जिल्लाकै अब्बल बन्यो प्रभात मावि

जिल्लाकै अब्बल बन्यो प्रभात मावि

प्यूठान : कतिपय विद्यालयले बन्द हड्तालको खबर सुन्नेबित्तिकै विद्यालय सञ्चालन गर्दैनन् । तर झिमरुक गाउँपालिका ३ आहालखोलास्थित प्रभात माविका शिक्षकलाई बन्द, हड्तालको खबर सुन्दा चिन्ता हुन्छ । उनीहरू सकभर विद्यालय बन्द गर्ने पक्षमा उभिँदैनन् । एकदिन पनि विद्यालय नखुल्दा पठनपाठनमा धेरै असर पर्ने उनीहरूको अनुभव छ । विद्यालयको सामान्य पक्षलाई समेत ख्याल नगर्दा धेरैजसो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कने गरेको छ ।

शिक्षकहरूले ‘सुत्केरी स्याहार’ विदा लिएर घरमा बस्दैनन् । उनीहरूलाई घरकै भन्दा धेरै पिरलो विद्यालय परिवारकै हुने गर्छ । ‘१५ दिन विद्यालयले सुत्केरी विदा दिएको थियो’, शिक्षक सिद्धिमान खड्काले भने, ‘तर मलाई बस्न मन लागेन ।’ घर परिवारलाई श्रीमतीको हेरचाह गर्न लगाएर आफू निरन्तर विद्यालय हाजिर हुने गरेको उनले सुनाए । शिक्षकहरू आफूले पाउने वार्षिक विदा फ्रिज गरेरै पढाउने गर्छन् ।

त्रैमासिक परीक्षामा विद्यार्थीहरूले लिएको प्राप्तांकको आधारमा विद्यालयले रोल नम्बर कायम गर्ने गर्छ । यसले विद्यार्थीमा थप मेहनत गरेर पढ्ने बानीको विकास गराएको छ । विद्यार्थी अनुपस्थित प्रायः शून्यजस्तै छ । ‘कारणवश विद्यार्थी स्कुल नआए घरमा फोन गरिहाल्छौं’, प्रधानाध्यापक खोड्सबहादुर केसीले भने, ‘सबै अभिभावकको फोन नम्बर राखेका छौं ।’ वार्षिक परीक्षा नजिक हुँदा घरघरमै पुगेर शिक्षकहरूले विद्यार्थीको अवस्था बुझ्ने गर्छन् । घर पुगेपछि विद्यार्थीले गर्ने क्रियाकलाप, सुत्ने कोठामा शैक्षिक सामग्रीको व्यवस्थापन र शारीरीक अवस्थाको विषयमा बुझ्ने गरिएको छ ।

‘सबै कुरा बुझेर अभिभावकलाई सुझाव दिन्छौं’, केसी भन्छन्, ‘सबैको साथले विद्यालयलाई राम्रो बनाउन सकिएको छ ।’ विद्यार्थीलाई पढ्ने वातावरण घरबाटै हुनुपर्ने उनको बुझाइ छ । विद्यालयले मोवाइल फोन निषेधलाई पूर्णरूपमा कार्यान्वयन गराएको छ । शिक्षक, अभिभावक, व्यवस्थापन समिति र विद्यार्थीकै लगनशीलताले विद्यालयले सयौंको भीडमा जिल्लामा आफ्नो अलग पहिचान कायम गराइरहेको छ ।

आहालखोला, स्याउला, बेहोरे, दारीमचौर, कैरलपाटा, आप्रेखोला, रोटेपानी, हल्दै, लामासेरा र ढाँडका विद्यार्थी पढ्न प्रभातमै आउँछन् । तुषारा, लिवाङ, नारीकोट लगायत टाढाका गाउँबाट पनि विद्यार्थी भर्ना हुन आएका छन् तर आवास नहुँदा व्यवस्थापन गर्न समस्या परेको छ । तुषारा खोलापारीको गाउँ भएकाले वर्षाको समयमा समस्या पर्ने हुँदा भर्ना गराउन असक्षम भएको उनको भनाइ छ । एसईई परीक्षाको नजिकै एक महिना होस्टेल सञ्चालन गर्ने गरिएको उनले बताए । अति विपन्न १२ जना दलित विद्यार्थीलाई विद्यालयले निःशुल्क पढाइरहेको छ । हाल चार सय ३१ जना विद्यार्थी अध्ययनरत छन् ।

‘प्रभात मावि जिल्लामा नमूना विद्यालयमा पर्छ’, शिक्षा विकास तथा सम्वन्य इकाइ प्यूठानका विद्यालय निरीक्षक दुर्गा खड्काले भने, ‘अरू विद्यालय पुगेर सिक्ने थलो बनेको छ ।’ विद्यालय व्यवस्थापन समितिको अनुगमनको पक्ष, शिक्षकको निरन्तर खटाइ र विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना भएकाले उत्कृष्टको सूचीमा परेको उनले बताए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.