कर्णाली राजमार्ग र करिडोर अवरुद्ध

कर्णाली राजमार्ग र करिडोर  अवरुद्ध

कालिकोट : कालिकोटमा गतसातादेखिको नियमित वर्षासँगै ठाउँठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। शुभकालिका गाउँपालिका–१ स्थित गगने खोला लगायतका दर्जनौं ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग ठप्प भएको हो। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी विनोद शर्माले कर्णाली राजमार्गको दैहीखोला र एसमोडको बीचमा पर्ने गगने खोलामा ठुलो पहिरो खस्दा कर्णाली राजमार्ग ठप्प भएको जानकारी दिए।

शर्माले नियमित वर्षासँगै गगने खोलामा लगातार पहिरो खस्दा दैनिक रुपमा राजमार्ग अवरुद्ध हुँदै आएको जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘गगने खोलामा निकै ठुलो चट्टानबाट पहिरो खसिरहेको छ। छिनमा रोकिन्छ पहिरो सडक विभागको डोजरले पन्छाएर सडक खुल्छ, छिनमै वर्षा हुँँदा पुनः पहिरो खस्दा सडक अवरुद्ध हुन्छ।’

दैनिक रुपमा गगने खोलामा मात्र पटक पटक सडक खुल्ने र अवरुद्ध हुने गरेको शर्माको भनाई छ। उनका अनुसार, गगने खोलाको पहिरोका कारण कर्णाली राजमार्गमा सञ्चालन हुने यात्रुबाहक तथा मालबाहक सवारी साधन र यात्रुले निकै सास्ती खेप्नु परेको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार गगने खोलामात्र नभएर कर्णाली राजमार्गको कालिकोट खण्डमा दर्जनबढी ठाउँमा पहिरो गएको छ। कार्यालयका अनुसार कर्णाली राजमार्गको काले खोला, सेरीघाट, झाम्ला मोड, सुनार खोला, छेडा, सिम्लेगाड, पिली, राचुली लगायतका ठाउँमा पनि स­साना पहिरो खसेका छन्।

पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ। जिल्लाको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले गगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुनुका साथै वडा नं. १ छातीको गाउँ नै उच्च जोखिममा परेको जानकारी दिए।

चौलागाईका अनुसार गगने खोलाको पहिरोले छातीको गाउँ छुन करिब एक सय मिटर दुरीमात्र रहेकाले त्यहाँका एक सय ५३ घरधुरी पहिरोको त्रासमा बसिरहेका छन्। उनले भने, ‘पहिरोले छातीको गाउँ छुन एक सय मिटरमात्र दुरी छ। गाउँपालिकाले स्थानीय नागरिकलाई उच्च सतर्क रहन आग्रह गरेका छौं किनकी अहिले पनि वर्षासँगै पहिरो बगिरहेको छ।’

पहिरोकै कारण विस्थापित कालिका गाउँपालिका–६ हाउडीका पालमुनि बस्दै आएका एक सय ७६ परिवारको जनजीवन कष्टकर बन्दै गएको छ। उनीहरुलाई निरन्तर वर्षाका कारण चिसो बढ्ने, खाना खाने दाउराको अभाव, खाद्यान्न आपूर्तिको समस्या भइरहेको स्थानीयले बताए।

बालबालिका र वृद्धवृद्धामा रुघाखोकीको समस्या पनि देखिएको छ। कतिपयले त पालमुनिको बास थप कष्टकर बन्न थालेपछि पालसमेत छाडेर आफन्तको आश्रय लिन थालेका छन्। गाउँपालिका अध्यक्ष चौैलागाईका अनुसार पहिरो रोक्न तटबन्धका लागि डिजाइनका लागि अनुमानित लागत गर्न सोमबार गाउँपालिकाबाट प्राविधिक खटाइएको छ।

जिल्ला दैवी प्रकोक उद्धार समिति र कर्र्णाली प्रदेश सरकारले हाउडीको पहिरो रोक्ने तटबन्धका लागि डिजाइन लागत गरेर पठाउन भनेपछि गाउँपालिकाले प्राविधिक खटाएको हो। जिल्लाको महावै गाउँपालिका–३ नकुमा पनि पहिरो नरोकिँदा स्थानीयबासी विस्थापित भएका छन्।

नुकुका स्थानीय ३४ परिवार कोही आफन्तकहाँ त कोही लेकाली भेकमा रहेका भैंसीगोठमा बसाइसरेका छन्। महाँवै गाउँपालिका–३ का वडासदस्य रजबहादुर बिष्टका अनुसार, गाउँको तलतिरबाट निरन्तर पहिरो खस्दा पूरै गाउँ जोखिममा परेको छ। उनले एक जनाको घर भत्किसकेको छ भने ११ जनाको पूरै धान रोपाई गरेका खेत बगेका छन्।

अझै पहिरो रोकिएको छैन भने एक दुई दिनमै गाउँमा पस्ने सम्भावना रहेको छ।  उनले थपे, ‘गाउँको तलतिरको भाग पूुरै भासिएको छ। बखतबहादुर सिंहको घर र प्रविण विष्टको खुर्सानी बारी पहिरोमा परिसकेको छ।’  

जिल्ला प्रहरी कार्यालयका अनुसार कालिकोटको खुलालुदेखी हिल्सा जोड्न कर्णाली करिडोर पनि अवरुद्ध छ। निरन्तर वर्षाका कारण कतै पहिरो खसेको त कतै हिलाम्मे सडक भएका कारण कर्णाली करिडोर पनि अवरुद्ध छ।

करिडोर अवरुद्ध भएपछि स्थानीय रारा कर्णाली यातायात प्रालिद्धारा सञ्चालित जीवहरु ठाउँठाउँमा रोकिएका छन्। प्रालिका सचिव धनबहादुर बटालाका अनुसार कर्णाली करिडोरको रेगिलको भीर, रेगिलदेखि कोटसम्मको करिब पाँच सय मिटर सडकमा पहिरो खसेपछि करिडोरमा यातायात सेवा ठप्प भएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.