बजार अनुगमनमा अवरोध गर्ने व्यापारी पक्राउ
काठमाडौं : बल्खुस्थित तरकारी बजार अनुगमनमा गएको सरकारी टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारबाट एक व्यापारीलाई पक्राउ गरेको छ। अनुगमनमा अवरोध गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले व्यापारी रवी शाहलाई पक्राउ गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिनिधि, सुरक्षाकर्मी, उपभोक्ताकर्मी सहभागी रहेको विभागतको टोलीले सोमबार बिहान ४ बजे बल्खु तरकारी बजारमा अनुगमन गरेको थियो। आपूर्ति मन्त्री मातृकाप्रसाद यादवका जनसम्पर्क अधिकृत यज्ञराज खरेलका अनुसार अनुगमनका क्रममा व्यापारीले व्यावसायिक रूपमा व्यवसाय दर्ता नगरेको, प्यान नम्बर नलिएको र तरकारी आपूर्तिको बिल बिजकसमेत नरहेको पाइएको थियो।
खरेलका अनुसार अनुगमनका क्रममा पक्राउ परेका शाहको नेतृत्वमा व्यापारीले अनुगमनको बिरोध गर्दै हुलहुज्जतका साथै प्रदर्शन गर्ने प्रयास गरेका थिए। उनले भने, ‘शाहलाई पक्राउ गरेपछि व्यापारीले केहीबेर नाराबाजीसमेत गरे।’ अनुगमन टोलीले बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा स्पष्टीकरणका लागि उपस्थित हुन निर्देशन दिएको छ।
शाहले यसअघि २०७३ असारमा सोही बजारमा तत्कालीन आपूर्ति मन्त्री गणेशमान पुनसहितको अनुगमन टोलीमाथि बन्दालगायत तरकारीले प्रहार गरेका थिए। तत्कालीन समयमा अनुगमन टोलीले ढक र तराजुको विषय उठाएपछि व्यापारीले मन्त्री पुनको टोलीमाथि तरकारीले प्रहार गरेका थिए।