इतिहासका पानामा बा खोज्दै
यसको किताब पल्टाउँछु, त्यही लेखिएको छ। उसको किताब पल्टाउँछु, त्यहाँ पनि त्यही लेखिएको छ। इतिहास, संस्मरण, जीवनी, दस्ताबेज संग्रह जे हेर्छु, जता खोज्छु; उही विवरण मात्र लेखिएको छ। म नयाँ कुरा केही भेटिन्छ कि भनी खोज्दै छु। तर अहँ ! जे गरे नि भेटिएकै होइन। बजार डुल्दैछु, पुस्तकालय चहार्दै छु, मानिसहरू भेट्दै छु तर नयाँ कुरोको चुरो भेटिएन। भेटिन्छन् त केवल उही कुरा, ‘बा (निरञ्जनगोविन्द वैद्य) ले पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीसँग मिलेर २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए। र, उनी भोटाहिटीमा चिनियाँ पत्रपत्रिकाको पसल चलाएर बसेका थिए।’ नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा बाको भूमिका यति हो त ? यो प्रश्नले निकै दिनदेखि मलाई सताइरहेको छ।
निरञ्जन गोविन्द वैद्य, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य, नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासका पानाहरूमा विरलै भेटिने पात्र भएका छन्। उनका समकालीन नेता अधिकांश बितिसकेका छन्। दोस्रो पुस्ता र वर्तमान पुस्ताका वाम कार्यकर्ता उनलाई राम्रैसँग चिन्छन्। उनको योगदानप्रति नतमस्तक हुन्छन्, तर उनको योगदान के हो भनेर सोध्ने हो भने भन्न सक्ने कोही छैनन्। माथि उल्लिखित दुई बुँदामा सीमित भएको छ उनको योगदान।
बा भन्थे, ‘मैले रौतहटमा किसान आन्दोलनको अगुवाइ गरेको थिएँ। मजदुर आन्दोलनमा अहम् भूमिका खेलेको थिएँ। राणाविरोधी गीत गाउँदै, नाटक देखाउँदै पाटनका गल्लीगल्ली, डबली–डबली मञ्च तताएको थिएँ। वीरगन्जमा सत्याग्रह गरेको थिएँ। बनारसको रेलवे प्लेटफर्ममा लक्ष्मीप्रसाद देवकोटाको कवितासंग्रह पहाडी पुकार बेच्दै गुजारा गरेको थिएँ। सुदूरपूर्व ताप्लेजुङदेखि सुदूरपश्चिम दार्चुलासम्म चहारेर कम्युनिस्ट हुनुका फाइदाबारे प्रचारप्रसार गरेको थिएँ।’
पञ्चायती राजमा खुलमखुला कम्युनिस्ट सिद्धान्तको प्रचार राज्यद्रोह थियो। चिनियाँ पत्रिका बहाना थियो। चिनियाँ साहित्य ढाल थियो। असली उद्देश्य थियो— कम्युनिस्ट आन्दोलनको आगोमा गाउँगाउँमा घिउ थप्दै हिँड्नु। कम्युनिस्ट शिक्षालाई देशको कुनाकुनासम्म फैलाउनु। उनी गुरुबिनाको शिष्य एकलव्यजस्तो पार्टीबिनाको कार्यकर्ता बनेर गाउँगाउँ डुल्दै थिए। उनी जहाँ पुग्थे, कम्युनिस्ट हुन्थे र कम्युनिस्ट हुन प्रेरित गर्थे।
भारतीय वरिष्ठ पत्रकार आनन्दस्वरूप वर्मासँगको भेटमा उनले भनेका थिए, ‘तिम्रो बुवाको योगदान नेपाली कम्युनिस्ट आन्दोलनमा मात्र होइन, भारतीय कम्युनिस्ट आन्दोलनमा पनि उत्तिकै सराहनीय छ।’
बाले यी सब काम भ्याइसक्दा म सानै थिएँ। म बुझ्ने र थाहा पाउने हुँदा बालाई सधैं पसलमै देख्थें। उनको दैनिकी थियो, ‘बिहान पसल खोल्नु। बेलुकी बन्द गरेर घर फिर्नु।’ बासँग सुत्न हामी तँछाडमछाड गथ्र्यौं। सुत्नुअघि बाको ढाडमा कुल्चिनुपर्थ्यो। अलिक निहुरिएर हिँड्ने भएर होला, बाको ढाड सधैं दुख्थ्यो। बा बेलाबेला हराउँथे। कहिले हप्तौं, कहिले महिनौं। पसलमा हामी ससाना बालबालिकालाई च्यापेर बस्थिन् आमा। भोटाहिटीको सडक हाम्रा लागि खेलमैदान थियो। हराएका बा कहिले पटनामा भेटिन्थे, कहिले दिल्लीमा, कहिले लखनउमा। किन ? यो मैले कहिल्यै बुझिनँ। न सोध्ने हिम्मत नै गरें। बा कम बोल्ने स्वभावका थिए। बाको नबोल्ने स्वभावले आमा सधैं चिढिनुहुन्थ्यो। हामीलाई भने आमाको चिड्चिडाहट र बाको मौन स्वभावको बानी परिसकेको थियो।
बुद्धिचाल बाको मनपर्ने खेल थियो। चेस बोर्ड र गोटीहरू भेटेपछि बालाई घन्टौं बितेको पत्तै हुँदैनथ्यो। चेस बालाई जति प्रिय थियो, त्यति नै घृणित थियो आमाका लागि। चेस पारिवारिक कलहको बीउ हुन्थ्यो बेलाबेला। पसलको एउटा कुनामा चेस बोर्डमा झुम्मिनेहरूको स्थायी लिस्ट नै थियो। धेरैजसो भेटिन्थे, रेड कम्युनिस्ट गंगालाल र घरबेटी कृष्णराम। अरू पनि हुन्थे। जीवनको अन्तिम क्षणसम्म पनि चेस बाको साथी बनिरह्यो। हरिभक्त शर्मा नामका एक युवा बासँग चेस खेल्न हुरुक्कै हुन्थे। शर्मा बेलाबेला बालाई च्यालेन्ज गर्न आइरहन्थे, तर सधैंजसो हार्थे। बा पाए साथी खोजेर खेल्थे नत्र एक्लै चाल्थे दुवैतर्फको चाल। चेसका दुवै चाल आफैं चाल्ने मानिस सधैं आफ्नै चालमा उल्झिरहन्छ भन्ने मैले कतै सुनेको थिएँ। यो भनाइ बासँग कति लागू हुन्थ्यो मलाई थाहा छैन, तर उनलाई जस्तो चेस मलाई कहिल्यै खेल्न आएन। चेसमा उनलाई हराउन निकै मुस्किल ठान्थे साथीहरू।
बा अंग्रेजीको एउटा उखान सधैं सुनाउँथे, कहिल्यै पनि ‘ज्याक अफ अल मास्टर अफ नन’ नबन्नू। जे गर्नु दत्तचित्त भएर गर्नू, अनि मात्रै सफलता प्राप्त हुन्छ। मेरो त थाहा छैन तर बाले यो भनाइलाई दृढ भएर पालना गरे। पार्टीमा रहे पनि नरहे पनि उनी कम्युनिस्ट राजनीतिसँग सधैं सँगै थिए। कम्युनिस्ट सिद्धान्तको प्रचार–प्रसारमा उनी जीवनभर अथक् रूपमा लागिरहे। माओका संकलित रचनाका चारै भाग नेपालीमा अनुवाद गराएर छपाउनु उनको जीवनको ठूलो लक्ष्य थियो। आफ्नो जीवनकालमा उनले त्यो गरिछोडे। वामपन्थी सिद्धान्त र साहित्यभन्दा बाहिरका पुस्तक प्रचारप्रसारमा कहिल्यै इच्छा देखाएनन् बाले। ग्राहकभन्दा गुप्तचर धेरै छिर्ने गर्थे पसलमा त्यो समय। को–को आउँछन् के–के कुरा गर्छन् चियो गर्न। बा यस मामिलामा निकै सतर्क थिए। त्यसैले भूमिगत नाम, भूमिगत पहिचानका साथ आउने नेताहरूलाई सामान्य शिष्टाचार मात्र गरेर फर्काउनु बाध्यता थियो।
समय बदलिएको छ। देश संघीय राज्यमा रूपान्तरण भएको छ। वामपन्थी बहुमतको सरकार छ। सरकारमा बसेका मन्त्री र नेताहरूको अनुहार हेर्छु, सबै परिचित अनुहार छन्। हिजो वैद्य दाइ भन्दै घरमा आउने दाइहरू त हुन् सबै, तर खोइ त कसैले सम्झेका ? सोधखोज गरेका ?
केहीअघि भारतीय वरिष्ठ पत्रकार आनन्दस्वरूप वर्मासँगको भेटमा उनले भनेका थिए, ‘तिम्रो बुवाको योगदान नेपाली कम्युनिस्ट आन्दोलनमा मात्र होइन, भारतीय कम्युनिस्ट आन्दोलनमा पनि उत्तिकै सराहनीय छ।’ उनका कुराले मेरो शिर श्रद्धाले निहुरियो, छाती गर्वले फुल्यो। तर प्रश्न अझै बाँकी नै रह्यो, के हुन् त ती योगदान ? यो खोज्न सक्नु नै बाप्रतिको असली श्रद्धाञ्जलि हुनेछ।