अग्रिम हाजिर गर्ने डाक्टर अख्तियारको फन्दामा

अग्रिम हाजिर गर्ने डाक्टर अख्तियारको फन्दामा

 जाजरकोट : महिना नबित्दै हाजिर गर्ने जाजरकोट अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राई अख्तियारको फन्दामा परेकी छन् । साउनको अग्रिम हाजिर गरेर डाक्टर बेपत्ता भएको समाचार अन्नपूर्ण पोस्ट्ले बिहीबार प्रकाशन गरेपछि उनलाई अख्तियारले छानबिन थालेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट खटिएको टोलीले डा. राईको हाजिरलगायत कागजात नियन्त्रणमा लिई अनुसन्धान थालेको हो । शाखा अधिकृत सुरेशकुमार विसीको नेतृत्वमा खटिएको टोली जाजरकोट अस्पताल पुगेर हाजिरलगायतका कागजात संकलन गरेको हो । टोलीले अस्पताल प्रमुखसँग पनि आवश्यक सोधपुछ गरेको थियो ।

अख्तियार सुर्खेतका उपसचिव तथा वरिष्ठ अनुसन्धान अधिकृत जंगबहादुर डाँगीले भने, ‘उनको हाजिर जाँच गर्दा साउनभरिको हाजिर अगाडि नै गरेर जिल्ला छाडेको पाइयो । शनिबारको दिन पनि हाजिर गरिएको छ । उनलाई के कारबाही गर्ने र कस्तो प्रकारको मुद्दा लगाउनेबारे केही दिनमै टुंगो लाग्नेछ ।’ उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ सेवा दिन जेठदेखि काजमा खटिएकी हुन् । विशेषज्ञ सेवा दिनुको साटो महिनाभरिको अगाडि नै हाजिर गरेर उनले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प भएको छ ।

स्वास्थ्य कार्यालय जाजरकोटले डा. राईलाई महँगो तलब दिएर जटिल प्रकृतिका सुत्केरीको अपरेसन, स्त्रीरोगलगायत उपचार गर्न काजमा राखेको हो । उनले मासिक दुई लाख ७७ हजार दुई सय ५० रुपैयाँका दरले जेठ र असारको पाँच लाख ५४ हजार पाँच सय रुपैयाँसमेत भुक्तानी लिइसकेकी छन् । दुई महिनामा आधा दर्जन सुत्केरीलाई उपचार गर्न नसकेर अस्पतालले रेफर गरेको छ ।

गत शुक्रबार जिल्ला प्रशासन कार्यालय जाजरकोटले पनि हाजिर छड्के गरी साउनभरिको हाजिर अगाडि नै गरेर गएको प्रमाणसहित कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक कारबाहीका लागि सिफारिस गरेको छ । तर, डा. राईलाई कारबाही गर्नुको साटो प्रतिष्ठानले उनलाई बचाउन काज फिर्ता गरी जुम्लामा हाजिर गर्ने तयारी गरिरहेको बताइएको छ । जाजरकोट अस्पतालका निमित्त प्रमुख डा. केशरजंग कार्कीले भने, ‘डा. राई व्यक्तिगत कामको सिलसिलामा नेपालगन्ज जानुभएको थियो । उतैबाट जुम्ला फर्किसक्नुभएको छ । यता, स्थानीय प्रशासन र अख्तियारले छापा मारेपछि उहाँ उतै फर्किनुभएको हो ।’ डा. राईलाई कारबाहीबाट जोगाउन विभिन्न शक्तिकेन्द्रबाट दबाब दिन थालिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.