अल्ट्रा दौडमा चम्किँदै बुढा

अल्ट्रा दौडमा चम्किँदै बुढा

मुसीकोट : कहाँको पहाडी जिल्ला रुकुम अनि कहाँको काठमाडौं। मान्छेहरू गाडीमै आवतजावत गर्दा टाढा मानेर हवाईजहाजको यात्रा गर्छन्। यस्तोमा कोही रुकुमदेखि काठमाडौंसम्म पैदलै आवतजावत गर्छन् भन्दा पत्यार नलाग्न सक्छ। धेरैलाई यो कुरा असम्भव जस्तो पनि लाग्न सक्छ। तर, यही असम्भवलाई धेरै पटकको प्रयासमा सफल बनाएका छन्, रुकुमका एक युवाले।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका-६, सेरिगाउँका २८ वर्षीय दुर्गाबहादुर बुढा ती युवा हुन्, जो रुकुम-काठमाडौं हिँडेरै आवतजावत गर्छन्। त्यो पनि एकपटक होइन पटकपटक। प्राकृतिक सुन्दरता नियाल्दै पैदल यात्रा गर्न मन पराउने यी युवा पहिलोपटक नौ वर्षअघि २०६५ सालमा पाल्पा पढ्न गएका थिए। पढाइ सकेर पाल्पादेखि उनले पैदलै यात्रा गरे। त्यसपछि उनलाई प्रेरणा मिल्यो र त्यसपछिका यात्रा हिँडेरै गरे। उनले २०६७ सालमा पहिलोपटक रुकुम-काठमाडौं र काठमाडौं-रुकुमको यात्रा गरे। काठमाडौं सम्मको बाटो हिँडेरै छिचोलेका उनलाई रुकुमदेखि नजिकका स्थानमा जान कुनै कठिनाइ हुँदैन। बुढाले चारपटक रुकुम-काठमाडौं पैदल यात्रा गरिसकेका छन्। हतारमा यात्रा गर्नुपर्नेबाहेक अन्य बेला भने उनी हिँडेरै यात्रा गर्छन्।

उनी मुसीकोटबाट रुकुमकोट, बागलुङ, पोखरा, आँबुखैरेनी, गोर्खाको आरुघाट, धादिङबेँसी हुँदै पाँच दिनमा काठमाडौं पुग्ने गरेका छन्। यसैगरी उनले कहिलेकाहीँ अर्को रुट पनि बनाएका छन्, रुकुमकोट, बागलुङको बुर्तिबाङ हुँदै कालीगण्डकीको तिरैतिर भएर गुल्मीको तम्घास, पाल्पा, पोखरा, आँबुखैरेनी र धादिङबेसी हुँदै काठमाडौं सम्मको।

हिँडेरै धेरै ठाउँ पुग्ने उनको बानीले बुढाले खेलाडीको परिचयसमेत बनाएका छन्। उनले रुकुमका एकमात्र ‘अल्ट्रा धावक’का रूपमा आफूलाई स्थापितसमेत गरेका छन्।

दौडिनुलाई नै आफ्नो जीवनको लक्ष्य राखेका उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भइसकेका छन्। पहिलोपटक ८० किलोमिटर लामो काठमाडौं ट्रेल रेसमा भाग लिएका उनी ६४ प्रतियोगीलाई पछि पार्दै दोस्रो भएका थिए। त्यसपछि बेस क्याम्पदेखि नाम्चेबजार सम्मको ६० किलोमिटर लामो तेन्जिङ हिलारी एभरेस्ट म्याराथनमा चौथो स्थान हासिल गरेका थिए। यसैगरी काठमाडौं म्याराथनलगायत विभिन्न प्रतियोगितामा सहभागिता जनाए। स्नातक तहसम्म अध्ययन गरेका बुढा अल्ट्रा दौडमा नै भविष्य रहेको देख्छन्। ‘सुरुमा घरपरिवारलाई मनाउन नै धेरै गाह्रो भयो। अहिले भने विस्तारै बुझ्दै हुनुहुन्छ र मलाई हौसला र प्रेरणा दिइरहनुभएको छ’, धावक बुढाले भने, ‘मलाई प्रकृतिले तान्यो र म अल्ट्रा दौडमा आकर्षित भएँ।’

उनी अल्ट्रा दौडबाटै वल्र्ड च्याम्पियन बन्ने अभियानमा लागिपरेका छन्। ‘हिँड्नु नै मेरो जीवनको सबैभन्दा ठूलो लक्ष्य हो। म निरन्तर हिँडिरहन्छु’, उनी भन्छन्।

आफूले लामो यात्रा तय गरेको देखेर अरूले पनि सिकून् भन्ने चाहेका उनी अहिले एक्लै रुकुमका डाँडाकाँडामा तालिम गरिरहेका छन्। धावक बुढा ६५ किलोमिटर लामो मानसरोवर अल्ट्रा रेस र एक सय ६५ किलोमिटर लामो नेपाल-भारत सिमानाको गोकियो कालापत्थरमा आयोजना हुने अल्ट्रा रेसमा भाग लिने तयारीमा छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.