तन्नेरी विकर्षण

तन्नेरी विकर्षण

एक तालिम कार्यक्रम छनोटको अन्तर्वार्ता प्यानलमा थिएँ। अन्तर्वार्ता दिन आएका सबैलाई प्रश्न गरें, ‘नेपालमा गर्व गर्नलायक र शरम लाग्ने कुरा केके छन् ? ती राम्रा र नराम्रा कुरामा आफ्नो के भूमिका देख्नुहुन्छ ?’

‘नेपालका मानिस मिलनसार छन्, हावापानी राम्रो छ, हिमाल, पहाड, तराई, भौगोलिक विविधता छ। पर्यटकका लागि प्रिय देश हो यो’, १९ देखि २९ वर्ष उमेर समूहका युवाले नेपालमा देखेको सकारात्मक पक्षबारे यसरी बोलेका थिए। उनीहरूलाई नराम्रो लाग्ने कुरा यस्ता थिए, ‘बाटो कहिल्यै बन्दैन, जहिल्यै ट्राफिक जाम हुन्छ, जताततै भ्रष्टाचार छ, राजनीति ठीक छैन, नेताहरू ठीक छैनन्, प्रदूषण छ, केटीहरू सुरक्षित छैनन्, बलात्कार र हिंसा छ, युवाजति विदेश जान्छन् कि रोजगार गर्न कि पढ्न।’

ती युवाले देशको गौरव गर्ने वा शरम लाग्ने कुरामा आफ्नो भूमिका ठोस रूपमा निर्क्यौल गर्न सकेनन्। उनीहरूको उत्तर खिन्न बनाउने खालको थियो। देशमा राम्रा कुरा अरू पनि थिए नि ! उदाहरणका लागि नेपालले दशक लामो द्वन्द्व टुंग्यायो। नयाँ संविधान लेखियो। एक सय २५ भाषा, ५९ जातजाति भए पनि सहिष्णुता देखिन्छ। स्थानीय स्तरसम्म सरकार स्थापित भएका छन्। यौनिक अल्पसंख्यकका विषय सम्बोधन भएका छन्। ठूलो संख्यामा महिला संसद् र स्थानीय तहमा आए आदिआदि। यी कुरामा तन्नेरीहरूले किन गर्व गर्न सकेनन् भन्ने खुल्दुली लागिरह्यो। उनीहरूलाई नराम्रो लागेका कुराको फेहरिस्त भने लामै देखियो।

शिक्षा मन्त्रालयका एकजना पूर्व प्रवक्ताले कार्यक्रममा आजको शिक्षाको असफलताबारेमा कोट्याएका थिए। ‘हामीले कस्तो शिक्षा दियौं भन्नेबारेमा छोराछोरी र आमाबाबुबीच कुराकानी हुँदैन। अभिभावक छोराछोरीसँग कुरा गर्न कि दिक्क मान्छन् कि डराउँछन्। घर छोडेर गइदिन्छ कि, ड्रग पो खाइदेला कि डिप्रेसनमा पो जाला कि भनेर डराउँछन्। हामीले कस्तो शिक्षा दियौं, हाम्रा युवा आफ्नो भाषामा निवेदन लेखेर कुनै पनि नेपाली कार्यालयबाट काम गरेर ल्याउन सक्दैनन्। एकथरी विद्यार्थीको अंग्रेजी भाषामा पकड छैन, अर्काथरी नेपाली भाषा लेखपढ गर्न सक्दैनन्’, ती प्रवक्ताले भनेका थिए।

यस्तो कुरा सुनेपछि के हाम्रा युवा साह्रै कमजोर हुन् त भन्ने लागिरहन्छ। युवा ब्रोइलर कुखुराजस्तो कमजोर किन छन् ? देशप्रति उनीहरूमा यतिसाह्रो अलगाव किन ? यस्ता प्रश्नको उत्तर खोज्न पछिल्ला केही वर्ष सामाजिक, राजनीतिक घटनाक्रममा युवा सहभागिता र प्रभावको समीक्षा गर्न थालें। अकुपाइ बालुवाटारदेखि लिएर राजनीतिक दलका भ्रातृसंगठनले खेलेको भूमिका र डा. गोविन्द केसीको आन्दोलनले पाएको ऐक्यबद्धतासम्मलाई नियालें। ‘नेपाल तिम्रो डेरा कि घर ?’, ‘अहिले नगरे देशका लागि कहिले गर्ने ? ’ जस्ता वाक्यांश लेखिएका टिसर्ट लगाउनेहरूलाई सम्झें। उद्देश्य जेजस्तो भए पनि युवा सामाजिक र राजनीतिक मुद्दाबाट टाढा भएका छैनन्।

निराश युवाहरूलाई मूल प्रवाहमा ल्याउने विषयमा बहस चलाउन आवश्यक छ।

फुटबल होस् वा क्रिकेट खेलेर देशमा निराशाको वातावरण रहँदासमेत युवाले आशाको सञ्चार गरिरहे। तर देशका युवा सबैभन्दा ठूलो मात्रामा उठेको समय भने २०७२ सालको भूकम्प नै थियो। त्यसबेला युवाले उद्धार, राहत सामग्री जुटाउन, सरकारी संयन्त्रसँग समायोजन गर्न कुनै विकास साझेदारजत्तिकै भूमिका निभाए। यसको बृहत् समीक्षा भएको छैन होला, तर समग्रमा भूकम्पमा युवाले गरेको काम प्रभावकारी र मितव्ययी थियो। अरूले गरेका त्यति नै काम असाध्यै खर्चालु थियो।

यो समीक्षापछि मेरो दिमागमा नेपाली युवाको चित्र ब्रोइलरबाट साखिनी जातको कुखुरामा फेरियो। रंगिन प्वाँख भएको साखिनी वनमा एक्लै हावाहुरी, झरीबादल झेलेर पनि बाँच्न सक्छ।

युवा विदेश पलायन भएकोमा सबैलाई दुःख छ, तर बिदेसिएका युवाले अर्काको देशबाट समेत देशप्रेम, संस्कृतिप्रतिको असीम आस्था, अनुशासन र सीप सिकेर आएका छन्। मधेस, दलित र जनजातिसहित सबै समुदायका युवाले रेमिटेन्समा योगदान दिएका छन्। तथापि यसबेला देशलाई रेमिटेन्स होइन, देशभित्रै केही गर्नसक्ने उद्यमी युवाको खाँचो छ। थोरै रकमका लागि मुख्य जनशक्ति बिदेसिँदा देशले चर्को सामाजिक र आर्थिक मूल्य चुकाइरहेको छ। नेपालमै सम्भावना छ भन्ने सन्देश फैलाउन पनि युवाको भूमिका आवश्यक छ। अरूका प्रवचनले भन्दा युवा आफ्नै उदाहरणले आकर्षित हुन्छन्।

के नेपाली युवा यहाँको शिक्षा प्रणालीमा विश्वास नभएर बिदेसिइरहेका हुन् ? यो प्रश्न महत्वपूर्ण छ। स्पष्ट छ– अहिलेको शिक्षा प्रणालीमा आमूल सुधार आवश्यक छ। कस्तो रणनीति लिएमा युवालाई नेपालमै पढ्ने वातावरण बनाउन सकिन्छ र यसले कति घरखेत जोगिन्छन्, समीक्षा आवश्यक छ। दुर्भाग्य के छ भने युवा भन्नासाथ राजनीतिक दलका भ्रातृसगंठनको मात्रै परिकल्पना गरिन्छ। प्रायः २६ वर्षसम्मका व्यक्ति युवा मानिन्छन्, तर नेपालमा ४० कटेकालाई पनि युवा भन्ने संस्कार छ।

युवा नीति बनाउने क्रममा मस्यौदा समितिका सदस्यहरूबीच यो चालीसबर्से मापदण्ड घटाउने प्रयास गरियो, तर उमेर समूह नेपालको आफ्नै आवश्यकताबमोजिम हुनुपर्छ भन्ने तर्कले जित्यो। जसका कारण फेरि पनि ऊर्जाशील युवाका नाममा वृद्धहरूले हालिमुहाली गरिरहने स्थिति बन्यो। परम्परागत शैली हुनु हुँदैन भन्दै परम्पराले नै नेतृत्व गरिरह्यो। कपाल फुलुन्जेल, दाँत हल्लिउन्जेल राजनीतिक दलमा युवा नेता बनिरहने संस्कार बस्यो। यसले नेपालीको एकसरो मनोविज्ञान बताउँछ। राजनीतिक दल, संघसंस्थादेखि सरकारी सेवा पनि यसबाट प्रभावित छन्। पद र कुर्सी छोड्न सबैलाई सकस पर्छ। त्यसैले युवामा देशप्रति वफादारी हुँदाहुँदै पनि त्यो जवाफदेहितामा रूपान्तरण हुन सकेको छैन।

कति युवा राष्ट्रियतालाई राजनीतिको पयार्यका रूपमा पनि बुझ्छन्। हुन पनि राजनीतिक संस्कृति जुनरूपमा प्रदर्शन र प्रवद्र्धन भयो, त्यसबाट भ्रातृसंगठनका युवाबाहेक आम युवाको आस्था राजनीतिबाट धमिलिएको छ। नातावाद, कृपावाद, भ्रष्टाचार, सिन्डिकेट, दलालीजस्ता विकृतिबाट निराश युवालाई कसरी मूल प्रवाहमा ल्याउने, यसबारे बहस आवश्यक छ। छिमेकी मुलुक भुटानमा स्नातक सकेका राजाले युवासँग दुई दिन बिताएर अवसर र समस्याका कुरा गर्दा रहेछन्। उनले ती युवालाई देशका लागि जिम्मेवार हुन आह्वान गर्दा रहेछन्।

बंगलादेशी प्राध्यापक युसुफले सार्क बैठकमा भनेका थिए, ‘देशको बागडोर क्रमशः युवालाई सुम्पने रणनीति लिनुपर्छ। किनभने यो प्रविधिको युग हो। हामीलाई सिक्न वर्षौं लाग्ने प्रविधि युवाले आधा घन्टामा सिक्छन्, त्यसैले युवा नेतृत्व प्रभावकारी हुन्छ। नेपालमा पनि यस्तो अवसर र बृहत् संवादको आवश्यकता छ, जसले आम युवालाई ब्रोइलरबाट साखिनीमा रूपान्तरण गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.