स्नातकमा अब्बल विराटनगर

स्नातकमा अब्बल विराटनगर

विराटनगर : औद्योगिक र राजनीति क्रान्तिको उत्भव भएको स्थान भनेर मात्र अब विराटनगरको परिचय पूरा हुँदैन । कार्यान्वयनका क्रममा रहेको संघीयता थेग्न अनि कार्यान्वयन गराउन प्रदेश १ को राजधानी बन्ने पनि सौभाग्य यही सहरलाई प्राप्त भएको छ ।

विद्यालय कक्षादेखि उच्च शिक्षासम्मको अब्बल शिक्षामा आफूलाई खरो रूपमा उतार्न सफल भएको यो सहरमा उपलब्ध शिक्षाको गुणस्तर र गुणवत्ताको चर्चा राष्ट्रिय रूपमै हुन थालेको छ । पछिल्ला केही दशकयता शैक्षिक सहरको उपमाले विराटनगरको नाममा अर्को विशेषण पनि थपिदिएको छ । विद्यालयस्तरदेखि मेडिकल शिक्षासम्मको उपलब्धताले विराटनगरले छुट्टै पहिचान बनाउन सफल भएको हो ।

विद्यालय तथा उच्च शिक्षाका लागि गुणस्तरीय शिक्षा दिने संस्थाहरू खुलेसँगै विराटनगरले पछिल्लो केही दशकमै शैक्षिक क्षेत्रमा निकै फड्को मारेको हो । यही बलमा यो सहरको परिचय शैक्षिक सहरको रूपमा विकास हुन पुगेको छ । स्नातक शिक्षाका लागि राष्ट्रिय प्रतिस्पर्धामा आएको पूर्वकै केन्द्रमा शैक्षिक अवसरको ढोका पनि खुलेको छ ।

विगतमा सरकारीस्तरको महेन्द्र मोरङ र स्नातकोत्तर क्याम्पसले भरथेग गरेको यहाँको उच्च शिक्षाको बागडोर अहिले निजी क्षेत्रका कहलिएका कलेजले सम्हालेका छन् । हरेक वर्ष यो सहरबाट १५ सय विद्यार्थीले स्नातक तह पूरा गर्न थालेका छन् । समग्र शैक्षिक योगदानको कुरा गर्दा निजी क्षेत्रमा पढ्ने विद्यार्थीको संख्या थपिने क्रममा पुगेको छ । विराटनगरस्थित मेरिल्यान्ड कलेजका प्राचार्य भेषराज पोखरेल भन्छन्, ‘विज्ञानबाहेक अन्य विषयको कुरा गर्ने हो भने यहाँ बर्सेनि गुणस्तरीय र व्यवहारिक स्नातक तह पूरा गरेर उत्तीर्ण हुने विद्यार्थीको संख्या बढ्दो छ ।’ उनले पहिले सरकारी कलेजमा मात्र निर्भर रहनुपर्ने विद्यार्थीले अहिले आफ्नो इच्छा÷चाहनाअनुसार नै खोजे जस्तै कलेजमा पढ्न पाएको बताए ।

‘मेरिल्यान्डले जागिर खाने होइन दिने हो’ भन्ने मान्यतालाई अंगीकार गर्दै विद्यार्थीलाई ‘कर्पोरेट ट्रेनिङ’ दिने व्यवस्था गरेको छ । पढेर जागिर खाने मात्र नभएर उद्यमी बनाउन अभिप्रेरणा दिने गरिएको कलेजले जनाएको छ । डेढ दशकदेखि व्यवस्थापन कक्षा सञ्चालन गरिरहेको कलेजले भारत र सिंगापुरबाट समेत ‘गेस्ट लेक्चर’ ल्याएर अध्यापन गराउने गरेको छ । जब प्लेसमेन्टका लागिसमेत पहल लिने गरेको प्राचार्य पोखेरेलले बताए ।

दस जोड दुईको ‘रिजल्ट’लगत्तै विद्यार्थीहरू कलेज खोज्न भौंतारिने गर्छन् । तर विराटनगर महानगरभित्रै अहिले एक सरकारी महेन्द्र मोरङ कलेजसहित एक दर्जन कलेजले स्नातक शिक्षामा गुणस्तरीय शिक्षा दिइरहेका छन् । हिमालय दर्शन, निहारिका, कोसी, युनिभ, विराट क्याम्पस, एम्स कलेज, सिटी कलेज, एप्लाइडलगायतले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् । व्यवस्थापन संकायमा अधिक कलेज केन्द्रित भए पनि कतिपयले मानविकीअन्तर्गतको शिक्षा विषयमा समेत अब्बल नतिजा प्राप्त गर्दै आएका छन् । सिटी कलेज विराटनगरका प्रचार्य उद्धव भट्टराई भन्छन्, ‘प्राविधिक र रोजगारमूलक विषयबाहेक मानविकीतर्फका कतिपय विषयमा पनि विद्यार्थीको उत्तिकै आकर्षण छ ।’ भट्टराईले स्नातक तहतर्फको शिक्षाको गुणस्तर विराटनगरमा निकै सुधारिएको बताए ।

विराटनगरको निहारिका कलेज पछिल्लो समय अब्बल शिक्षा प्रदान गर्ने कलेजहरूकै पंक्तिमा पर्छ । व्यवस्थापन संकाय र कम्प्युटर शिक्षातर्फको कक्षा सञ्चालन गरिरहेको कलेजले बीएस्सी सीएसआईटीका दस प्रतिशत विद्यार्थीलाई ‘जब प्लेसमेन्ट’ को ‘ग्यारेन्टी’सहित अध्यापन गराउँदै आएको छ । कलेजका प्राचार्य अमित ढकाल भन्छन्, ‘हामीले राज्यको नियम कानुनलाई आत्मसात गर्दै अब्बल उच्च शिक्षा दिने भौतिक पूवार्धार, जनशक्ति र विद्यार्थीसमेत प्राप्त गरेका छौं । विराटनगर अब उच्च शिक्षाको लागि हब नै बनेको छ भन्दा पनि हुन्छ ।’ ढकालले त्रिभुवन विश्व विद्यालयका कतिपय विषय पढ्न काठमाडौ नै जानुपर्ने बाध्यता भने अझै रहेको चर्चा गरे । खासगरी त्रिभुवन विश्व विद्यालयले स्नातकतर्फको बबीएको लागि काठमाडौंबाहिर सम्बन्धन नदिएकोले विद्यार्थीले अझै काठमाडौंकै मुख ताक्नुपर्ने अवस्था रहेको ढकालले बताए । ‘अब विराटनगरका कलेजको अवस्था बुझेर त्रिविले सम्बन्धन दिँदा हुन्छ’, ढकालले भने, ‘हामी पनि कक्षा सञ्चालन गर्न सक्षम छौं ।’

मोरङमा हिसानसँग आबद्ध दुई दर्जनभन्दा धेरै उच्च माविमा कक्षा ११ मा मात्र लगभग सात हजार हाराहारी विद्यार्थी बर्सेनि भर्ना हुन्छन् । प्लस टु गर्न काठमाडौं र भारतको सीमावर्ती सहर जाने चलनमा कमी भएको छ । प्लस टु सकेर स्नातक पनि यतै पढ्ने विद्यार्थीकै कारण यहाँका कलेजमा विद्यार्थीको चाप हुने गर्छ । पछिल्ला केही वर्षदेखि बीबीएको कक्षा सञ्चालन गर्दै आएको सरकारी महेन्द्र मोरङ कलेजमा पनि विद्यार्थीको निकै आकर्षण छ । खासगरी त्रिभुवन विश्व विद्यालयको बीबीए सुलभ मूल्यमा पढ्न चाहनेका लागि महेन्द्र मोरङले अवसरको ढोका खुला गरिदिएको हो । यो कलेज पहाडी र मधेशका भित्री जिल्लाका विद्यार्थीको पनि आकर्षणको केन्द्र हो ।

एभरेस्ट उच्च माध्यमिक विद्यालयले स्नातक तहकै लागि यसै वर्षदेखि करिब ५० करोड लगानीमा उच्च शिक्षाको परियोजनासहितको कार्यक्रम सार्वजनिक गरेको छ । एभरेस्टका प्राचार्य टीका पुरी भन्छन्, ‘भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएका छौं । स्नातक तहको कक्षाका लागि हामी ठूलै तयारीसाथ आएका छौं ।’ पुरीले विराटनगरमा अब विद्यार्थीले भनेजस्तै र खोजेजस्तै शिक्षा प्राप्त गर्न सक्ने बताए । एभरेस्टमा हरेक वर्ष विदेशबाट आउने स्वयंसेवक शिक्षकले उताको अनुभव आदानप्रदान गराउने गरेको छ । यो वर्ष अस्ट्रेलियाबाट स्वयंसेवक आएर विद्यालयमा पढाएका थिए । विद्यालयस्तरमा मात्र नभएर यो प्रक्रिया कलेजमा पनि गरिने पुरी बताउँछन् ।

त्रिभुवन विश्व विद्यालय र पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएका धेरै कलेजले प्लसटुसँगै स्नातक शिक्षालाई पनि आफ्नो प्राथमिकतामा राखेर भौतिक पूर्धाधारमा लगानी गरिरहेका छन् । एसएलसी उत्तीर्ण गरेर तराई र पहाडी जिल्लाबाटसमेत विद्यार्थीहरू विराटनगर आउने गर्छन् । प्लस टु साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटेल म्यानेजमेन्ट पूरा गरेर स्नातक तहको कक्षा पनि यतै लिने आधाभन्दा धेरै छन् । विराटनरले स्नातक तहको पढाइमा प्रदेश २ का विद्यार्थीलाई समेत तान्दै आएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.