कांग्रेस तंग्राउने हो भने...
महत्वाकांक्षा त्यागी सही नेतृत्व पहिचान गरेर आफूभन्दा योग्य जुझारु भाइ नेता वा नेतालाई नेतृत्वमा चयन गराएर पार्टीलाई पुनर्जीवन दिने समय हो यो
नेपाली कांग्रेसको चौधौं महाधिवेशन डेढ वर्षपछि हुनेवाला छ पार्टी सभापति र वरिष्ठ नेतामध्ये कुनै एकले ‘षड्यन्त्र’ गरेर अधिवेशन पछाडि धकेलिदिएनन् भने। पार्टी सभापति, महामन्त्री, कोषाध्यक्षजस्ता शक्तिशाली पद चयन गर्छन् महाधिवेशनमा भाग लिने कांग्रेस प्रतिनिधिले। शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेका तीन शक्तिशाली गुटमा विभक्त छ कांग्रेस। साना गुट र उपगुट अनगिन्ती छन्। गुट र उपगुटको उपस्थितिले अस्तव्यस्त तुल्याएको छ अधिकांश कांग्रेसजनलाई।
निराश र आजित पार्टी समर्थक भन्ने गर्छन्, ‘कांग्रेस कहिल्यै सुध्रिँदैन।’ त्यसो त ‘गुटबन्दीको अन्त्य’ लोकप्रिय नारा र मुद्दा बनेको छ कांग्रेस पार्टीभित्र। विडम्बना गुटबन्दीको प्रखर विरोधी पनि कुनै न कुनै गुटसँग आबद्ध छन् यदि स्वयं गुटको नेता नभएको खण्डमा। पार्टीलाई गुटबन्दीमुक्त तुल्याएर नवजीवन दिने उद्देश्य अघि सार्दै विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधि पुत्रहरू महाधिवेशनमा पार्टी सभापति पदको उमेदवार हुने घोषणा गर्न थालेका छन्।
विश्वव्यापी प्रवृत्ति
स्थापित नेता परिवार सदस्यहरू आफ्ना अग्रजले निर्माण गरेको पार्टी र मुलुकको नेतृत्व गर्न लालायित हुने चाहनालाई जतिसुकै वंशवादी भनेर लल्कारे पनि यो विश्वव्यापी प्रवृत्ति हो। उत्तराधिकारी आफ्नै सन्तति होऊन् भन्ने चाहना राजा–महाराजामा मात्र नभएर तानाशाही, साम्यवादी, समाजवादी र पुँजीवादी सबै निहित भएको देखिन्छ। त्यसैगरी पुर्खाको बिडो थाम्ने मोह तिनका सन्ततिमा पनि उत्तिकै भेटिन्छ।
जनलोकतान्त्रिक गणतान्त्रिक कोरिया (उत्तर कोरिया) नमुना कम्युनिस्ट राष्ट्र त्यहाँ विगत सात दशकदेखि निरन्तर ‘किम’ वंशजले शासन गर्दै आएको छ। त्यसैगरी अर्को कम्युनिस्ट राष्ट्र क्युवामा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले भाइ राहुल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरे। सिरियामा बाबु असादबाट सत्ता छोरा असाद हुँदै विगत ४७ वर्षदेखि शासनभार असाद परिवारको विरासत भएको छ। अफ्रिकी गणतान्त्रिक मुलुक टोगोमा विगत ४८ वर्षदेखि गणसिङ्वे वंशले बाबुपछि छोरा हुँदै सत्तालाई पारिवारिक नियन्त्रणमा राखेका छन्। चुनावद्वारा सरकार प्रमुख चयन गर्ने देशहरू जस्तै अमेरिकामा पूर्वराष्ट्रपति जर्ज बुसका पुत्र जर्ज बुस जुनियर दुईदुईपटक राष्ट्रपति निर्वाचित भएका थिए।
विगत तीन वर्षदेखि क्यानाडामा प्रधानमन्त्री पिरेर ट्रुड्यौं पुत्र जस्टिन ट्रुड्यौं प्रधानमन्त्री छन्। छिमेकी राष्ट्र बंगलादेशमा राष्ट्रपति शेख मुजिव रहमान पुत्री सेख हसिना विगत नौ वर्षदेखि प्रधानमन्त्री छिन्। दक्षिण कोरियाको राष्ट्रपति पार्क चुहीकी पुत्री पार्क गुही पनि निर्वाचित राष्ट्रपति थिइन्। चार वर्ष राष्ट्रपति पदमा आसीन तिनी एक वर्षअघि भ्रष्टाचारको अभियोगमा अपदस्थ भएर २४ वर्ष जेल सजायँ भोग्दैछिन्। त्यसैगरी ली क्वान यीका पुत्र ली हिसेन लुङ सिंगापुरका वर्तमान प्रधानमन्त्री हुन्। यी केवल प्रतिनिधि उदाहरण मात्र हुन् वंशज हावी भएको सत्तामा।
पारिवारिक उत्तराधिकारी हुन् वा बिडो थाम्नेहरू, तीन कारणले प्रेरित भएको पाइन्छ : (क) सत्तामा रहेका मातापिता वा अग्रजको चाहना वा प्रोत्साहनमा। (ख) आफ्नो मातापिता वा अग्रजको बाटोमा हिँड्ने अर्थात् कुल वा वंशको बिडो थाम्ने मनोवज्ञानिक कारण वा आकांक्षाले र (ग) पुर्खाको बिडो थाम्न परिवार र नजिककाहरूको ‘प्रेसर’ वा प्रेरणा जस्ता कारणले। जेसुकै कारणले भए पनि चुनावको माध्यमबाट सत्ता प्राप्त गर्न सफल दोस्रो र तेस्रो पुस्ताका नेताहरूमध्ये धेरै थोरै मात्र लोकप्रियता कायम गर्न सफल भएका छन्। हाम्रा छिमेकी राष्ट्रहरूका राजीव गान्धी, बेनजिर भुट्टो र चन्द्रिका कुमारतुंगा लोकप्रिय शासक बन्न सकेनन्। दुई ‘टर्म’ राष्ट्रपति निर्वाचित बुस पनि लोकप्रिय थिएनन्। समकालीन नेता पुत्रहरूमा तीन वर्ष प्रधानमन्त्री पद आसीन जस्टिन ट्रुडो भने आजका दिनसम्म लोकप्रिय छन्।
पारिवारिक सम्बन्धका कारणले सत्तासीन हुने प्रबल सम्भावना हँदाहँदै पनि सोनिया गान्धीले प्रधानमन्त्रीको पद सम्हाल्नुको साटो राजनीतिक पृष्ठभूमि नभएको तर उत्कृष्ट अर्थमन्त्री प्रमाणित भएका डा. मनमोहन सिंहलाई उक्त पदमा आसीन गराइन्। त्यसैगरी इन्डोनोसियामा मेगावती सुकार्नोपुत्रीले जोको बिडोलाई अघि सारिन् राष्ट्रपति पदमा जो त्यस मुलुकको लोकप्रिय राष्ट्रपति कहलिएका छन्। यी दुई महिला नेत्रीहरूले एउटा अभूतपूर्व गुण प्रदर्शन गरे आफूभन्दा योग्य व्यक्तिलाई राष्ट्र सञ्चालन गर्ने अभिभारा सुम्पेर।
कांग्रेस यो अवस्थामा पुर्याउने, पार्टी कार्यकर्तालाई दिशाहीन तुल्याउने र मुलुकबासीलाई निराश तुल्याउने श्रेय पार्टी नेतृत्व अर्थात् सभापति शेरबहादुर, वरिष्ठ नेता रामचन्द्र र तिनका पुस्ताका नेताहरूलाई जान्छ। फेरि उनीहरू हावी हुनु भनेको पार्टीलाई दलदलमा फसाइराख्नु हुनेछ।
माथि उल्लेख गरिएका उदाहरणबाट के निष्कर्ष निकाल्न सकिन्छ भने पारिवारिक शासन पद्धतिविरुद्ध जनमत जतिसुकै बलियो देखिए पनि शासकहरूलाई आफ्ना सन्ततिलाई सत्ता सुम्पने प्रबल चाहना हुन्छ। त्यसैगरी तिनका सन्ततिहरूलाई पनि उत्तराधिकारी बन्ने महत्वाकांक्षा त्यत्तिकै प्रबल हुन्छ। यो विश्वव्यापी प्रवृत्तिबाट हाम्रो नयाँ गणतान्त्रिक मुलुक अछूत छैन। वास्तवमा प्रचण्ड, शेरबहादुर वा रामचन्द्रले प्रदर्शन गरेको गुणलाई मध्यनजर गर्ने हो र उनीहरू हावी भइहाले भने राजाको छोराबाट राज्य सञ्चालित हुने परम्परालाई जनताद्वारा चुनिएका नेताका श्रीमती, पुत्री वा पुत्रहरूबाट सञ्चालित हुने पद्धतिको स्थापना हुने देखिन्छ।
यो अवस्थाको जिम्मेवार को ?
कांग्रेसलाई यो अवस्थामा पुर्याउने, पार्टी कार्यकर्तालाई दिशाहीन तुल्याउने र मुलुकबासीलाई निराश तुल्याउने श्रेय पार्टी नेतृत्व अर्थात् सभापति शेरबहादुर, वरिष्ठ नेता रामचन्द्र र तिनका पुस्ताका नेताहरूलाई जान्छ। यी दोस्रोे पुस्ताको पहिचान राख्ने नेताहरू कांग्रेसका निम्ति ‘लायविलिटी’ सिद्ध भइसकेका छन्। पार्टीमा फेरि उनीहरू हावी हुनु भनेको उनीहरू स्वयंले निर्माण गरेको पार्टीलाई दलदलमा फसाइराख्नु हुनेछ। डा. शशांकको भनाइ छ, ‘इतिहासमा यति ठूलो संकटमा कांग्रेस कहिल्यै पनि फसेको थिएन।’ उनको भनाइ वास्तविक हो। पार्टीको गिर्दो छवि र नैराश्य कार्यकर्ता देखेर नेतापुत्र प्रकाशमान, डा. शशांक कोइराला र विमेलेन्द्र निधि चिन्तित हुनु स्वाभाविक हो। उनीहरूलाई नेतृत्व आफैंले सम्हालेर पार्टीलाई नवजीवन दिऊँ भन्ने अभिलाषा हुनु पनि स्वाभाविक हो। आफ्नो पुर्खाले निर्माण गरेको पार्टीको दुर्गति देख्दा उनीहरूको छाती किन नचिरिनु ? तर कुनै पनि बिग्रँदो परिस्थितिबाट दुखित हुनु एउटा कुरा हो, तर त्यस अनिष्टबाट पार्टीलाई गन्तव्यतर्फ डोर्याउने क्षमता राख्नु अर्कै विषय।
सजिसजाउ प्राप्त अवसर
प्रकाशमान सिंह र विमलेन्द्र निधि विद्यार्थीकालदेखि नै कांग्रेसमा जुटेका नेता हुन्। पार्टीले पनि उनीहरू दुवैलाई चाँदीको सजिसजाउ थालीमा नेतृत्व गर्ने अभिभारा सुम्पेको पनि यथार्थ हो। त्यसैगरी डा. शशांक कोइरालालाई राजनीतिमा होमिन आग्रह गर्ने कांग्रेसजन थुप्रै थिए। तिनले राजनीतिमा प्रवेश गर्ने निर्णय गरेकै दिन कांग्रेसजनले तिनलाई त झन् सुनकै थालीमा नेतृत्व गर्ने अभिभारा सुम्पेका हुन्।
केही दिनअघि प्रकाशमान सिंहले आफू किन पार्टी सभापति हुन ‘योग्य छु’ भन्ने प्रमाणहरू सार्वजनिक गरे। तिनले प्रस्तुत गरेका आफ्ना दक्षताका फेहरिस्तहरूमा आफैंले आर्जेको छवि न्यून तर पार्टीले उपलब्ध गराएका अवसरहरू अत्यधिक भएको प्रस्ट हुन्छ। त्यो ‘लिस्ट’ मा कतै पनि उनले पार्टीलाई पुर्याएको योगदान उल्लेख छैनन्। त्यसो त तिनै नेतापुत्रहरूको झन्डै तीन दशक लामो क्रियाशील राजनीतिक जीवनमा अझै पनि फलानो ‘नेतापुत्र’ विश्लेषण तिनका नामअगाडि रहनुले उनीहरूले अझैसम्म पार्टीमा आफ्नो पहिचान स्थापना गर्न नसकेका स्पष्ट तुल्याउँछ।
तीन दशक लामो राजनीतिक जीवनमा आफ्नो पौरखले पार्टीभित्र सुरक्षित स्थान निर्माण नसक्नु भनेको पाएको सुवर्ण अवसरको सदुपयोग गर्न असफल भएको प्रमाणित गर्नु हो। उनीहरूले आत्मासात गर्नुपर्ने प्रश्न भनेको जसले जीवनको सबैभन्दा उत्पादनशील कालखण्डमा र पार्टीको हैसियत वा ओजन गह्र्रुँगो भएको अवस्थामा पार्टीलाई कुनै योगदान पुर्याउन सकेनन्, उसले अति कठिन अवस्थाबाट गुज्रेको पार्टीलाई आफ्नो ढल्किँदै गरेको उमेरमा केकस्तो योगदान दिन सक्ला र पार्टीले नवजीवन पाउन सक्ला भन्ने हो।
तंग्राउने चाहना भए
अबको आवश्यकता भनेको कांग्रेस नेताहरू र खासगरी जिम्मेवार नेतापुत्रहरूले विगतमा जसरी बीपी, जीपी र महेन्द्र निधिले व्यक्तिगत महत्वाकांक्षा र सत्तामोह त्यागेर लोकतन्त्र र देशको समृद्धिका निमित्त समर्पित भएर पार्टी निर्माण गरेका थिए, त्यही ‘मोडल’ को अनुकरण गर्ने हो। पार्टीलाई निस्वार्थ माया गर्नेहरू एकै ठाउँमा बसेर सहकार्य गर्ने यो समय हो।
आफ्नो महत्वाकांक्षा त्यागेर भए पनि सही नेतृत्वको पहिचान गरेर आफूभन्दा योग्य जुझारु भाइ नेता वा नेताहरूलाई नेतृत्वमा चयन गराएर पार्टीलाई पुनर्जीवन दिएर मुलुकलाई गन्तव्यतर्फ अग्रसर तुल्याउने घडी हो यो। यस प्रयासमा उनीहरूले आफ्नो नेतृत्व गर्ने अभिलाषा थाँती राख्नैपर्छ, अन्यथा उनीहरूमध्ये जोकोही एक पार्टी सभापति त बन्लान्, तर पार्टीको हविगत फेरिनेवाला छैन। त्यस अवस्थामा जनमत कांग्रेसको विकल्पको खोजमा जुट्नेछ। अनि एकपछि अर्को गरेर आज देखा परेका जुझारु माधवी युवा कांग्रेस नेताहरू पार्टी त्याग्दै सम्भावित वैकल्पिक पार्टी निर्माणतर्फ लाग्नेछन्। त्यतिबेला वर्तमान नेतृत्वसँगै नेता पुत्रहरू पनि सती जानुको अर्को विकल्प हुने छैन।
प्रतिक्रिया दिनुहोस !