ओसाकालाई पहिलो उपाधि, रेफ्रीमाथि खनिइन् सेरेना
न्युयोर्क : विवाद र तनावबीच सम्पन्न ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनको महिला एकलतर्फको उपाधि जापानी खेलाडी नाओमी ओसाकाले जितेकी छन् । उनले आइतबार बिहान खेलिएको फाइनलमा प्रभावशाली अमेरिकी प्रतिद्वन्द्वी सेरेना विलियम्सलाई ६—२, ६—४ को सोझो सेटमा हराउँदै उपाधि चुमेकी हुन् । ओसाका कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको एकल उपाधि जित्ने पहिलो जापानी खेलाडी हुन् ।
खेलका क्रममा २४औं ग्रान्डस्लाम उपाधिको जित्ने योजनामा रहेकी सेरेना चियर अम्पायर कार्लोस रामोसबीच चर्को विवाद भएको थियो । सेरेनाले अम्पायर रामोसलाई चोर र ठगको आरोपसमेत ल्याउन भ्याइन् । सेरेना र अम्पायरबीचको विवादका कारण पटकपटक खेल स्थगित भएको थियो । दोस्रो सेटको खेल चलिरहँदा प्रशिक्षकले बाहिरबाट खेल्न सिकाएको आरोपमा चियर अम्पायर रामोसले सेरेनालाई चेतावनी दिएका थिए । यूएस ओपनमा खेल चलिरहँदा प्रशिक्षकले आफ्ना खेलाडीलाई बाहिरबाट कुनै पनि निर्देशन दिन पाउँदैनन् ।
तर, २३ पटककी ग्रान्डस्लाम च्याम्पियन सेरेनाले तत्काले आरोपको खण्डन गर्दै प्रशिक्षकले बाहिरबाट आफूलाई कुनै संकेत नगरेको दाबी गरेकी थिइन् । उनले ठगी गरेर खेल जित्ने विषयमा आफूले कहिल्यै नसोचेको प्रतिक्रिया पनि दिइन् । ‘ठगी गरेर खेल जित्ने विषय मेरो कल्पनाभन्दा पनि बाहिरको कुरा हो । कोर्ट बाहिरबाट मलाई प्रशिक्षकले कुनै संकेत पनि गरेका थिएनन् । चिरय अम्पायर रामोले ममाथि अनावश्यक आरोप लगाएका हुन्’, उनले भनिन् ।
त्यसपछि आक्रोशित बनेकी सेरेनाले खेलका क्रममा आफ्नो ¥याकेट भुइँमा बजारेर भाँचेकी थिइन् । आक्रोशित भएर ¥याकेट भाँचेपछि अम्पायरले सेरेनालाई दोस्रो पटक चेतावनी दिएका थिए । सोही विषयलाई लिएर सेरेना र अम्पायरबीच पुनः विवाद सुरु हुन पुग्यो । दोस्रो पटक चेतावनी पाएपछि सेरेनाले अम्पायरलाई चोर र ठग भनेर गाली गरेकी थिइन् । सोही कारणले अम्पायरले सेरेनाको एक अंक घटाउने निर्णय गरेका थिए ।
सेरेनाले भने आफू महिला भएका कारणले अम्पायरले भेदभाव गरी अंक घटाएको आरोप लगाएकी छन् । उनले यसअघि धेरै प्रतियोगितामा पुरुष खेलाडीले अम्पायरलाई गाली गरे पनि उनीहरूको अंक नघटाइएको दाबी गरेकी छन् । ‘यसअघि पनि पुरुष खेलाडीले धेरै पटक अम्पायरसँग विवाद गरेका थिए तर, उनीहरूको अंक कहिल्यै घटाइएन । अहिले म महिला भएका कारण अम्पायरले विभेद गर्दै अंक घटाउने निर्णय लिएका हुन्’, उनले भनिन् ।
फाइनल खेल्ने दुवै खेलाडी ओसाका र सेरेना पुरस्कार वितरण समारोहमा आँसु खसाल्दै सहभागी बनेका थिए । ग्रान्डस्लाम प्रतियोगिताको एकल उपाधि जित्ने पहिलो जापानी खेलाडी बनेकोमा ओसाकाले हर्षको आँसु खसालेकी हुन् भने अनुभवी खेलाडी सेरेना अम्पायरले आफूमाथि अन्याय गरेको आरोप लगाउँदै रोएकी हुन् । ‘मेरा लागि यो निकै महŒवपूर्ण क्षण हो, यो खुसीलाई व्यक्त गर्न मैले उपयुक्त शब्द नै पाइरहेकी छैन’, उपाधि हात पारेपछि २० वर्षीया आसोकाले भनिन् ।
ओसाकाले सेरेना र अम्पायरबीचको विवादको विषयमा आफूलाई केही जानकारी नरहेको प्रतिक्रिया दिइन् । ओसाका यसअघि सन् २०१८ मा ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको चौथो चरणसम्म पुगेकी थिइन् । अन्य दुई ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपन र विम्बल्डनमा भने उनी अझसम्म तेस्रो चरणभन्दा अगाडि बढ्न सकेकी छैनन् ।
सेरेनाले भने यसअघि नै ६ पटक यूएस ओपनको उपाधि जितिसकेकी छन् । उनले हालसम्म सात पटक विम्बल्डन, सात पटक अस्ट्रेलियन ओपन र तीन पटक फ्रेन्च ओपनको उपाधि पनि चुमेकी छन् । सेरेनाले पछिल्लोपटक सन् २०१७ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । यसबीचमा छोरीलाई जन्म दिएका कारण उनी लामो समय कोर्टबाहिर रहेकी थिइन् ।
‘सेरेना निकै प्रभावशाली खेलाडी हुन् । उनलाई हराउँदै ग्रान्डस्लाम प्रतियोगिताको उपाधि हात पार्नु पनि मेरा लागि ठूलो उपलब्धि हो’, ओसाकाले भनेकी छन् । सेरेना आफ्नो आदर्श खेलाडी भएको पनि ओसाकाले बताएकी छन् । सन् १९९९ मा सेरेनाले आफ्नो जीवनको पहिलो ग्रान्डस्लाम उपाधि यूएस ओपन जित्दा ओसाका भर्खर एक वर्षकी थिइन् । जापानमा जन्मिए पनि ओसाका सानैदेखि अमेरिकामै हुर्किएकी हुन् ।