मनोज पुनका तीन सहयोगी तारेखमा रिहा
बुटवल : चर्चित गुण्डा नाइके मनोज पुनलाई अपराधमा सघाएको आरोपमा पक्राउ परेका तीनजना तारेखमा छुटेका छन्।
जिल्ला प्रहरी कार्यालयले रुपन्देहीले मनोज पुनलाई अपराध गर्न उस्काउने, फिरौती संकलन गर्ने लगायतका अपराधमा सघाएको आरोपमा तीनजना पक्राउ परेका थिए।
तुल्सीपुर उच्च अदालत बुटवल इजलासले बिहीबार अभियुक्त लेखनाथ न्यौपाने, तुल्सी न्यौपाने र हरि श्रेष्ठलाई तारखेमा छाडेको हो।
एक नम्बर इजलासमा भएको बहसपछि मुख्य न्यायाधीश कुमार पोखरेल र न्यायाधीश कृष्णकमल अधिकारीको संयुक्त इजालासले उनीहरुलाई छाड्ने निर्णय गरेको हो।
अदालतमा अभियुक्तको तर्फबाट वरिष्ठ अधिवक्ता कमल जोशी, पूर्वमुख्य न्याधिवक्ता मुक्ति प्रधान, अधिवक्ता लिलाधर मरासिनी, शिव गौडेललगायतले बहस गरेका थिए।
रुपन्देहीका दुई व्यवसायीको हत्या गर्ने मनोज पुन र उनका सहयोगी सोम आलेलाई भने प्रहरीले इन्काटरमा मारेको थियो। त्यसलगत्तै उनलाई सहयोग गरेको अभियोगमा तत्कालीन माओवादी नेता न्यौपाने, व्यवसायी श्रेष्ठ, तत्कालीन युवा संघका नेता सुजु मल्ललगायतलाई पक्राउ गरेको थियो।