तोलीगाउँमा कर्णालीको कटान

तोलीगाउँमा कर्णालीको कटान

टीकापुर : चारैतिरबाट कर्णाली नदीले घेरिएको टीकापुर नगरपालिका-८ को श्रीलंका भनिने तोलीगाउँमा नदीकटान तीव्र भएको छ। कर्णाली नदीमा पानीको सतह घटे पनि कटान तीव्र भएको स्थानीयले बताएका छन्।

कर्णाली नदीको कटानबाट किसानले लगाएको धान, उखु, तिल तथा मासबाली कटान भएको हो। कर्णाली माध्यमिक विद्यालयका शिक्षक भीम महरले कर्णाली नदीले तीन दिनमा नौ बिघाभन्दा बढी खेतीयोग्य जमिन कटान गरेको बताए।

‘तीन दिन भयो कटान तीव्र भएको’, शिक्षक महरले भने, ‘तीन दिनमा झन्डै ८/९ बिघाभन्दा बढी खेती लगाएको जमिन नदीले कटान गरेको छ।’ वर्षायाममा सामान्य कटान हुने गरे पनि तीन दिनयता तीव्र रूपमा कटान भइरहेको उनले बताए।

महरका अनुसार दीपेन्द्र भण्डारी, गोपाल साउद, तुलीराम चौधरी, धर्म चौधरी, खड्गप्रसाद भण्डारीलगायत किसानको नौ बिघा खेती लगाएको जमिन नदीमा विलय भएको छ।

नदीले लगातार कटान गरिरहेको छ। नदी कटानबाट उर्वर भूमि बालुवामा परिणत हुँदै गएको स्थानीय रामलाल चौधरीले बताए। ‘निकै उब्जनी हुने ठाउँ हो, सबै सखाप हुने अवस्था छ’, चौधरीले भने, ‘कटान धेरै तीव्र छ, बिहान हिँडेको बाटो साँझ हुँदैन, साँझ हिँडेको बाटो बिहान हुँदैन।’

कैलाली र बर्दियाको सिमाना पर्ने श्रीलंका पहिलेदेखि नै बाढी प्रभावित क्षेत्र हो। यस वर्ष बाढी नआए पनि नदीले कटान तीव्र पारेको स्थानीयले बताएका छन्। बर्दियाको राजापुरलाई कर्णाली नदीको पुलबाट दक्षिणतर्फ यसै वर्षदेखि तटबन्धको काम भइरहेको छ। तटबन्ध सकिएको ठाउँबाटै कटान सुरु भएको हो।

कर्णाली नदीले श्रीलंकामा कटान तीव्र पारेको टीकापुर नगरपालिका-८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए। केही दिनदेखि नदीले कटान थालेको जानकारी दिँदै वडाध्यक्ष ठकुल्लाले भने, ‘वर्षायाममा श्रीलंका जाने बाटोसमेत नहुँदा कटान नियन्त्रणका लागि केही गर्न नसकिएको हो।’

‘बर्दियातिरबाट भएको तटबन्धभन्दा तलबाट कटान सुरु भएको छ’, अध्यक्ष ठकुल्लाले भने, ‘कटानले हजारौं बिघा उर्वर भूमि सखाप हुने अवस्था देखिएको छ।’

नदी कटानका कारण किसानले लगाएको बालीसमेत नष्ट भइरहेको अध्यक्ष ठकुल्लाले बताए। ठकुल्लाका अनुसार कटान झन्डै ५ सय मिटर लामो रहेकाले समेत नियन्त्रण गर्न गाह्रो भएको छ।

नदी नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गर्नेबारे छलफल गरिरहेको अध्यक्ष ठकुल्लाले बताए। नदीको कटान नियन्त्रण नभए श्रीलंकाको बस्ती नै जोमिखमा पर्ने देखिएको छ। श्रीलंकामा करिब ३ सय स्थानीय बसोबास गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.