गोठमा भेटिएको प्रेमपत्र
आमालाई के थाहा, त्यो चिठी आफ्नो प्रेमीको स्मृति दिवसकै दिन छोराहरूले पढेर आफूलाई सुनाउँछन् भनेर ?
भत्काइँदै गरेको गोठमा भेटिएको थियो, बाको प्रेमपत्र। भेटिनुभन्दा ३८ वर्षअघि अर्थात् २६ जेठ २०२० मा लेखेर पल्टनको कुनै नम्बरीसँग बाले आमालाई पठाउनुभएको हाते पत्र थियो, त्यो। स्वाभाविक म खुसी भएँ। मलाई लाग्यो, मैले कुनै बहुमूल्य खजाना भेट्टाएँ। तर खजाना गोठमा भेटिनुका पछाडिको कारणबारे जब म सोच्न थाल्छु, मलाई आमाले बिताउनुभएको संघर्षपूर्ण जीवनका केही परिच्छेदहरू पढिरहेझैं लाग्छ। म जन्मिनु अघिको बाआमाको आंशिक जीवनकथा पढिरहेझैं लाग्छ।
मभन्दा नौ वर्ष बूढो घरमा बूढा भइसकेका बाआमा मात्र बस्नुहुन्थ्यो। दाइहरू नदीको मूल भंगालोबाट छुट्टिएका शाखा नदी बनिसक्नुभएको थियो र आफ्नै नयाँ दुनियाँ सिञ्चन गर्न मूल घरबाट निस्किसक्नु भएको थियो। दिदीहरूको पनि बिहे भइसकेको थियो। बाआमासँग केवल म र दीपिन थियौं। तर हामीहरू पनि उहाँहरूको साथमा थिएनौं। म कीर्तिपुरमा मास्टर्स गर्दै थिएँ। दोस्रो वर्ष सकेर थेसिसका लागि काठमाडौंमा नै अल्झिरहेको थिएँ।
कीर्तिपुरमा दीपिनले पनि भर्खरै मास्टर्स भर्ना गरेको थियो। आठ सन्तानका मालिक बाआमा गुँडबाट भुर्र भुर्र उडी गएका बचेराहरू सम्झिँदै र ऐय्या आच्छु गर्दै उदासीमय दिनहरू बिताइरहनुभएको थियो, गाउँमा। हरदम आँखाअगाडि देख्न मन लाग्ने एउटै बचेरा पनि गुँडमा नहुँदा बाआमाको मनमा गहिरो आघात थियो। म त्यो बुझ्थेँ। गाउँ गएको बेला दैलो देखाउँदै आमा सधैं भन्नुहुन्थ्यो, ‘उहिले तिमीहरूसँग ठोक्किएर यो दैलोबाट भित्रबाहिर गर्न मुस्किल हुन्तो। अइले दैलाँ ठोक्किने पनि कोइ छैनौ।’
आमाको कुरा सुनेर म निःशब्द बन्थेँ।
बा भन्नुहुन्थ्यो, ‘आमाले जसोतसो चिसोको तातो गराउन सक्चिन अझै। चिन्ता नअरी पढ। र, पढेर सक्ने बित्तिकै गाउँ आऊ। क्यानाम्, जागिर चैं यतै नजिक गर्न पर्च। नत्र हामी बूढाबूढीलाई कसले हेर्च ?’
म फेरि निःशब्द बन्थेँ।
कुनै समय हल्ला र कोलाहलको सदाबहार दादागिरी चल्थ्यो घरमा। आमा तेइस जनाका लागि खाना पकाउनुहुन्थ्यो, उनीहरूलाई खुवाउनुहुन्थ्यो। अहिले त डसिरहने एकान्त मात्र थियो, घरमा। एकान्तको बिखालु दंशले बाआमालाई घायल पारिरहन्थ्यो। यस्तो बेला मलाई लाग्थ्यो, म एक नालायक पुत्र हुँ। बाआमाका बुढ्यौलीका कष्टमय दिनमा कुनै भरपर्दो साथ दिन नसकेकोमा आफैंप्रति धिक्कार लाग्थ्यो। जीवनको जंगलमा बैराग्यको चिसो बतास चल्न थाल्थ्यो। आंशिक क्षतिपूर्तिस्वरूप गाउँमा रहने बेलासम्म कालोमोसो लागेका आमाका नङ काटिदिन्थेँ, कपडा धोइदिन्थेँ, बाआमालाई खाना बनाएर खुवाउँथेँ, भाँडा माझ्थेँ र उहाँहरूका सुस्केरा सुन्थेँ। दीपिन पनि यही गथ्र्यो। यही सामान्य दैनिकीमा गाउँको बसाइ सकिन्थ्यो। काठमाडौंले फेरि बोलाइहाल्थ्यो, मलाई। खोटोको गन्ध बोक्ने सल्लाजस्तो भएर म राजधानी छिर्थें। राजधानी पुगेका केही दिन एकान्तको डसाइ भोगिरहेका बाआमाको उदास अनुहार स्मृतिको इलाकामा चल्मलाइरहन्थे। र, बिस्तारै सहरको अस्तव्यस्त जिन्दगीका घुम्तीमा ती ओझेल पर्न थाल्थे।
लेखकका बाआमा सर्वजित खड्का र वसुन्धरा खड्का।
बाको नयाँ घर बनाउने योजना थियो। बालाई लागेको थियो, आउन बाँकी नयाँ बुहारीहरू पुरानो घरमा खुसी हुनेछैनन्। यद्यपि बिहे नभएका सन्तानबारे यसरी चिन्ता लिनु र सोच्नु सन्तानप्रेमकै उदाहरण थियो, जब कि बाआमालाई थाहा थियो, उनीहरूको काइँलो छोरा बिहे गर्न इच्छुक छैन। मेरो अनिच्छाबाट उहाँहरू दुवै दुःखी हुनुहुन्थ्यो। तर पनि नयाँ घरका लागि ठूल्दाइसँग बाका अनेकचोटि छलफलहरू भएका थिए। घर निर्माणमा आवश्यक ढुंगाका लागि गोठ भत्काउने सल्लाह भयो, बाउछोराको। ठीकै पनि हो, ढुंगाको अनिकाल भएको गाउँमा त्यसबाट ठूलो राहत मिल्थ्यो। कारण त्यति मात्र पनि थिएन। गोठ त गाईभैंसी पाल्ने घरलाई मात्र जरुरी हुन्छ। काम गर्ने जनशक्ति नभएको घरमा कसले पाल्ने बस्तुभाउ ? किन राख्ने रित्तो गोठ ? गोठ भत्काउनकै लागि म फेरि गाउँ फर्किएको थिएँ।
गोठको छाना फालियो। छानाका डाँडाभाटा उतारियो। त्यसपछि गोठको गारो भत्काउन सुरु गरियो। गाउँको चलनअनुसार गोठको माथिल्लो तला माटोका डल्ला काटेर बनाइएको थियो। गाउँले दाजुभाइसँग मिलेर मैले पनि ती डल्ला उप्काएर फाल्न थालेँ। त्यही बेला अचानक मेरो नजर एक कागजमा पर्यो। माटाको डल्ला बीचमा च्यापिएको त्यो कागज बडो कुशलतापूर्वक पट्याइएको थियो। जिज्ञासावश कागज खोलेर हेरेँ, बाका तमसुके अक्षरहरू थिए। बाका अक्षरहरू मलाई निकै सुन्दर लाग्थे र म तिनलाई सजिलै चिन्न सक्थेँ। माटोले खाएको बीचतिरको भागका केही अक्षर गायब थिए। तर, बाँकी अक्षर अत्यन्त सफा थिए। त्यो कागज बाले आमालाई लेख्नुभएको प्रेमपत्र थियो। यो मेरा लागि समयले दिएको अमूल्य उपहार थियो।
बालाई त मैले केही भन्न सकिनँ तर आमालाई जिस्क्याएँ, ‘बाले त तपाईंलाई कुखुरी, पगली र घुम्रे पो भन्नुहुँदो रहेछ। हैन त ?’
‘हैन के भन्च यो ?’ आमाले अलिकति लाज मानेजस्तो गर्नुभयो।
‘बाले तपाईंलाई लाहुरबाट पठाउनुभको चिठी भेट्टाएँ आज। गोठको गारोमा’, मैले भनेँ।
‘ए हो र ? के लेख्नु भ रैच बूढा माउले ?’ आमा मुस्कुराउनुभयो।
मैले आमालाई त्यो चिठी देखाएँ। केही अनुच्छेद पढेर सुनाएँ पनि, ‘श्री प्रिय दासीमा चिरञ्जीवी प्यार और बालक बालिकाहरूमा पिताको चिरञ्जीवी शुभ आशीर्वाद।’
‘दासी ?’
आमालाई के थाहा, उहाँले धेरैपटक पढेर गोठको भित्तामा घुसारिदिएको पत्र त्यतिका वर्षपछि आफ्नै सन्तानले भेट्ने छ भनेर ?
बाले आमालाई ‘दासी’ सम्बोधन गरेको मलाई मन नपर्नु स्वाभाविक थियो, तर मैले त्यसलाई साह्रै असहज पनि मानिनँ। किनकि मेरा बा त्यही देशमा जन्मिनुभएको थियो, जहाँ आदिकविले समेत महिलालाई दासी सम्झेर ‘वधूशिक्षा’ लेखेका थिए। सम्बोधन जे जस्तो भए पनि मलाई आफ्ना बाआमाबीचको प्रेमसम्बन्ध निकै बलियो र पवित्र लाग्थ्यो। लाग्थ्यो, बाआमाको दिव्य प्रेमसम्बन्ध महसुस गर्न पाउने भाग्यमानी सन्तानमध्ये एक हुँ म। मैले पत्र पढिरहेँ। पहिला मुसुमुसु हाँसिरहेकी आमा आधी चिठी सुनिनसक्दै एक्कासि भावुक बन्न थाल्नुभयो। रुँलारुँलाजस्तो गर्नुभयो। सायद उहाँलाई आफ्नो संघर्षमय विगत याद आयो। आफ्नो प्रेम याद आयो। मैले चिठी पढ्न बन्द गरेँ र त्यसलाई मेरो एल्बममा लुकाएर राखेँ।
बाको त्यही पुरानो प्रेमपत्र भेट्टाएको सात वर्षपछि बा बित्नुभयो, २०६५ सालमा। जीवनमा गहिरो न गहिरो रिक्तता महसुस भइरह्यो। अब त बासँग भेट हुने एकमात्र ठाउँ थियो, सपना। यसबीच १० वटा शिशिर आएर मेरो जीवनलाई पतझड बनाए, १० वटा वसन्त आएर आशाका पालुवा हाले। मैले बाको प्रेमपत्र राखेको ठाउँ बिर्सिएँ। सोचेँ, दुर्भाग्यवश त्यो कतै हरायो। जब कि बा बितेपछि बाको पत्र झन् बढी अमूल्य लागिरहेको थियो मलाई। पत्रले दिएको खुसी मसँग टाढा भयो।
यस पटकको गर्मी बिदामा गाउँ जाँदा एल्बमको बीचमा च्यापिएको उक्त पत्र अचानक फेला पारेँ। मेरो खुसी फेरि फर्केर आयो। यो एक विशेष संयोग थियो। संयोग यतिमात्र थिएन, पत्र भेटिएको केही दिनपछि बाको स्मृति दिवस परेकाले पाँचै भाइ जम्मा भएका थियौं। मैले आमा, दाइ, भाइ, दिदी र भाउजूसमक्ष उक्त पत्र सार्वजनिक गरेँ। सबैले कुनै अनमोल उपहार भेटेजस्तो गरी त्यस पत्रलाई हेर्यांै। देवेन्द्र दाइले मेरो हातबाट लिएर पत्र पढ्न थाल्नुभयो। जब पत्रमा आफ्नो नाम आयो, दाइको आवाजको लय खल्बलियो। पढ्दापढ्दै भक्कानिनुभयो दाइ। नयाँ पल्टनका लागि व्यस्त बाले आफ्ना ससाना तीन सन्तानको स्थिति कल्पना गर्दै लेख्नुभएको थियो, ‘...और दुर्गेले भात पकाई बसेको होला। देविन्द्रेले राधालाई हलो राधा हलो राधा अब आमा मेलाबाट आइपुग्छिन्। आमा आएपछि तिमी दुदु खाउली भन्दै फुल्याउँदै होला।’ राम्रोसँग नसुन्ने आमा हाम्रा अनुहारमा पालैपालो आँखा डुलाउँदै हुनुहुन्थ्यो र बाको चिठीले बिगारिदिएका सारा अनुहार पढेर उदास हुनुभएको थियो।
बाको मृत्यु भएको १० वर्षपछि उहाँको प्रेमपत्र पढ्दा हामीलाई लागिरह्यो, पत्रको पानामा बसेर स्वयं बा बोलिरहनुभएको छ। उही चिरपरिचित नरम आवाज, बोलीको आरोह अवरोह र मौलिक भंगिमामा रुद्रघन्टी हल्लाउँदै मानौं बाले आमालाई सम्झाइरहनुभएको छ, ‘पगली, कामको लागि मरिहत्ते नगर्नू। खाना समयमा खानू। नत्र गानागोलाले दुःख दिनेछ। आफ्नो ख्याल नगरेर तिमी बिरामी भयौ भने म बहुत नाराज हुनेछु...।’
बाको यो अमूल्य प्रेमपत्र कुनै लाहुरेले आफ्नो नाम र नम्बर लेखेर भरिया लगाई ल्याएको बाकसमा भेटिएन। न आमाले दाइजोस्वरूप माइतबाट ल्याएको मदुसमा नै भेटियो। यो भेटियो, भत्काइँदै गरेको गोठमा। जबजब बाको उक्त प्रेमपत्र हेर्छु, मलाई भत्किएको त्यही गोठ याद आउँछ। गोबर र पिसाबको गन्ध भरिएको मलखाद मात्र होइन, मसँगै हुर्किएका गोरु, भैंसी र बाख्राको खोर याद आउँछ। धेरै वर्ष हाम्रो खेतबारी जोतेर हामीलाई भोकै मर्नबाट बचाउने तिल्के र राते गोरु मेरा आँखामा चल्मलाउन थाल्छन्। बेचिसकेपछि पनि बारम्बार हाम्रो तगारो कुरिरहने रातेलाई देख्दा म सधैं बिथोलिन्थेँ। फुँ फुँ गरेर सबैलाई धम्क्याउने त्यो गोरुको मायाले अझै मलाई द्रवित पारिदिन्छ।
जब गोठ याद आउँछ, मलाई मेरी आमा र त्यस गोठको सम्बन्ध याद आउँछ। त्यो गोठ मेरी आमाको बैंसालु उमेर र बुढ्यौली दुवैको साक्षी थियो। खुसी र दुःखको साक्षी थियो। हाँसो र रुवाइको साक्षी थियो। भत्कियो त्यो गोठ र स्थूल रूपमा आमाको संघर्षका अनेकौं साक्षी भावहरू हराएर गए। स्थूल प्रमाणहरू मेटिएर गए। तर, त्यसले बाको प्रेमपत्र जोगाएर राखिदिएको रहेछ। मैले त्यसलाई यसरी निकालेँ, मानौं त्यो कुनै गाडधन हो। असर्फीले भरिएको। खासमा असर्फीले भरिएको गाडधनभन्दा पनि प्रेमले भरिएको बाको प्रेमपत्र कैयौं गुना बढी बहुमूल्य थियो।
आमाको बैंसालु वयको केवल एक तस्बिर छ, हामीसँग। जब गोठ सम्झिन्छु, तस्बिरकी आमा घाँसको भारी बोकेर गोठमा उक्लिएको कल्पना गर्न पुग्छु। कल्पनामा धपधपी बलेको आमाको सुन्दर अनुहार चल्मलाउन थाल्छ, जुन पसिनाले लथपथ छ। आमा पटुकी फुकाउनुहुन्छ र त्यसको छेउले पसिना पुछ्नुहुन्छ। पटुकीले पसिना पुछ्दै गर्दा आमालाई आफ्ना प्रेमीले युद्ध मैदानबाट लेखी पठाएको पत्र याद आउँछ। आमाले घाँसको भारी बोकेर डिलको चौतारोमा बिसाइ मार्दा बाका पल्टने साथी भेटिएका थिए। उनैले ल्याएका। त्यसलाई आमाले पटुकीको टुप्पोमा बाँध्नुभएको थियो। बडो प्रेमले कटेरोमा प्रेमपत्र खोल्नुभयो, मेरी ३२ वर्षीया आमाले। आमा खुसीले मुस्कुराई रहनुभयो। पत्रलाई घरि ओठमा र घरि छातीमा टाँसिरहनुभयो। अनि गोठमै पढ्न थाल्नुभयो।
सासूससुरा वा अरू कसैले देख्छन् कि भनेर डराईडराई चिठी पढ्नुभयो आमाले। अहँ, धीत मरेन आमाको। चिठी दोस्रोपटक पढ्नुभयो, तेस्रोपटक पढ्नुभयो। आमाको मनमा बासँग बिताएका दर्जनौं रोमाञ्चक पलहरू अटेसमटेस गरी आए। तर, बाले लेखिपठाउनु भएका सुझावहरू पढेपछि भने आमा रुन थाल्नुभयो। प्रेमीले खुसी रहन दिएका सुझावहरूले हर प्रेमीलाई यस्तै भावुक बनाउँछ। रुँदैरुँदै बालाई लेख्ने जवाफ पनि सोच्नुभयो आमाले, ‘शिरको स्वामी, हजुरले मेरो बारेमा कुनै चिन्ता नलिनुहोला। हजुरलाई कहिल्यै लडाइँ जान नपरोस् भनेर बाउलुङ देवीलाई कालो पाठो भाकेकी छु मैले। हजुर छिट्टै छुट्टी मिलाएर आउनुस्। भाकल लिएर देवीथान मन्दिरमा सँगै जाऊँला।’
आमाले पूरा जवाफ कल्पिरहँदा टाट्नोमा घाँस पर्खिरहेका गाईभैंसी दाम्लो चुडाल्लान्झैं गरी कराउन थाले। ती भोकाएका थिए। आमाले तिनीहरूका लागि फलेकको प्वालबाट भर्खरै बोकी ल्याएको दोबल्ला घाँस खसालिदिनुभयो।
‘ओहो ! मेरा केटारी पनि त भोकाए हुनन् !’ आमालाई बल्ल आफ्ना तीन छोराछोरीको याद आयो। अनि गोठको भित्तामा पत्र घुसारेर आँसु पुछ्दै र आँसी नाम्लो समात्दै आमा घरको आँगनमा निस्कनुभयो। आमालाई देखेर पाँच वर्षका देवेन्द्र दाइ खुसीले कराउनुभयो, ‘आमा आउनुभो। आमा आउनुभो।’
पीरो धुवाँले निकालेको आँसु पुछ्दै जानीनजानी तरकारी पकाइरहेका एघार वर्षीय दुर्गा दाइ ‘लाटा माइला’को कुरा सत्य हो कि होइन भनी जाँच्न ढोकामा निस्कनु भो। उहाँको कपालभरि खरानी नै खरानी थियो र हातमा ढुंग्रो थियो। घाँस काट्न बिहानै मेला गएकी आमा साँच्चै आउनुभएको थियो र घरको पालीमा आँसी घुसार्दै हुनुहुन्थ्यो। काँचो दाउरा नजलेर आगो फुक्दाफुक्दा हैरान हुनु भएको दाइ खुसी हुनुभयो। सबैभन्दा बढी खुसी भने दुई वर्षकी राधा दिदी देखिनुभयो। आमाको गुन्यूमा गुट्मुटिएर ‘आम्मा बुबु आम्मा बुबु’ को रटान लगाइरहनुभयो दिदीले। पिँढीमा चकटी ओछ्याएर आमाले दिदीलाई बुबु ख्वाउन थाल्नुभयो। र, नजिकमा बसेका दुई छोराको कपाल मुसार्दै भन्नुभयो, ‘खाना खाएपछि पर्ममा जान्चु म। आज पनि दिनभरि झगडा नअरी बस है तिमोरु।’
दिनभरि आमासँग बस्ने रहर पालेका बच्चाहरू निराश भए। तैपनि भने उनीहरूले, ‘हुन्च आमा।’
‘म त जन्मिएकै रहेनछु। म जन्मिनु ११ वर्ष अघिको चिठी रै’छ यो।’ बाको पत्रमा आफ्नो नाम नआएपछि गणेश दाइले भन्नुभयो। म बुझ्छु दाइको घाउ। मलेसियाको चक्करमा फसेर पासपोर्टका लागि काठमाडौं जानु पर्दा उहाँले अन्तिम समयमा बालाई देख्न पाउनुभएन। बालाई एक चम्मच पानी पिलाउन पाउनुभएन। हामी बुझ्छौं, एक असल सन्तानका लागि यो निकै दुर्भाग्यको क्षण हो। गणेश दाइको कुरा सुनेर म कल्पनाको लोकबाट यथार्थको दुनियाँमा ओर्लन्छु।
बाको दसौं स्मृति दिवसको दिन। आमालाई के थाहा, उहाँले धेरैपटक पढेर गोठको भित्तामा घुसारिदिएको पत्र त्यतिका वर्षपछि आफ्नै सन्तानले भेट्ने छ भनेर ? जसलाई उक्त पत्र पाएको ११ वर्षपछि जन्माउनुभएको थियो आमाले। आमालाई के थाहा, पत्र पढेर छोराछोरीले बाआमाका कतिपय गुफ्तगु थाहा पाउनेछन् भनेर। आमालाई के थाहा, सन्तानले त्यो चिठीलाई एक अमर प्रेमकथाको निशानी मान्लान् भनेर। अनि आमालाई के थाहा, त्यो चिठी आफ्नो प्रेमीको स्मृति दिवसकै दिन छोराहरूले पढेर आफूलाई सुनाउँछन् भनेर ?