अलराउन्डर हमाल

अलराउन्डर हमाल

रामायणकी सीताले उनको हृदय हरण गरिन्। आठ/नौ वर्षको उमेरमा गाउँमा नाटक हेर्दाको अनुभव सुनाउँछन्, रंगकर्मी वीरेन्द्र हमाल। त्यतिखेर नेपालगन्जमा धार्मिक रामायण र महाभारतबाट झिकिएका कथाहरू नाटकका रूपमा मञ्चन गर्थे। एक रात उनी आफ्ना साथीहरूसँग मिलेर रामायण हेर्न गएका थिए। रावणले हरेर लंका लगेकी सीता रूखको फेदमा बसेर रोएको देखेर उनीलाई निक्कै दुःख लागेछ। आफ्नो भूमिका सकिएपछि सीता मञ्च पछाडि गइन्। हमाल र साथीहरू पनि ती दुःखी सीतालाई खोज्दै पछाडिपट्टि गएछन्। पछाडि जाँदा त सीता त फुसफुस धुवाँ उडाएर मस्तले बिँडी पो तानिरहेको छ। खासमा ऊ त लोग्ने मान्छे पो रहेछ।

०००

वीरेन्द्र हमाललाई कति दर्शकले राजेश हमालको भाइ भन्ठान्छन्। एक त थर मिलेको त्यसमाथि दुवै जना अभिनेता, वीरेन्द्र हमालको कपाल पनि एकताका राजेश हमालको झैं लामो थियो। ती तीनवटै मिल्ती दाजुभाइ हुनु र नहुनुमा कुनै सम्बन्ध थिएन। तर पनि दर्शकलाई त्यस्तो लाग्दो रहेछ।

वीरेन्द्र हमाल एक समय भिडियो फिल्म र टेलिफिल्मको स्टार मानिन्थे। उनले अभिमान, गीताञ्जली, युगजस्ता निक्कै भिडियो फिल्ममा अभिनय गरे। ४० र ५० को दशकमा टेलिफिल्ममार्फत पनि उनी चर्चित भए। उनले धुन, मन, के सक्कली के नक्कली, यमपुरीमा जिउँदो मान्छे, मृगतृष्ण, यस्तै कथा, इ कैसन जित, अधिकारजस्ता दर्जनौं टेलिफिल्महरूमा अभिनय गरेका छन्।

टीभी र फिल्ममा देखिइरहेको अनुहारलाई मैले पहिलो पटक २०५६ सालमा राष्ट्रिय नाचघर जमलमा भेटेको हँ। यिनलाई भेट्दा म खुसीले पुलकित भएको थिएँ। एकवर्षे अभिनय प्रशिक्षणका लागि गएको मलाई उनको शिष्य बन्ने अवसर मिल्यो। विद्यार्थी र अनुजहरूसँग पनि मित्रभाव राख्ने उनको स्वभावले मलाई उनको झन् नजिक पुर्‍यायो। मैले त्यतिखेरसम्म नाटकमा उनको अभिनय देखेको थिइन। खासमा रंगमञ्चमा उनको बोलवाला हँदा म काठमाडौं आइपुगेकै थिइनँ।

शिल्पी थिएटरमा रंगकर्मी हमालले बनाएको एउटा अमूर्त पेन्टिङ सजिएको छ। बुद्ध अनुहारलाई विनिर्माण गरिएको यस पेन्टिङको एउटा छेउमा मयूरको प्वाँख टाँसिएको छ। कति दर्शकले सोध्छन्, यो चित्रको अर्थ के हो भनेर। तर त्यो चित्रलाई अथ्र्याउने ज्ञान मसँग कहाँ ? उनको घरमा आफैंले बनाएका यस्ता धेरै चित्रहरू सजाइएका छन्। उनी स्केच पनि राम्रो गर्छन्। त्यसैले आफ्ना प्रायः नाटकका पोस्टरहरूको डिजाइन उनी आफैं गर्छन्। मञ्च परिकल्पनामा त उनी अब्बल नै मानिन्छन्। उनले नेपाल ललितकला क्याम्पसमा दुई वर्ष (आईएफए) औपचारिक अध्ययन पनि गरेका छन्।

हमाल गायनमा पनि दक्षता राख्छन्। उनले आफ्नै फिल्म गोधूलि र सारंकका केही गीत गाएका छन्। उनले अरू फिल्महरूमा पनि अभिनय गरेका छन्। तिमी मेरी हौ, अग्निपथ, ए मेरो हजुर, सुखदुःख, मजदुरजस्ता फिल्म त्यतिखेरका दर्शकले रुचाएका हुन्। तर, आफैं फिल्म बनाउने धङधङी चाहिँ उनीबाट हटेन। पछिल्लो पटक उनले अर्को फिल्म बनाए सारंक। तर यो फिल्म अझै बजारमा आउन सकेको छैन।

उनी अत्यन्तै कुशल नृत्यकार पनि हुन्। मजदुर फिल्मको गीत गजबै भो ए साथी, गजबै भो साथीमा र अन्य केही फिल्महरूमा उनको नृत्य देख्न सकिन्छ। हमाल कलाका धेरै विधामा दक्षता राख्छन्। तर, उनको जरा रंगमञ्च हो। रंगमञ्चमा उनले ३५ वर्ष लामो र संघर्षशील यात्रा गरिसकेका छन्। हाल उनी राष्ट्रिय नाचघरमा नाटक निर्देशकको रूपमा जागिरे छन्। नाचघरबाट प्रशस्त उल्लेख्य काम गरेका छन्। तर, तुलनात्मक रूपमा हेर्ने हो भने एक समय उनले नाचघरबाहिर गरेका कामहरू उल्लेख्य रहे। आरोहण नाट्य समूह र सुनील पोखरेलसँगको सहकार्य, त्यसैगरी उनले स्थापना गरेको एम आर्ट थिएटरबाट उनले गरेका कामहरू निक्कै उल्लेख्य छन्।

उनी आफ्ना प्रस्तुतिहरूमा शारीरिक चाललाई अत्यधिक प्रयोग गर्छन्। नृत्य, मुद्रा, कोरस र गतिको संयोजन गर्छन्। उनको नाटकको गतिलाई नाप्ने हो भने बोतलबाट मह खसेजस्तै लयात्मक हुन्छ, उनको नाटकको शरीरको भाषा र चाल।

घरबारी टोल

वीरेन्द्र हमालको जन्म २०२१ सालमा नेपालगन्जको घरबारी टोलमा भएको हो। त्यस ठाउँका जमिनदार उनका बाजेबुवाको ठकुरी रवाफ थियो। उनका बुवा स्व. महेन्द्र हमाल राम्रा गीतकार हुन्। महेन्द्र हमाल गीतको कोरियोग्राफीदेखि नाटक निर्देशनसम्म गर्थे। २०३० सालमा बुवाले निर्देशन गरेको नाटक खोला कहिल्यै सुक्दैन हेरेको वीरेन्द्र हमालको स्मृतिमा ताजै छ। भन्छन्, नाटकमा सुष्मा शाही, टीकाराम शाही, गोवद्र्धन सम्झना आदिले अभिनय गरेका थिए। नाटकमा गीत, नृत्य, फाइट सबै थियो। त्यस बखत यस्तै किसिमका नाटक मञ्चन हुन्थे। त्यतिखेर गाउँघरका नाटकमा नौटंकीको प्रभाव धेरै थियो। हमालले गाउँमै हुँदा नौटंकीमा भीमको भूमिका गरेका थिए। त्यसो त पहिलो पटक हमालले बुवाकै निर्देशनको नाटक सारंगीमा बाल कलाकारको रूपमा अभिनय गर्न पाएका थिए।

१० वर्षको उमेरमा हमाललाई टाइफाइड भयो। नेपालमा राम्रोसँग उपचार हुन नसक्दा उपचारका लागि दिल्ली लगियो। तिघ्राको मासुमा लगाउनुपर्ने इन्जेक्सन नसामा पर्‍यो र उनको एउटा खुट्टा बिग्रियो। उनको देब्रे खुट्टा पातलो र छोटो हुनुको कारण यही हो। उनको एउटा खुट्टा लुलो थियो, टेक्न नमिल्ने। उनले थेरापी र नियमित व्यायममा निक्कै मेहनत गरेर शरीरमा निक्कै सुधार ल्याए। लामो समय उपचार गर्नु र्ने भएको हुनाले उनी दिल्ली नै बसे। साउथ एभिन्युज रोडमा उनी ठूलोबुवासँग बस्थे र नेहरु स्कुलमा पढ्थे। नेहरु स्कुलबाट उनले १० कक्षासम्मको पढाइ पूरा गरे। स्कुलमै हुँदा उनले नाटक हेर्न र खेल्न पाए। खुट्टाकै कारणले उनको पढाइमा धेरै अवरोध आयो।

हमाल कलाका धेरै विधामा दक्षता राख्छन्। तर, उनको जरा रंगमञ्च हो। रंगमञ्चमा उनले ३५ वर्ष लामो र संघर्षशील यात्रा गरिसकेका छन्।

दिल्लीबाट फर्किएर नेपालगन्जको मंगलप्रसाद माध्यमिक विद्यालयमा ७ कक्षामा भर्ना भए उनी। आजका चर्चित लेखक नयनराज पाण्डेसँग त्यही भेट भयो, उनको। एउटै कक्षा, एउटै बेन्चमा बस्ने उनीहरूको दोस्ती खुब जम्यो। पाण्डेले लेखेको नाटक दुवैले मिलेर मञ्चन गरे। पाण्डेका बुवा डिल्लीराज त्यसै स्कुलमा प्रधानाध्यापक थिए। दुई वर्ष नेपालगन्जमा पढेर हमाल फेरि दिल्ली फर्किए।

काठमाडौं यात्रा

दिल्लीबाट २०३९ सालमा उच्च शिक्षाका लागि हमाल काठमाडौं आएर ललितकला क्याम्पसमा भर्ना भए। उनी भित्र अभिनयको तृष्णा जागिसकेको थियो। त्यसैले उनले ललितकलाकै साथीहरूलाई बटुलेर मान्छे मान्छेको बस्तीमा मान्छे भन्ने नाटक मञ्चन गरे। अभिनयकै तृष्णाले २०४० सालमा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठान पुगे। त्यहाँ उनले हरिहर शर्मालाई भेटे। शर्माकै नेतृत्वमा सञ्चालित एकवर्षे अभिनय प्रशिक्षणमा हमालले भाग लिने अवसर पाए। यही प्रशिक्षणले उनको सपनाले मूर्तरूप दियो। वीना बुढाथोकी, कृष्ण कार्की, सोमनाथ शर्मा, सुनिता पाण्डे, दिलीप आदि उनको सहपाठी थिए। उनले सधैंभरि हरिहर शर्मालाई गुरुको उच्च आसनमा राखे।

२०४१ सालमा उनले अर्को अवसर पाए। प्रज्ञा प्रतिष्ठानले हेमन्त श्रेष्ठको लेखन, निर्देशनमा अतृप्त आत्मा नाटक मञ्चन भयो। यसमा मञ्च सज्जा प्रचण्ड मल्लको थियो भने कलाकारमा मदनदास श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, प्रकाश सायमी आदि थिए। कारणवश प्रकाश सायमीले नाटक छोडेपछि उक्त भूमिका पाए, वीरेन्द्र हमालले। सोही वर्ष नाचघरमा नाटक कलाकारको काम पाए।

त्यसबेला प्रत्येक वर्ष प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय नाटक महोत्सव गथ्र्यो। रंगकर्मीहरूको लागि उक्त महोत्सवमा भाग लिन पाउनु निक्कै महŒवपूर्ण अवसर थियो। वीरेन्द्र हमालले मार्ग, अधिकार र यस्तै यस्तै कथाहरू गरी तीनवटा नाटकबाट २०४५, २०४६ र २०४७ को नाटक महोत्सवमा उत्कृष्ट अभिनेताको पुरस्कार पाए। मार्ग र अधिकार उनी आफैंले निर्देशन गरेका थिए। यस्तैयस्तै कथाहरूको निर्देशन गरेका थिए, अनिल पाण्डेले। महोत्सवमा पुरस्कार पाएपछि उनले नाचघरमा मनबहादुर मुखियाको लेखन र हरिप्रसाद रिमालले निर्देशन रहेको नाटक क्रसमा टांगिएको जिन्दगीमा अभिनय गर्ने मौका पाए। त्यसअघि नाचघरमा नयाँ कलाकारले खासै अवसर पाउँदैनथे। हमालले हरिप्रसाद रिमालकै निर्देशनमा भोजन भट्ट, यमपुरीमा जिउँदो मान्छेजस्ता नाटकमा पनि अभिनय गरे। प्रचण्ड मल्लको निर्देशनमा पृथ्वीनारायण शाहका चार प्रहर, तत्कालीन महाप्रबन्धक गणेश रसिकको लेखन र हरिप्रसाद रिमालको निर्देशन रहेको नाटक के सक्कली के नक्कली निक्कै नाटकमा पनि हमालले अभिनय गर्न पाए।

वीरेन्द्र हमाल आफ्नो जीवनकै अर्को ऐतिहासिक नाटक सम्झन्छन् महाकवि देवकोटाको गीति नाटक मुनामदन। यस नाटकलाई पनि हरिप्रसाद रिमालले नै निर्देशन गरेका थिए। एक सय ५० भन्दा बढी पटक मञ्चन भएको यस नाटकमा मदनको भूमिकामा थिए, वीरेन्द्र हमाल। मुनाको भूमिकामा थिइन्, वीना बुढाथोकी। बुढाथोकीले नाचघरको जागिर छोडेपछि मुना भइन्, पार्वती अधिकारी।

त्यसैगरी आरोहणको प्रस्तुति रहेको फ्रेन्च नाटककार मोपासाको नाटक चतुरेको दाउपेचमा पनि हमालले अभिनय गरे। यस नाटकको निर्देशन सुनील पोखरेलले गरेका थिए। पोखरेलले निर्देशन गरेका नाटकहरू आरूका फूलका सपना, अग्निको कथा, जीवनदेखि जीवनसम्म र पछिल्लो पटक गुरुकुलमा मञ्चित इडिपस रेक्समा उनले तयार गरेको कोरस अत्यन्तै प्रशंसित रहे। अभि सुवेदीको लेखन र निशा शर्माको निर्देशन रहेको नाटक मायादेवीका सपना तथा सरुभक्तको लेखन र अनुप बरालको निर्देशन रहेको नाटक बरैमा पनि वीरेन्द्र हमालको कोरस परिकल्पनाले निकै तारिफ पायो।

नाचघरको जागिर र अन्य नाट्य समूहहरूसँगको सहकार्यले मात्रै हमाललाई सन्तुष्टि दिएन। उनले २०५१ सालमा औपचारिक रूपमा एम आर्ट थिएटरको स्थापना गरे। कलाकार सरकारी जागिरे हुँदा काममा यसले एक किसिमको सीमामा बाँध्ने रहेछ। हमालको अनुभव यही रह्यो। त्यसैले उनले आफ्नो इच्छाले नाचघरमा गर्न नपाएका कामहरू एम आर्ट थिएटरबाट गरे। एम आर्ट थिएटरले नाटक उत्पादन गर्ने र अभिनयको प्रशिक्षण चलायो। हमालले एम आर्ट थिएटरबाट काला खोला, सोह्रठी, बरि लै, शक्ति, समय शरीर यात्राजस्ता सुन्दर नाटकहरू निर्देशन गरेका छन्। उनकै एम आर्ट थिएटरबाट राजकुमार पुडासैनी, राजन खतिवडा, सौगात मल्ल, सरिता गिरी, विनोद श्रेष्ठ, अर्जुन बीसी, महेश श्रेष्ठ, गंगाप्रसाद तिवारी, टंक चौलागाईं, रामबाबु रेग्मी, पवित्रा खड्काजस्ता दर्जनौं राम्रा रंगकर्मी तथा कलाकारहरू प्रशिक्षित भए।

हाल संस्कृतिकर्मी राजेश थापा महाप्रबन्धक भएपछि नाचघरको संरचना केही फेरिएको छ। यही आशामा वीरेन्द्र हमाल आफ्नो सिर्जनात्मक समय नाचघरलाई खर्चिरहेका छन्। पछिल्लो पटक उनले एक चिहान, भ्री, देउकासीजस्ता नाटकको निर्देशन गरे। अहिले सेक्सपियरका १२ वटा नाटकबाट केही अंश लिएर कलाकार बीएस राणालाई एकल अभियनमा उतार्दैछन्, उनी।

हमाल राम्रो कथावाचक पनि हुन्। कथा, किस्सा र चुट्किलाका त खानी हुन् उनी। कसैलाई बिझाउँदैनन्, उनी। सधैं फिट रहन उनलाई हरेक दिन दाह्री काट्नु पर्छ। फुलेको सेतो कपालमा पनि कालो रङ लगाएपछि त हमाल सदाबहार युवकजस्ता लाग्छन्। एक छोराका पिता उनी यो उमेरमा पनि प्रेममा पारंगत छन्। सायद उनको आफ्नो प्रेमिल स्वभावले नै उनी सबैको प्रिय छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.