तानसेनमा विजय उत्सव
तानसेन : नेपालले ब्रिटिस सेनालाई युद्धमा पराजित गरेको खुसियालीमा तानसेनमा २ सयौं विजय उत्सव मनाइएको छ। जसलाई भगवती जात्राका रूपमा मनाउने गरिन्छ। विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको युद्धमा नेपालले बुटवलको जितगढीमा अंग्रेजलाई पराजित गरेको थियो। सोही दिनलाई उत्सवका रूपमा मनाउन थालेको दुई सय वर्ष पुगेको हो।
तत्कालीन प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा दुई पटकसम्म अंगेजसँग भएको युद्धमा नेपालले जित हासिल गरेको थियो। युद्धमा ब्रिटिस सेनालाई हराएको सम्झनामा विस १८७६ देखि निरन्तर रूपमा प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउने परम्परा चल्दै आएको छ। उत्सवमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र सिंह थापा, प्रदेश ५ सभामुख पूर्णबहादुर घर्ती र वन, वातावरण पर्यटन तथा संस्कृति मन्त्री लीला गिरीलगायतको सहभागिता थियो। १९ बर्से कर्णेल उजिर सिंह थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि विजयी भएमा प्रत्येक वर्ष भगवतीको रथजात्रा गरी भगवतीको महिमा चारैतिर फैलाउने भनी भाकल गरेका थिए।
यो विजय उत्सव प्रत्येक भाद्र कृष्ण पक्षको नवमीको दिन मनाउने परम्परा छ। आधुनिक हातहतियारसहित तालिमप्राप्त ब्रिटिस सेनासँग घरेलु हातहतियारको आधारमा कूटनीतिक तरिकाले तत्कालीन नेपाली सेनाले युद्ध जितेको थियो।
बुटवल जितगढी युद्ध नेपालको राष्ट्रियता स्वाधीनता र सार्वभौमिकतासँग गासिएकाले राष्ट्रियस्तरमै यस पर्वलाई मनाउनुपर्ने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए। स्थानीय रूपमा विजयउत्सवलाई भव्यताका साथ मनाइए पनि यसलाई राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने स्थानीय टंक भट्टराईले बताए।
युद्धमा नेपाली सेनाले बहादुरीका साथ अंग्रेजलाई पराजित गरेकोले पाल्पाली जनताको साथमा नेपाली सेना, जिल्लाका सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले हर्षोल्लासका साथ यो उत्सव मनाएका छन्। विजय उत्सवलाई तानसेन बजारको मुख्य चोक र टोल टोलमा घुमाउने प्रचलन छ। विजय उत्सव हेर्न पाल्पाका ग्रामीण भेगका साथै काठमाडौं गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्कीगायत क्षेत्रबाट पुग्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !