गुम्यो बारपाकको पहिचान

गुम्यो बारपाकको पहिचान

बारपाक : पुनर्निर्माणका क्रममा घर बनाउन सरकारले नयाँ नक्सालाई बाध्यात्मक रुपमा लागू गरेपछि बारपाकको पुरानो पहिचान गुमेको छ। सरकारले उपलब्ध गराएको नक्सामा पुरानो मोडेलको घरको नक्सा नभएकाले स्थानीयबासी नयाँ मोडेलका घर बनाउन बाध्य हुँदा मौलिकता नासिएको हो। सरकारी नक्साका कारण पुरानै बारपाकलाई कलात्मक ढाँचामा विकसित गर्ने रहर पूरा नभएको स्थानीयबासीको भनाइ छ।

भूकम्पले ध्वस्त भएपछि पुनर्निर्माणका क्रममा एउटा समूह बारपाकको मौलिकता जोगाउने प्रयासमा लागेका थिए तर सम्भव हुन सकेन। ‘अलिअलि पैसा हुनेले सरकारको नक्सा र सरकारी अनुदान नपर्खी आरसीसी घर ठड्याइहाले। नहुनेले सरकारको पैसा र मोडेल पनि पर्खिए’, स्थानीय जीतबहादुर घले भन्छन्, ‘नक्सा बनाउने ठाउँमा बारपाकका मान्छे थिएनन्। तल्लो भेगका इञ्जिनियरको नक्साले गर्दा पुरानो बारपाकको रुपरङ नामेट भो।’

तीन लाख रुपैयाँ अनुदानको लोभले बारपाकबासी पहिचान गुमाउन बाध्य भएको भन्दै घलेले चिन्ता व्यक्त गरे। ‘इञ्जिनियरले पास नगर्ने घर कसले बनाउने त ? ’, घलले भने, ‘गाउँको मौलिकताअनुसार नक्शा फेल भयो। नक्साअनुसार गाउँको मौलिकता फेल भयो।’

भूकम्प अघिको बारपाक।

आरसीसी घरवालाले अनुदान लिन जथाभावी टहरो बनाएकाले पनि गाउँको स्वरुप बिगारेको उनको आरोप छ। ‘सरकारी पैसा लिनमात्र भत्किएको घरको ढुंगा र काठ प्रयोग गरेर ठूलो घरको आडमा खोरजत्रो घर बनाएका छन्’, घले भन्छन्, ‘कसैले चाहीँ पुरानै काठपात प्रयोग गरेर कताकता बारीतिर त्यस्तै सानो टहरो उभ्याएका छन्। एकदुई वर्षमा ती सबै टहरो कुखुरा, बाख्राका लागि हुन्छन्। यस्ता टहराले बारपाकको स्वरुप बिगारेको छ।’

देश विदेशमा बस्ने बारपाकबासीले पुरानै बारपाक ब्यूँताउने प्रयास गरेका थिए। तर सरकारी ढिलासुस्तीले गर्दा उनीहरुको प्रयास असफल भयो। ‘एकीकृत बारपाक पुनर्निर्माण गुरुयोजनाका लागि सहरी विकास मन्त्रालयमा कैयौंचोटी धायौं’, अभियन्तामध्येका एक वीरबहादुर घले भन्छन्, ‘तर छ महिना, एक वर्षसम्म पनि सरकारले फाइल अघि बढाएन। अनि गाउँलेले आ–आफ्नै खालको घर बनाउन थाले।’

बारपाकको सयौं वर्षको मौलिकता गुमाउनुमा सरकारको ढिलासुस्ती मुख्य कारण रहेको उनको भनाइ छ। पुरानो मोडेलको घर भूकम्प प्रतिरोधी नभएको गाउँले बताउँछन्। पुरानै मोडेललाई भूकम्प प्रतिरोधी बनाउन चाहेको भए सरकारले सक्थ्यो। तर गाउँको मौलिकता जोगाउनलाई प्राथमिकता नदिएको घलेको आरोप छ।

देश विदेशमा रहेका बारपाकबासीले भूकम्पपछि पुरानै बारपाक ब्यूँताउने प्रयास गरेका थिए। तर सरकारी ढिलासुस्तीले उनीहरुको प्रयास सफल हुन सकेन।

बारपाकका परम्परागत घरका छानामा किलाकाँटी नठोकी ढुंगाले छाउने चलन थियो। यस्तो घर भूकम्प जाँदा सजिलै भत्किएको र धेरैको ज्यान गएको बारपाकबासीको निश्कर्ष छ। ‘छानाको ढुंगामा किलाकाँटी ठोकेर अड्याउने चलन थिएन। एउटा माथि अर्को खापेर अड्याउने गर्थे’, स्थानीय पुरबहादुर घले भन्छन्, ‘गारो लगाउँदा ढुंगामाटो नहाली सुख्खा पर्खाल मात्र लगाएको हुन्थ्यो। यसरी बनेको घर भूकम्पले अलिअलि हल्लाउने बित्तिकै भत्किँदो रहेछ।’ पुरानो ढाँचाको घर अति जोखिम भएकाले धनी, गरिब सबैले नयाँ मोडेलको घर बनाएको उनको भनाइ छ।

गाउँभन्दा ज्यानको मायाले मौलिकता गुमाउन बाध्य भएको उनीहरुको भनाइ छ। ‘बारपाकमा भूकम्पले जति मान्छे मरे, घरले चेपेर मरेको थाहा भो’, घले भन्छन्, ‘गाउँको भन्दा ज्यानको माया धेरै हुँदोरहेछ। त्यसैले गाउँ कसरी राम्रो बनाउनेभन्दा कसरी बलियो बनाउने चिन्ताले धेरैले नयाँ मोडेलको घर बनाएका हुन्।’

बाहिरबाट हेर्दा अहिले बारपाक सेतो, नीलो, हरियो, रातो जस्ताको छानाले रंगीचंगी देखिन्छ। ‘हिजो ढुं्गाले छाएको कालो बारपाक अहिले रंगीचंगी भएको छ’, वीरबहादुर घले भन्छन्, ‘घर पक्की त बने। झट्ट हेर्दा गाउँ झिलिमिली, रमाइलो पनि देखियो तर गाउँको मौलिकता हरायो। छोरानाति पुस्ताले बारपाकको स्वरुप तस्वीरमा मात्र देख्ने भए।’

भूकम्पपछि पुनर्निर्माण भएको बारपाक।

सयौं वर्षको मौलिकता गुमे पनि नयाँ बारपाक भूकम्पप्रतिरोधी भएकोमा स्थानीयबासी खुसी छन्। ‘नयाँ बारपाकका केही सवल पक्ष छन्’, घले भन्छन्, ‘सबभन्दा सवल पक्ष पुरानो बारपाक भन्दा नयाँ बारपाक भूकम्पप्रतिरोधी बनेको छ। दोस्रो अहिले बनेका हरेक घरमा शांैचालय छन्।’

बेलायत, हङकङ, काठमाडौं बस्ने बारपाकीले धेरै लगानी गरेर गाउँमा ठूला आरसीसी महल बनाएका छन्। होलिडे होमका रुपमा बनाएर छाडेकाले ठूला घर बनाउन गरेजति लगानी अन्य व्यवसायमा गरेको भए धेरैले रोजगार पाउने उनको तर्क छ। अनुत्पादक काममा लगानी भएकोमा उनले चिन्ता व्यक्त गरे।

मौलिकता झल्किने व्यवस्थित एकीकृत बस्तीका लागि त्यतिबेलाको जिल्ला दैवी प्रकोप उद्धार समितिले निर्णय गराएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाएको थियो। ‘जिल्लाबाट निर्णय गराएर पठाएको पनि हो’, तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्यामकिशोर सिंह भन्छन्, ‘माथिबाट प्राधिकरणको योजना महाशाखाका सहसचिव राजुमान मानन्धर, कन्सल्ट्यान्ट राजेन्द्र बुढाथोकी, जिल्लाबाट म पनि गएका थियौं। तर नगर विकास समिति नभएको ठाउँमा अर्को कार्यविधि बनाएर काम गर्नुपर्ने भयो। कार्यविधिकै अभावले माथिबाट फाइल अघि बढ्न सकेन।’

बारपाकको वडा नं. १ मा ३सय ७८ र वडा नं २ मा ९ सय २२ घरधुरी छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिरणको तथ्यांक अनुसार १३ सय एक घरधुरीमध्ये बारपाकमा अहिलेसम्म १२ सय नयाँघर निर्माण भएका छन्। तीमध्ये आधा दर्जन घरमात्र मापदण्ड विपरीत बनेको त्यहाँ खटिएका पुनर्निर्माण प्राधिकरणका इञ्जिनियर डीकेन्द्र खाइत्यूले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.