बिएस्सीपछिका बाटाहरू

बिएस्सीपछिका बाटाहरू

डायना घले हाल बत्तीसपुतलीस्थित गोल्डेन गेट कलेजमा बीएस्सी वातावरण विज्ञान पढ्दै छिन् । हाल चौथो वर्षमा अध्ययनरत कपन निवासी घले अहिले आफ्नो विषयमा निकै रमाएकी छन् । डाक्टर बन्ने चाहनाले उनले पहिले त एमबीबीएसको प्रवेश परिक्षा दिएकी थिइन् । तर उक्त परीक्षामा असफल भएपछि उनले यो विषय रोजिन् । आफ्नो कलेजका भिजिटिङ फ्याकल्टी प्रा. दिनेश भुजुले दिएको परामर्शले उनको आफ्नो विषयलाई हेर्ने दृष्टि नै बदलियो ।

डाक्टर बन्ने लक्ष्य निकै कम विद्यार्थीको मात्रै आफ्नै हुन्छ । प्राय_लाई कि त परिवारको दबाब, छिमेकी वा आफन्तको देखासिकीले डाक्टर बन्ने चाहना पलाउँछ । त्यसैगरी एउटा डाक्टरले केही मानिसको उपचार गरेर उनीहरूको ज्यान बचाउँछ । तर एक वातावरणविद्ले आफ्नो सहर, राष्ट्र मात्रै नभई विश्वकै वातावरण जोगाएर विश्वभरका मानिसको ज्यान जोगाउन सहयोग पुर्‍याउँछ । आफ्ना गुरु भुजुले भनेका यिनै वाक्यले घलेलाई यो विषयतर्फ आकर्षित गर्‍यो । अध्ययनको क्रममा उनलाई राष्ट्रिय निकुञ्ज, सामुदायिक वनलगायत क्षेत्रमा फिल्ड भिजिट लगिएको थियो । साथै पानी, माटो, हावालगायत अध्ययनमा पनि रमाइलो हुने उनको अनुभव छ ।

काठमाडौंको हालको मुख्य समस्या भनेकै वातावरण प्रदूषण हो । वातावरणविद् बनेर सबैभन्दा पहिले आफ्नै सहरको वातावरण जोगाउने उनको लक्ष्य छ । हाल सरकारी तवरबाट पनि वातावरण संरक्षणमा धेरै काम भइरहेकाले सरकारी जागिर पनि पाउन सजिलो हुने उनको सोच छ । त्यसैगरी अहिले वातावरण प्रदूषण र जलवायु परिवर्तन विश्वव्यापी समस्या भएकाले जुनसुकै देशमा गएर उच्च शिक्षा अध्ययन गर्न र काम गर्न पनि सजिलो हुने उनको भनाइ छ ।

इलामका पंजक लुईंटेलको भने क्लाइमेटोलोजी पढेर मौसम विभागमा सरकारी जागिर खाने इच्छा छ । त्यसैले उनी हाल त्रिचन्द्र कलेजमा वातावरण विज्ञानमा स्नातक गर्दै छन् । पहिले जस्तो माइक्रो बायोलोजीमा विद्यार्थीको क्रेज त्यति नभएकाले धेरैले वातावरण विज्ञान नै पढिरहेका उनले बताए । हाल आफू अध्ययनरत विषयमा मात्रै पनि झन्डै दुई हजार विद्यार्थी रहेको उनले बताए । यो विषय पढ्दा देशभित्रै पनि गैरसरकारी संस्था र अन्तर्राष्टिय गैरसरकारी संस्थामा राम्रो काम पाइन्छ भन्ने उनको अनुमान छ । त्यसैगरी बाहिर जानकै लागि पनि यो विषय पढेकालाई भिजाको समस्या हुँदैन भन्ने उनले सुनेका छन् ।

डायना र पंकजजस्ता धेरै विद्यार्थीको रुचि हिजोआज वातावरण विज्ञानमा छ । यस विधामा मानव गतिविधिले वातावरणमा पर्ने असरको विस्तृत अध्ययन गरिन्छ । यसैअन्तर्गत इकोलोजी, डिजास्टर म्यानेजमेन्ट, वाइल्ड लाइफ म्यानेजमेन्ट, प्रदूषण नियन्त्रणलगायत विषय अध्ययन गर्न सकिन्छ । यी विभिन्न विषयमा गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मात्रै नभई यूएन एजेन्सीका प्रोजेक्टहरू पनि बढिरहेकाले विद्यार्थीले पढाइ सक्नासाथ राम्रो कामको अवसर पाउन सक्छन् ।

वाटर साइन्स पनि अहिलेको सन्दर्भमा काम लाग्ने विषय मानिन्छ । यो पानीसँग जोडिएको विज्ञान हो । यसमा हाइड्रोमेटियोरोलोजी, ड्रेनेज बेसिन म्यानेजमेन्ट, वाटर क्वालिटी म्यानेजमेन्ट, हाइड्रोइन्फरमेटिक्सलगायत विषयको अध्ययन गर्न सकिन्छ । बाढी, पहिरो, भूक्षयलगायत प्राकृतिक प्रकोप बढेसँगै यी विषयमा अनुसन्धान गर्ने कामको माग पनि बढेको छ ।

कतिपय विद्यार्थीको भने प्योर साइन्समा पनि रुचि रहेको देखिन्छ । दाङ तुलसीपुरस्थित ज्ञानदीप कलेजमा बीएस्सी बायोलोजी ग्रुपमा अध्ययनरत पुनम शर्माले तेस्रो वर्षमा पुगेपछि वनस्पतिशास्त्र पढ्ने बताइन् । रूख बिरुवाप्रति सानैदेखि आफूलाई रुचि रहेकाले यिनको अध्ययन गर्ने र अध्ययनपश्चात् प्राध्यापक बनेर अरू विद्यार्थीलाई पनि ज्ञान दिने उनको लक्ष्य छ ।

नेपालमा बायोटेक्नोलोजी विषयको पनि अथाह सम्भावना हुँदाहुँदै पनि विद्यार्थी र अभिभावकमा यसबारे चेतना नभएको सान इन्टरनेसनल कलेजकी संस्थापक एवं प्रिन्सिपल डा. सम्बा घिमिरेले बताइन् । ‘मेरो पालामा यो बायोटेक्नोलोजी विषय भएको भए म किन डाक्टर बन्थें र ? ’ एमडीएस सकाएकी डा. घिमिरेले गुनासो पोखिन् । खाने पानीको डिस्टीलरी खोल्यो भने त्यहाँ पानीको परीक्षण गर्न एक वैज्ञानिक चाहियो, कसैले ठूलो पोल्ट्री फर्म खोल्यो भने त्यहाँ प्रयोग गरिने औषधि परीक्षण गर्न पनि वैज्ञानिक नै चाहियो । यस्ता विविध विषयका लागि आवश्यक वैज्ञानिक उत्पादन गर्ने काम बायोटेक्नोलोजी विषयले गर्ने उनले बताइन् ।

फिजिकल वा बोयोलोजिकल दुवै समूहका विद्यार्थीले यो विषय लिएर स्नातक गर्न पाउँछन् । त्यसैगरी अन्य विषय पढे सम्बन्धित विषयमै स्नातकोत्तर गर्नुपर्ने हुन्छ । तर बायोटेक्नोलोजी पढेमा यसैमा स्नातकोत्तर पनि गर्न सकियो वा यसबाट एमडी गरेर मेडिकल डाक्टरतर्फ पनि जान सकिन्छ । त्यसैगरी आफूलाई रुचि भएका अन्य विषयमा पनि स्नातकोत्तर गर्न सकिने उनले बताइन् । त्यसैले यो एक विशाल विषय भएकाले स्वदेश वा विदेश जहाँ गए पनि उत्तिकै अवसर पाइने डा.घिमिरेको भनाइ छ ।

प्लस टुमा साइन्स विषय लिएर अध्ययन गरेका विद्यार्थीमध्ये धेरैले बीएस्सी नर्सिङलाई पनि आफ्नो अध्ययनको गन्तव्य बनाउने गरेका छन् । ठिमीस्थित चक्रवर्ती हबीबाट बीएस्सी नर्सिङ सकाएकी रुविना खड्का हाल अस्ट्रेलियामा नर्सिङमा स्नातकोत्तर अध्ययनरत छिन् । अध्ययन सकाएपछि आफूले त्यहीँको अस्पतालमा काम गर्ने वा नेपाल फर्केर आफ्नै देशमा सेवा गर्न अवसरहरू उनका सामू छन् । त्यसैले अध्ययन गर्दा आफूलाई रुचि भएका विषयमा मेहेनत गरेर पढ्नुपर्ने र विषय छान्दा पहिले नै ध्यान पुर्‍याए आफ्नो सपनाअनुसारको लक्ष्यमा पुग्न सकिने उनले बताइन् ।

त्यसैगरी कम्प्युटर र सूचना प्रविधिमा रुचि भएका विद्यार्थीले यसैसँग सम्बन्धि विषय लिएर आफ्नो उच्च शिक्षा अगाडि बढाउन सक्छन् भने बी फार्म, हेल्थ साइन्स, फुड टेक्नोलोजी, डेरी टेक्नोलोजी, अप्टोमेट्री, ल्याबोरेटोरी टेक्नोलोजी, बायोमेडिकल साइन्सलगायत विषयमा पनि अध्ययन गरेर विद्यार्थीले आफ्नो भविष्यलाई उज्वल बनाउन सक्छन् । डेयरी टेक्नोलोजी अर्थात् डेयरी साइन्सअन्तर्गत पनि मिल्क प्रोडक्सन, प्रोसेसिङ, प्याकेजिङ, स्टोरेज र डिस्ट्रिब्युसनलगायत विषयको जानकारी पाइन्छ । हाम्रो देशमा दूध उत्पादन र खपत बढेसँगै यस क्षेत्रमा दक्ष जनशक्तिको माग पनि बढेको पाइन्छ ।

पहिले साइन्स पढेका विद्यार्थीमध्ये धेरैको लक्ष्य डाक्टर र इन्जिनियर बन्ने हुन्थ्यो । कतिपय अभिभावकले पनि आफ्ना छोराछोरीलाई डाक्टर वा इन्जिनियर नै बनेको हेर्न चाहन्थे । तर अहिले विज्ञानमा दस जोड दुई गरेका विद्यार्थी पनि डाक्टर इन्जिनियर मात्रै नभई अलि फरक किसिमका विषय अध्ययन गर्न चाहन्छन् । यदि विद्यार्थीलाई अनुसन्धान र विकासमा रुचि छ भने विज्ञानको विभिन्न विधाको अध्ययनले पनि उनीहरूले आफ्नो भविष्यलाई उज्वल बनाउन सक्छन् ।

विद्यार्थीका लागि स्पेस साइन्स एक रोचक विषय हुन सक्छ । यसअन्तर्गत कस्मोलोजी, स्टेलर साइन्स, प्लेनेटरी साइन्स, एस्ट्रोनोमीलगायत क्षेत्र पर्छन् । यी विभिन्न विधामा बीएस्सी र बीटेक गर्दा पनि विद्यार्थीले आफ्नो करिअरलाई राम्रो बनाउन सक्छन् । विद्यार्थीलाई तारा र तारामण्डलमा रुचि रहेको छ भने कक्षा १२ पछि एस्ट्रो फिजिक्सलाई लिएर पनि अध्ययन गरी विद्यार्थीले यस क्षेत्रमा आफ्नो करिअर बनाउन सक्छन् । यसका लागि पाँच वर्षको अनुसन्धानमा आधारित (एमएस इन फिजिकल साइन्स) को कोर्स गर्न सकिन्छ । होइन भने छोटो अवधिको बीएस्सी कोर्स गर्दा पनि फाइदा हुन्छ । एस्ट्रो फिजिक्समा विद्यावारिधि गर्ने विद्यार्थीले नासालगायत ठूला अनुसन्धान केन्द्रमा काम गर्ने वैज्ञानिकको रूपमा आफ्नो करिअरलाई अगाडि बढाउन सक्नेछन् ।

माइक्रो बायोलोजीमा बीएस्सीदेखि पीएचडीसम्मको कोर्स गर्न सकिन्छ । यसमा पनि प्यारामेडिकल, मरिन बायोलोजी, बिहेबियरल साइन्स, फिसरिज साइन्सलगायत क्षेत्रमा रुचि राख्ने विद्यार्थीको करिअर निकै राम्रो बन्न सक्छ ।

बीएस्सीमा लोकप्रिय विषयहरू

_ विश्वव्यापी रूपमा बढ्दो वातावरण प्रदूषण र जलवायु परिवर्तनका कारण वातावरण विज्ञानमा विद्यार्थीको रुचि बढ्दो ।

_ नेपालमा फस्टाउँदो खाद्य, पानीलगायत उद्योगमा आवश्यक वैज्ञानिक जनशक्तिको परिपूर्तिका लागि बायोटेक्नोलोजी विषय निकै लोकप्रिय ।

_ मेडिकल साइन्ससँगै मिल्दोजुल्दो रहेकाले ल्याबोरोटोरी टेक्नोलोजी, अप्टोमेट्री, हेल्थ साइन्स, बायोमेडिकल साइन्सजस्ता प्राविधिक विषयमा पनि विद्यार्थी आकर्षित ।

_ देशमा दूध उत्पादन र खपत बढेसँगै डेरी टेक्नोलोजी, फुड टेक्नोलोजीलगायत विषय पढ्ने विद्यार्थी पनि बढ्दो ।

_ सूचना प्रविधि र यसको व्यवस्थापनतर्फ आफ्नो करिअर बढाउन चाहने विद्यार्थीले सूचना प्रविधि र कम्प्युटर एप्लिसकेसनसम्बन्धी विभिन्न विषय रोज्न सक्ने ।

 

नेपालका मुख्य विश्वविद्यालयमा रहेका बीएस्सी कार्यक्रमहरू

पूर्वाञ्चल विश्वविद्यालय

ब्याच्लर अफ कम्प्युटर एप्लिकेसन(बीसीए)

ब्याच्लर अफ कक्प्युटर एप्लिकेसन(अनर्स)

ब्याच्लर अफ डेरी टेक्नोलोजी

ब्याच्लर अफ फुड टेक्नोलोजी

ब्याच्लर अफ इन्फरमेसन टेक्नोलोजी –बीआईटी)

ब्याच्लर अफ साइन्स (अनर्स) इन एग्रिकल्चर

ब्याच्लर अफ साइन्स इन बायोटेक्नोलोजी

ब्याच्लर अफ टेक्नोलोजी इन बायोटेक्नोलोजी

ब्याच्लर अफ भेटेनरी साइन्स एन्ड एनिमल हसबेन्ड्री

पोखरा विश्वविद्यालय

बीएस्सी बायोकेमेस्ट्री

बीएस्सी इन्भारोमेन्टल म्यानेजमेन्ट

बीएस्सी मेडिकल बायोकेमेस्ट्री

बीएस्सी मेडिकल ल्याबोरेटोरी टेक्नोलोजी

बीएस्सी मेडिकल माइक्रोबोयोलोजी

बीएस्सी नर्सिङ (एनुअल)

बीएस्सी नर्सिङ (सेमेस्टर)

ब्याच्लर अफ कम्प्युटर एप्लिकेसन

ब्याच्लर अफ कम्प्युटर इन्फरमेसन सिस्टम

ब्याच्लर अफ हेल्थ केयर म्यानेजमेन्ट

ब्याच्लर अफ फार्मासिउटिकल साइन्स (बीफार्म)

ब्याच्लर अफ पब्लिक हेल्थ

त्रिभुवन विश्वविद्यालय

बीएस्सी एग्रिकल्चर

बीएस्सी केमेस्ट्री

बीएस्सी सीएसआईटी

बीएस्सी इन्भाइरोमेन्टल साइन्स

बीएस्सी जियोलोजी

बीएस्सी हर्टिकल्चर एनड फ्लोरिकल्चर म्यानेजमेन्ट

बीएस्सी मेडिकल इमेजिङ टेक्नोलोजी

बीएस्सी मेडिकल इमेजिङ टेक्नोलोजी अर रेडियोग्राफिक टेक्नोलोजी

बीएस्सी मेडिकल ल्याबोरोटोरी टेक्नोलोजी

बीएस्सी माइक्रोबायोलोजी

बीएस्सी नर्सिङ

बीएस्सी न्युट्रिसन एन्ड डाइटेटिक्स

बीएस्सी फिजिक्स

बीएस्सी टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट

बी टेक फुड टेक्नोलोजी

ब्याच्लर इन म्याथम्याटिकल साइन्स

ब्याच्लर इन नर्सिङ साइन्स

ब्याच्लर अफ अडियोलोजी स्पिच ल्याङवेज प्याथोलोजी –बीएएसएलपी)

ब्याच्लर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी

ब्याच्लर अफ अप्टोमेट्री

ब्याच्लर अफ फार्मेसी

ब्याच्लर अफ पब्लिक हेल्थ

ब्याच्लर अफ भेटेनरी साइन्स एन्ड एनिमल हस्बेन्ड्री

ब्याच्लर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी


काठमाडौं विश्वविद्यालय

ब्याच्लर अफ टेक्नोलोजी इन इन्भारोमेन्टल इन्जिनियरिङ

ब्याच्लर अफ टेक्नोलोजी इन बायोटेक्नोलोजी

ब्याच्लर अफ फार्मेसी

बीएस्सी इन कम्प्युटेसनल म्याथम्याटिक्स

बीएस्सी इन इन्भाइरोमेन्टल साइन्स

ब्याच्लर अफ टेक्नोलोजी इन इन्भारोमेन्टल इन्जिनियरिङ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.