मर्मत भएन ‘ज्यानमारा पुल’

मर्मत भएन ‘ज्यानमारा पुल’

धादिङ : नौविसे मुग्लिन सडकखण्डअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दीखोलामा एउटा पक्की पुल छ। जसलाई हुग्दीखोला आसपासका स्थानीयले ‘ज्यानमारा पुल’को संज्ञा दिएका छन्। कारण, हुग्दीखोलाका स्थानीयको आँखैअगाडि उक्त पुलबाट खसेर दर्जनौं यात्रुले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो पटक गत जेठ ९ गते ना५ख १५६८ नंको ट्रक पुलको बार भत्काउँदै हुग्दीखोलामा खसेको थियो। दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए। भत्किएको पुलको बार अझै मर्मत भएको छैन। एक वर्षको अवधिमा मात्रै ६ वटा सवारीसाधन उक्त पुलबाटै खसेका छन् भने पुलवारि र पारि गरी तीन वटा दुर्घटना सवारीसाधन आपसमा ठोक्किर भएका छन्।

४० वर्षअघिको सवारीसाधनको क्षमताअनुसार बनाइएको पुलले अहिलेको गाडीको लोड धान्न नसकेको हो ।

हुग्दीखोला पुल छेवैमा व्यवसाय गरी बसेका विश्वदीप डल्लाकोटीले भने, ‘हामीले खाँदा खाँदैको भात छाडेर खसेको गाडीमा च्यापिएका यात्रुहरूको उद्धार गर्न गएका छौं। आँखै अगाडि देख्दा देख्दै भीरबाट ढुंगा गुल्टिएजसरी गाडी खसेको पनि देखेका छौँ ।’

४० वर्षअघिका सवारीसाधनहरूको चापअनुसार निर्माण गरिएको यो सडक र पुलमा अहिले दैनिक सात हजारभन्दा बढी गाडी ओहोरदोहोर हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको तथ्यांकमा छ। विगतको तुलनामा गाडीको चाप बढ्दै गएकाले पनि सवारी दुर्घटना बढेको प्रहरी बताउँछ ।

सवारीसाधनको सुरक्षाका लागि पुलमा राखिएको बारले मोटरसाइकलसमेत नजोगाउने अर्का स्थानीय शरण पुरी बताउँछन्। एक पटक सवारीसाधनले पुलको बार भत्काएपछि पुनः सडक विभागले उस्तै प्रकृतिको बार बनाएको र त्यसले पनि दुर्घटना हुनबाट जोगाउन सकेको छैन। उक्त पुलको बार बनाउन सडक विभागले चासो नदेखाउँदा दुर्घटनाको जोखिम झनै बढेको छ। स्थानीय विश्वदीपले भने, ‘पुलबाट पटकपटक सवारीसाधन खस्न थालेपछि धेरैथरीका इन्जिनियरहरू यहीँ आएर हेरेर पनि गए, तर पुलको मुखैमा रहेको ओरालो सडक र साँघुरो घुम्ती सुधार गर्न र पुलबाट सवारीसाधन नखस्ने गरी बलियो बार लगाउन कसैले प्रयासै गरेका छैनन् ।’

स्थानीयका अनुसार हुग्दीखोला पुलबाट अहिलेसम्म ६ वटा यात्रुबाहक बस र सयभन्दा बढी ट्रक तथा साना मालबाहक जिप खसेको छ। दुर्घटनामा धेरैले ज्यान गुमाएका छन् भने दुर्घटनामा परी घाइते भएकाहरूको संख्याको लेखाजोखा छैन ।

काठमाडौंबाट मुग्लिनतर्फ जाने बाटोमा पुलको मुखैमा साँघुरो घुम्ती हुनु नै दुर्घटनाको मुख्य कारण भएको स्थानीय सन्तोष धरेलले बताए। उनले भने, ‘पुलको मुग्लिन साइडतर्फ सीधा रोड छ, पुलको मुखैमा घुम्ती छ, त्यताबाट तीव्र गतीमा सवारीसाधन आइरहेका हुन्छन्। काठमाडौं साइडतर्फ पनि साँघुरो घुम्ती छ, पुलमा १४ चक्के १६ चक्के गाडी आइपुगेका बेला साँघुरो मोड भएपटिबाट गुडेका सवारी ठक्कर खाने डरले ब्रेक लगाउँदा लगाउँदै पुलबाट खसिहाल्छन् ।’

पुलको बार बलियो तरिकाले समयमै मर्मत गर्न स्थानीयले माग गरेका छन्। भर्खरै निर्माण सम्पन्न भएको मुग्लिन–नारायणगढ सडकखण्डमा परीक्षणको रूपमा राखिएका ‘केबल ब्यारिअर’ लाइ हुग्दीखोलाको पुलमा राख्न अथवा ठक्कर खाँदा पनि सवारीसाधन खोलामा नखस्ने अन्य प्रविधिको प्रयोग गर्न सडक विभागसँग स्थानीयले माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.