अहेव नै डाक्टर

अहेव नै डाक्टर

सिरहा : सिरहाको औरही गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र अहेवकै भरमा चलिरहेको छ। ०७१ साल माघ १२ गते मेडिकल अधिकृत डा. कृष्णा यादव सरुवा भए। स्थानीय निर्वाचनपछि एचए रामनारायण सिंह बरियारपट्टी गाउँपालिकाका स्वास्थ्य संयोजक भएर गए। वरिष्ठ अहेव उपेन्द्र यादवले औरहीका स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हाले। त्यसपछि स्वास्थ्य केन्द्र अहेवकै भरमा रहेको स्थानीयको भनाइ छ।

औरही, लबटोली, इटाटार, कमलपुर, गणेशपुरलगायत गाउँका बिरामी यो स्वास्थ्य केन्द्रमा उपचारका लागि आउँछन्। तर, यहाँ भौतिक पूर्वाधार अस्तव्यस्त छ भने डाक्टर नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा छैन। दैनिक ६० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको निमित्त प्रमुख उमेश यादवले जानकारी गराए।

‘एमबीबीएस डाक्टर बस्दा सयभन्दा बढी बिरामी आउँथे’, उनले भने, ‘चार वर्षदेखि दरबन्दीको डाक्टर आएको छैन, हामीले पटक-पटक माग गरे पनि सुनुवाइ भएको छैन।’ करार र छात्रवृत्ति पाएका डाक्टर आए पनि केही महिना बसेर जाने गरेको उनको भनाइ छ।

अहिले बिरामी हेर्न अहेव वीरेन्द्र साह र वीरेन्द्र राय दुई जना छन्। उनीहरूमध्ये एक जना गाउँमा गाउँघर क्लिनिक र खोप कार्यक्रम सञ्चालन गर्न जान्छन्। भौतिक पूर्वाधार र दरबन्दीअनुसारको जनशक्ति व्यवस्थापन नहुँदा सामान्य बिरामीबाहेक अरूलाई बाहिर पठाउनुपरेको निमित्त प्रमुख यादवले बताए। पूर्वाधार अभावले प्रयोगशाला, ओपीडी कक्ष, औषधि वितरण कक्ष र प्रशासनिक कार्यालय व्यवस्थित हुन नसकेको उनले सुनाए।

यही स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर पनि सञ्चालनमा छ। डाक्टर नहुँदा गम्भीर अवस्थाका गर्भवतीलाई बाहिर पठाउने गरिएको नर्स अनु बस्नेतले सुनाइन्। ‘नजिकमा एम्बुलेन्स पनि छैन, सदरमुकाम सिरहा नभए लहानबाट एम्बुलेन्स मगाउनुपर्छ’, उनले भनिन्, ‘बर्थिङ सेन्टरबाट पाउने सेवासुविधा यस भेगका जनता पाउन सकेका छैनन्।’

स्वास्थ्य केन्द्रको भवन अधुरै छाडिएपछि यहाँ भौतिक पूर्वाधारको अभाव भएको छ। पीएस विशाल एन्ड विराट जेभीले सहरी विकास कार्यालय राजविराजबाट निर्माण ठेक्का ३ करोड ४९ लाखमा लिएको थियो। निर्माण कम्पनीले २ करोड ३२ लाख भुक्तानी पनि लिइसकेको छ तर भवन अधुरै छ।

चार वर्षदेखि काम अधुरै छाडेर ठेकेदार भागेको गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले बताए। ‘सहरी विकास कार्यालयले ठेकेदारसँगको विवाद समाधान गरी हस्तान्तरण गरे गाउँपालिकाबाटै बजेट लगाएर काम पूरा गर्छौं’, उनले भने, ‘यहाँ भौतिक अभावले डाक्टर पनि आउँदैनन्, जनताले स्वास्थ्य पाउन सकेको छैनन्। न उनीहरू काम गर्छन् न त हामीलाई दिन्छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.