सार्वजनिक भएन बाघको संख्या
गुलरिया : नेपालमा बाघ अनुगमन भए पनि तथ्यांक सार्वजनिक नहुँदा संख्या यकिन हुन सकेको छैन । बाघ दिवसको अवसरमा हरेक वर्ष निकुञ्ज विभागको स्विकृतिमा सार्वजनिक गरिने बाघ अनुगमनको तथ्यांक यसबर्ष तोकिएको समयमा सार्वजनिक हुन नसकेको हो । क्यामेरा ट्र्यापिङ प्रविधिबाट गरिएको अनुगमनका डाटाको विस्तृत अध्ययन गर्ने काम पूरा नभएकाले तथ्यांक आउन ढिला भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।
बर्दिया—बाँके कम्प्लेक्समा १६ डिसेम्वर २०१७ देखि ६६ दिनसम्म बाघ अनुगमन गरिएको थियो । ‘तिन व्लकमा विभाजन गरी बाँके बर्दियामा क्यामेरा जडान गरेका थिए’, भण्डारीले भने, ‘करिव ७ सय २८ ग्रीडमध्ये ६ सय २४ ग्रीडमा क्यामेरा जडान गरी बाघ अनुगमन गरिएको हो ।’ भण्डारीका अनुसार निर्धारित ग्रिडमा २ सय जोडी अटोमेटिक क्यामरा जडान गरिएका थिए । तीमध्ये २० वटा क्यामेरा हराएको, ९ वटा ड्यामेज भएको र ८ वटा बिग्रिएका छन् ।
अनुगमनमा २ सय २७ जना प्राविधिक खटिएका थिए । बाँके बर्दिया कम्प्लेक्समा बाघको संख्या बढ्ने अनुमान निकुञ्जको छ । बाघको बासस्थान, आहाराजन्य प्रजाती प्रशस्त भएकाले बाघको संख्या बढ्ने निकुञ्जले अनुमान गरेको हो । ‘मन्थली मोनिटरिङ स्मार्ट पर्टोलिङ्गको रिपोर्टलगायत पर्यटकले नियमीत बाघ देखेको आधारमा बाघको संख्या वढेको हुनसक्छ’, उनले भने । केही दिनभित्र बाघ अनुगमनको नतिजा आउने उनको भनाइ छ ।
स्वचालित क्यामेरा अगाडी पाटेबाघ ।
विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका संघ संस्थाको सहयोगमा निकुञ्ज विभागले बाघ संरक्षण गर्दै आएको छ । सन् २०१३ र २०१६ मा गरिएको सर्वेषणमा बाघकोे संख्या बढेको थियो । ‘नेपाली सेना, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका साथै स्थानीयको सक्रिया सहभागीताले चोरी शिकार नियन्त्रण भएकाले बाघ संरक्षणमा सघाउ पुगेको हो’, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत श्याम थापाले भने, ‘बर्दिया बाघका लागि उपयुक्त बासस्थान बनेको छ ।’
निकुञ्जले वासस्थान ब्यवस्थापनमा सक्रियता बढाएकाले बाघको आहारा जन्य प्रजातीमा बृद्धि भएको छ । घाँसेमैदान, पानीको ब्यवस्थाले निकुञ्ज भित्र सुरक्षाका कारण बाघलगायत बन्यजन्तु संरक्षित छन् ।