निर्मला हत्याकाण्ड : बल्ल बोल्यो प्रदेश सरकार
धनगढी : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यापछि सिर्जना भएको परिस्थितिबारे शनिबार प्रदेश नम्बर ७ को आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले शुक्रबार भएको गोलीकाण्ड दुःखद भएको भन्दै ज्यान गुमाउने सन्नी खुनाका परिवारलाई उचित क्षतिपूर्ति दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्रीले जारी सार्वजनिक गरेको विज्ञप्तिमा निर्मला हत्याकाण्डका लागि सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा तीनजना उच्च सुरक्षा अधिकारी सम्मिलित छानबिन समिति गठन भइसकेकाल समितिलाई कामगर्ने वातावरण बनाउन आन्दोलनकारीलाई आग्रह गरिएको छ।
‘प्रदेश सरकारको पहलमा संघीय सरकारले पाँच सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरेर कञ्चनपुर पुगिसकेको छ। समितिले शुक्रबारबाटै आफ्नो काम सुरु गरिसकेको छ, त्यसैले निर्मला हत्याकाण्डको निष्पक्ष छानबिन हुनेमा आम सर्वसाधारणलाई ढुक्क हुन आह्वान गर्दछौं’, प्रदेश सरकारले विक्षप्तिमा भनिएको छ।
मन्त्रिपरिषदको बैठकले आन्दोलनका क्रममा घाइते भएका सबैको उपचार प्रदेश सरकारले गर्ने निर्णय पनि गरेको छ। ‘मृतकको परिवारलाई क्षतिपूर्ति दिने र घाइते सबैको प्रदेश सरकारले उपचार गर्ने निर्णय भएको छ’ विज्ञप्तीमा उल्लेख छ।
प्रदेश सरकारले, यसअघिका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख हटाएर नयाँ सुरक्षा अधिकारी खटाइसकेकाले अबको छानबिन निष्पक्ष हुने र दोषिपत्ता लाग्ने विश्वास गरेको जनाएको छ।