बुवा मेरो प्रिय साथी
प्रिय बुवा स्टे हेल्दी, स्टे ह्याप्पी।
बुवा मेरा लागि संसार हुनुहुन्छ। यो संसारमा मलाई जन्म दिने सृष्टिकर्ता, हुर्काउने अभिभावक, पहिलो ज्ञान दिने शिक्षक हुनुहुन्छ। त्योभन्दा महत्वपूर्ण उहाँ मेरो एकदमै प्रिय साथी हुनुहुन्छ।
म दुःख र सुखका सबै भोगाइ सबैभन्दा पहिले बुवासँगै बाँड्ने गर्छु। बुवा अहिले ६७/६८ वर्ष पुगिसक्नुभएको छ। उहाँले पनि यो उमेरसम्म हामीसँग साथीकै व्यवहार गर्नुभएको छ। सायद उहाँ मैले जीवनमा पाएको अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण उपहार हो। बुवाको रूपमा पाएको अहिलेसम्मकै सबै भन्दा मिल्ने साथी हो, जसले मेरो दुःख र सुख मात्रै हैन, मेरो भावना, इच्छा, चाहना बुझ्नुभएको छ।
बुवासँग जीवनका महत्वपूर्ण क्षण बिताएको छु। अविस्मरणीय क्षणहरू बिताएको छु। त्यो क्रम अहिले पनि जारी छ। अझै पनि बुवासँग त्यस्तै रमाइला पलहरू बिताउने प्रयास गरिरहेको हुन्छु।
बुवाले घरका लागि मात्रै हैन, देशकै लागि निकै संघर्ष गर्नुभएको छ। उहाँ मेरा लागि संघर्षको प्रतीक हुनुहुन्छ। मध्यमवर्गीय परिवारका आठजना दाजुभाइमध्ये सिनियर हुँदा घर चलाउन गर्नुपर्ने मेहनत मात्रै हैन, देशलाई म्याराथनको माध्यमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाउन पनि उहाँले निकै मेहनत गर्नुभएको छ।
बुवाको त्यही मेहनतको प्रतिफल हो, दक्षिण एसियाली म्याराथनमा उहाँले कायम गर्नुभएको कीर्तिमान अझैसम्म कुनै खेलाडीले तोड्न सकेका छैनन्। उहाँले दक्षिण एसियाली खेलकुद प्रतियोगिताको म्याराथनमा तीन स्वर्ण पदक जित्नुभएको छ। एसियन खेलकुददेखि ओलम्पिक खेलकुदमा समेत नेपालको प्रतिनिधित्व गर्नुभएको छ।
पारिवारिक समस्या र अभावलाई थाती राखेर उहाँले निरन्तर देशका लागि मेहनत गर्नुभयो। उहाँबाट मैले धेरै सिकेको छु। त्यसमध्ये महत्वपूर्ण सिकाइ जीवनमा केही बन्न संघर्ष गर्नुपर्छ भन्ने नै हो। यदि आफ्नो पूर्ण लगन र समर्पणका साथ मेहनत गर्ने हो भने सफलता अवश्य मिल्छ भन्ने सिकाइ उहाँबाट सिकेको छु। उहाँबाट सिकेको यही मन्त्रले अहिलेसम्म अघि बढ्न मद्दत पनि गरिरहेको छ।
बैकुण्ठ मानन्धरको छोराको रूपमा यो संसारमा जन्म लिनु मेरा लागि सौभाग्य हो। म जन्मनुअघि नै उहाँ स्टार खेलाडी बनिसक्नुभएको थियो। देशका लागि पदक जितिसक्नुभएको थियो। त्यसैले हामी बैकुण्ठ मानन्धरका छोरा भनेर चिनियौं। यो मेरा लागि गर्वको कुरा हो।
अब उहाँको उमेर पनि ढल्कँदै छ। त्यससँगै स्वास्थ्यमा पनि समस्या झेल्नु परिरहेको छ। कहिलेकाहीँ त्यसले केही तनाव दिने गर्छ। बुवा केही समयदेखि मुटुको समस्याको उपचार गराइरहनुभएको छ। झन्डै १५/१६ वर्षअघि उहाँलाई यो समस्या देखा परेको थियो। त्यस बेला जीवनमै पहिलोपटक धेरै डर लागेको थियो।
त्यसैले म यो तिथिमा (बुवाको मुख हेर्ने दिन) बुवाको लामो आयु र सुस्वास्थ्यको कामना गर्न चाहन्छु। बुवालाई म स्टे हेल्दी, स्टे ह्याप्पी भन्छु। जीवनमा जति समय बाँकी छ, म उहाँसँगै बसेर बिताउन चाहन्छु। त्यसै कारण सम्भावना हँदाहुँदै पनि देशबाहिर गएको छैन। साथीहरू विदेश गएर राम्रो प्रगति गरिरहेका छन्। तर, बुवासँगै रहन म विदेश गएको छैन। अर्को जुनी सम्भव छ भने म उहाँकै छोरा भएर जन्मन पाऊँ।
(बैकुन्ठ मानन्धरका छोरा सुजनसँग दीपेन्द्र गुरुङले गरेको कुराकानीमा आधारित)