आफ्नो वार्तालाप सार्वजनिक गर्ने मिडियामाथि किन खनिए ट्रम्प ?
वासिङटन : सञ्चारकर्मीको उपस्थितिमा उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे भएका अनौपचारिक प्रतिक्रियालाई अनावश्यक रूपमा बाहिर ल्याएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् ।
राष्ट्रपति ट्रम्पले अनौपचारिक रूपमा भएका वार्तालापबारे सार्वजनिक गर्नुलाई ‘बेइमान पत्रकारिता’ को संज्ञा दिएका छन् । ट्रम्पले शुक्रबार अबेर ट्विट गर्दै भनेका छन्, ‘अहो ! मैले क्यानडाबारे ब्लुमवर्गका पत्रकारसँग ‘अफ द रेकर्ड कमेन्ट’गरेको थिएँ । यद्यपि सञ्चारमाध्यमबारे विश्वव्यापी मान्यता उल्लंघन गर्दै त्यसलाई सार्वजनिक गरिएको छ । यो गैरजिम्मेवार पत्रकारिताको थप एउटा ज्वलन्त उदाहरण हो । म यस्ता समाचारप्रति बानी परिसकेको छु । कम्तीमा पनि क्यानडाले म कहाँ रहेको छु, त्यो सबै बुझेको छ।’
अमेरिकी सञ्चारमाध्यम फक्स न्युजका अनुसार द टोरन्टो स्टारले आफूले अनौपचारिक कुराकानीमा भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ओभल अफिसमा ब्लुमवर्गले राष्ट्रपति ट्रम्पसँग लिएको अन्तवार्ताको उक्त भाग आफूले पाएको जनाएको छ । उक्त वार्तामा ट्रम्पले क्यानडाली प्रधानमन्त्री जस्टिन त्रुदोसँग उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे कुनै सम्झौता नगर्ने बताएका थिए । अन्तर्वार्तामा उनले यो कुरा सार्वजनिक गर्दा क्यानडाले अपमान गरेको महसुस गर्ने र सम्झौताबाट पछि हट्ने पनि बताएका छन् ।
ट्रम्पको भनाइलाई फक्स न्युजले थप उद्धृत गरेको छ, ‘यहाँ समस्या छ, यदि मैले हुन्न भने उत्तर हुन्नमा जान्छ । यदि मैले हुन्न भनेमा तपाईंहरूले यसलाई सार्वजनिक गर्नुहुन्छ । यसबाट उनीहरूले अपमानित भएको महसुस गर्छन् र सम्झौताबाट पछाडि हट्न सक्छन् ।’
यसैबीच ट्रम्पले नयाँ उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) का लागि दुई व्यापारिक साझेदार मुलुक क्यानडा र अमेरिकाबीच पहल अघि बढाएका थिए । यसै साताको शुरुमा ट्रम्पले आफूले मेक्सिकोसँग लगभग सहमति गरेको जानकारी दिएका थिए । उनले क्यानडा नयाँ सम्झौतामा साझेदार रहन्छ वा रहँदैन, त्यो हेर्न बाँकी रहेको स्पष्ट पारे । क्यानडासँग हुने भनिएको सम्झौताको समयअवधि शुक्रबारसम्मका लागि मात्र थियो ।
ट्रम्पले गत महिना आफ्नो पहलमा उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)लाई ‘खारेज’ गर्ने र अर्कै सम्झौता गरिने बताएका थिए । त्यसको नाम अमेरिका–मेक्सिको व्यापार सम्झौता हुने पनि बताएका थिए । मेक्सिकोका राष्ट्रपति एन्रिक पेना नीतोले क्यानडा पनि निकट भविष्यमा व्यापार सम्झौताको साझेदार हुने बताउँदै आएका छन् । ट्रम्पले छिट्टै क्यानडाली समकक्षी त्रुदोलाई फोन गर्ने र क्यानडाली कार आयातमा कर बढाउने प्रस्ताव गर्ने जनाएका छन् ।
‘अमेरिकी करवृद्धि अस्वीकार्य’
युरोपेली आयोगका प्रमुख जँ–क्लाउड जंकरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कारको अमेरिकाले आयातमा कर बढाए युरोपेली युनियन (ईयू)ले पनि करवृद्धि गर्ने चेतावनी दिएका छन् । ‘कारमाथि नयाँ करवृद्धिबारे हामीले ट्रम्पसँग एक प्रकारको युद्धविराम गरेका थियौं’, जेडडीएफसँगको अन्तर्वार्तामा जंकरले भने, ‘युद्धविरामको अर्थ नै कहिलेकाहीँ त्रासको वातावरण सिर्जना हुन्छ तर त्यसलाई सम्मान गरिन्छ ।’
यदि अमेरिकी राष्ट्रपतिले त्यस सम्झौताको उल्लंघन गरेमा र ईयूबाट आयात गरिने कारमा कर बढाए युरोपेलीले पनि त्यस्तै गर्नुको विकल्प नभएको उनको दाबी थियो । ट्रम्पले युरोपेली युनियनको चारपांग्रे सवारीसाधनमा कर नबढाउने प्रस्ताव अस्वीकृत गरेको भन्ने समाचार आएलगत्तै जंकरको यस्तो भनाइ सार्वजनिक भएको हो । युरोपेली व्यापार आयुक्त सेसिलिया माल्मस्ट्रोमले युनियनले ‘कारमाथिको करवृद्धिलाई शून्यमा ल्याउने’ प्रस्ताव गरेको र अमेरिकाबाट पनि त्यस्तै अपेक्षा गरेको जानकारी दिए । ब्लुमवर्ग न्युजसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले ईयूको प्रस्ताव राम्रो र पर्याप्त नभएको बताएका थिए ।
युरोपेलीको उपभोग्य व्यवहार नै आफ्नो उत्पादनको प्रयोग गर्ने भएको ट्रम्पको भनाइ छ । उनले अमेरिकाको ईयूसँगको व्यापार चीनसँगको जस्तै कठिन मोडमा भएको चर्चा गरे । ‘युरोपेली युनियन चीनजस्तै हो’, ट्रम्पले ब्लुमवर्गसँग भने । अमेरिकाले युरोपेली धातुयुक्त सामग्रीमाथि करवृद्धिको घोषणा गरेलगत्तै ट्रम्पसँग जंकरले जुलाईमा ह्वाइटहासमा भेट गरेका थिए । भेटपछि दुवै पक्षले नयाँ करवृद्धि घोषणा नगर्ने र अर्को व्यापार सम्झौता गर्ने सहमति गरेका थिए । ट्रम्पले विगतमा युरोपेली कारमाथि २५ प्रतिशतसम्म कर बढाउने चेतावनी दिएका थिए ।