संस्कृति जोगाउँदै थारू युवा

संस्कृति जोगाउँदै थारू युवा

धनगढी : थारू समुदायको संस्कृति जोगाउन युवा सक्रिय भएका छन्। पछिल्लो समयमा थारू समुदायमा रहेको मौलिक संस्कृति हराउँदै गएपछि उनीहरूले विभिन्न पर्व, मेला तथा महोत्सव आयोजना गर्न थालेका छन्। धनगढी उपमहानगरपालिका–५, जाइँमा स्थानीयवासीको अगुवाइमा हरेरी महोत्सव मनाइएको छ। आमनेपालीले कृष्ण जन्माष्टमी आइतबार मनाउने भए पनि थारू समुदायले सोमबार अस्टिम्कीको रूपमा कृष्ण जन्माष्टमी मनाउँदै छ।

‘थारू समुदायको संस्कृति लोप हुँदै गएको छ’, धनगढी–५ का कुलवीर चौधरीले भने, ‘यसैले बेलाबेलामा मेला आयोजना गर्ने गरेका छौं।’ मेलामा गैरथारू समुदायको पनि राम्रो साथ रहने र यसले दुई समुदायबीच सद्भाव बढ्ने उनीहरू बताउँछन्।

थारू समुदायको रहनसहन र पहिरन युवा पुस्ताले बिर्सिंदै गएका छन्। मेलामा थारू समुदायको लोपोन्मुख मुंग्रहवा, लठ्ठी, सखिया नाचदेखि एकल नाचलगायत गायन प्रस्तुत गरिन्छ। थारू समुदायका परिकार ढिक्री, अन्दीको चामलको भात तथा रोटी, गँगटा तथा घोंगीको तरकारी पछिल्लो पुस्ताले भुल्दै गएका छन्।

‘हाम्रै समुदायको पहिचानका लागि हामी आफैं एकजुट हुनुपर्छ’, सांसद मालमती राना थारूले भनिन्, ‘संस्कृति बचाउन दोस्रो पुस्ताका लागि यस प्रकारका पर्वको महत्वपूर्ण भूमिका हुन्छ।’ तर, पछिल्लो समयमा प्रविधिको विकाससँगै थारू समुदायको संस्कार र संस्कृति पनि फेरिन थालेको छ। गाउँमा खुलेका क्लब तथा समूहमा थारू समुदायको भेषभूषा पोसाक बनाउने, बैठक तथा छलफलमा अनिवार्य लगाउने, मेला महोत्सव तथा पर्वमा झाँकी जुलुस निकालेर सहभागी हुने कार्य बढ्न थालेका छन्।

थारू समुदाय आफैंमा कलासंस्कृतिका खानी हुन्। उनीहरू आफैं मिलेर रमाइलो गर्ने र संस्कृति जोगाइराख्ने परम्पराले हालसम्म केही संस्कृति लोप हुनबाट जोगिएको हो।

‘थारू समुदायको कला संस्कृति जोगाइराख्ने अगुवा बुद्धिजीवीको मात्रै ठेक्का होइन’, युवा जोखन चौधरीले भने, ‘युवा पुस्ताको पनि दायित्व हो।’ थारू समुदायले गाउँगाउँमा मनाउँदै आएको चाडपर्व संस्थागत गर्न पछिल्ला केही वर्षयता धनगढीमा सामूहिक रूपले गुरही, चिरै भजहर, अष्टिम्की, अट्वारी, माघ, हरेरी पूजालगायत पर्व भव्य रूपले मनाइरहेका छन्। स्थानीय सरकारले पनि थारू समुदायका पर्वमा सार्वजनिक बिदा दिन थालेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.