानकारी पायौं।’ उनीहरूले समूहको खातापाता जिम्मा नदिएको र अनपढ महिलालाई फसाएर चेकमा सही गराई पैसा निकाली दुरुपयोग गरेको समूहका सचिव सञ्जिता यादवले बताइन्।

पीडितले न्यायका लागि जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासमा संस्थाका अध्यक्ष शेषनारायण यादवसहित झपेन्द्र चौधरी, मनोज यादव, लालबाबु यादव, रोशनकुमार यादव र प्रमेश्वर यादवविरुद्ध निवेदन दर्ता गराएका छन्। तर, उनीहरू राजनीतिक रूपमा बलियो भएका कारण न्याय पाउन नसकिएको मेलमिलापकर्ता समूहका अध्यक्ष कामेश्वर यादवले बताए। समूह गठनसम्बन्धी फर्जी माइन्युट तयार पारेको जानकारी पाएपछि आफूहरूले खोसेको उनीहरूको भनाइ छ।

फोरमका प्रदेश सचिव तथा संस्थाका अध्यक्ष शेषनारायण यादवले आफूलाई बदनाम गर्न कांग्रेसले षड्यन्त्र गरेको दाबी गरे। कोषको कार्यक्रम सञ्चालनमा एक रुपैयाँ पनि भ्रष्टाचार नभएको दाबी गर्दै अध्यक्ष यादवले आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। कार्यक्रम सञ्चालन गर्दा भएको खर्च विवरण लेखापरीक्षण गरी अख्तियारको बर्दिबास कार्यालयमा बुझाइसकेको उनको भनाइ छ।

धनुषामा कोषअन्तर्गत सुरुमा १२ संस्थामार्फत समूह बनाएर लगानी गरिएको थियो। तर, पछि आर्थिक अनियमितताको आरोप लागेपछि ६ संस्थालार्ई कोषको कार्यक्रमबाट हटाएर अन्यबाट काम गराउन थालिएको हो। जिल्लामा साढे ७ सयभन्दा बढी समूहले कोषको लगानीमार्फत आयआर्जन गरी जीविका निर्वाह गरिरहेको जनाइएको छ।

०००

धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा पत्रकार सम्मेलन गरी समस्या सुनाउँदै महिला।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.