हेलिकोप्टर कुर्दै प्रसूति व्यथाले लिन्छ प्राण
सुर्खेत : सुत्केरी व्यथाले च्यापेपछि आफन्तले अस्पताल पुर्याए। शल्यक्रिया गरेर गर्भको बच्चा पनि निकालियो। अनेक प्रयास गर्दा पनि रक्त श्राव नरोकिएपछि डाक्टरले जतिसक्यो चाँडो बाहिर लैजान भने। आफन्तले तत्कालै हेलिकोप्टर मगाए तर हेलिकोप्टर भोलिमात्रै आयो। कालिकोटको खाँडाचक्र नगरपालिका १ की चन्द्रा शाहीको हेलिकोप्टर कुर्दाकुर्दै मृत्यु भयो।
जिल्ला अस्पताल कालिकोटका अनुसार समयमै सुविधायुक्त अस्पताल पुर्याएको भए चन्द्राको ज्यान जोगाउन सकिन्थ्यो। जिल्ला बाहिर रिफर गरिएको एक दिनपछिमात्र आफन्तले चन्द्रलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा त पुर्याए। तर अस्पतालको बेडमा राख्न नपाउँदै उनको मृत्यु भयो। यो गएको वर्ष मंसिर २६ गतेको घटना हो। केही महिना पहिले दैलेख बाँसीकी शोभा शाहीको अत्याधिक रक्त श्राव भयो।
आफन्तले हेलिकोप्टरबाट नेपालगन्ज लैजाने तयारी गरे। तर धेरै ठाउँमा हारगुहार गर्दा पनि हेलिकोप्टरको जोहो हुन सकेन। केही उपाय नलागेपछि आफन्तले गाडीबाटै सुर्खेतस्थित क्षेत्रीय अस्पतालमा पुर्रयाए। तर अस्पतालमा पुर्याउन ढिला भएका कारण चिकित्सकले उनलाई मृत घोषणा गरे।
कर्णाली प्रदेशका दुर्गम जिल्लामा गर्भवती र सुत्केरी महिलाहरूलाई समयमै अस्पताल पुर्याउन नसक्दा उनीहरूको अकालमै मृत्यु हुने गरेको छ। विकट बस्तीमा दक्ष चिकित्सक र स्वास्थ्य संस्था छैनन्। महिला असुरक्षित रूपमा घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ। जसका कारण उनीहरूको ज्यान जोखिममा पर्ने गरेको हो। भौगोलिक विकटताका कारण कर्णालीमा सुत्केरी व्यथाले च्यापेपछि तत्काल सुविधायुक्त अस्पतालसम्म पुर्याउने माध्यम भनेकै हेलिकोप्टर हो। त्यही पनि सबै नागरिकको पहुँचमा छैन। आर्थिक अवस्था बलियो हुनेहरूले हेलिकोप्टरबाट अस्पतालसम्म लैजाने आँट गरे पनि भनेको बेलामा हेलिकोप्टर नपाउँदा धेरैपटक ज्यान गुमाउनु परेको छ।
जिल्ला अस्पताल कालिकोटले गएको आर्थिक वर्षमा जिल्ला बाहिर रिफर गरेकामध्ये चार जनालाई हेलिकोप्टर चार्टर गरेर तथा एक जनालाई गाडीमार्फत नेपालगन्ज र काठमाडौंसम्म पुर्याइएको थियो। जसमध्ये एक सुत्केरीको बाटोमै मृत्यु भएको थियो। सुत्केरी व्यथाले च्यापेपछि समयमै अस्पताल पुर्याउन नसक्दा पत्नी लालकलीलाई गुमाएका जुम्ला मालिकाबोताका दल रावतले भने, ‘जिल्लामा राम्रो अस्पताल र डाक्टर छैनन्, बाहिर लैजान गाडीबाट ढिला हुन्छ। ऋण काढेर हेलिकोप्टर बोलाउँदा पनि भनेको बेलामा पाइँदैन, हेलिकोप्टर कुर्दाकुर्दै सुत्केरीको प्राण जान्छ।’
गत असारमा जाजरकोटको छेडागाड नगरपालिका १ की देवी कामीलाई सुत्केरी व्यथा लाग्यो। आफन्तले हतारहतार नेपालगन्ज लैजाने निर्णय गरे। आर्थिक अवस्था कमजोर भएपछि परिवारले चाहेर पनि हेलिकोप्टर मगाउन सकेन। अन्ततः गाउँलेले बोकेर सडकसम्म पुर्याउन नपाउँदै उनको बाटोमै मृत्यु भयो।
छेडागाड नगरपालिका १ का वडाध्यक्ष गणेशप्रसाद जैसीले भने, ‘जिल्लामा भरपर्दो स्वास्थ्य सेवा छैन, चाहेर पनि सबैले हेलिकोप्टर पाउने अवस्था छैन, अधिकांश सुत्केरी अस्पतालको उपचार नपाएरै मर्छन्।’ कर्णालीका दुर्गम गाउँमा दक्ष डाक्टर बस्न मान्दैनन्। सदरमुकाममा रहेका अस्पतालमा पनि विशेषज्ञ उपकरणहरू छैनन्। जसले गर्दा पनि सुत्केरीलाई उपचारका लागि कम्तिमा सुर्खेत वा नेपालगन्ज र काठमाडौंसम्म लैजानुपर्ने बाध्यता छ। हालसम्म सडक सञ्जाल नै नजोडिएका हुम्ला र डोल्पाको अवस्था थप जटिल छ।
सुत्केरीको उद्धार गर्न डेढ करोड
अस्पताल पुग्न नपाउँदै सुत्केरी र गर्भवतीको ज्यान जान थालेपछि प्रदेश सरकारले उनीहरूको उद्धारका लागि बजेट विनियोजन गरेको छ। एयर एम्बुलेन्स सेवामार्फत दुर्गमका सुत्केरी महिलाको उद्धारका लागि यो वर्ष एक करोड ५० लाख बजेट छुट्याइएको हो। सामाजिक मन्त्रालयले दुर्गमका सुत्केरी महिलालाई हेलिकोप्टरबाट उद्धार गरेर अस्पताल पुर्याउन चालु आर्थिक वर्षका लागि एक करोड रकम छुट्याएको छ। थप ५० लाख बजेट केन्द्र सरकारबाट प्राप्त भएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए।
प्रदेश सरकारले हेलिकोप्टरबाट सुत्केरीको उद्धार गर्ने योजना अघि सारे पनि त्यो पहुँचवालाका लागि मात्र भएको सर्वसाधारणको गुनासो छ। पहुँच नभएका र कमजोर वर्गले यो सेवाबाट लाभ लिन भने सकेका छैनन्। एक पटकमा हेलिकोप्टर चार्टर गर्दा ६ लाखसम्म खर्च लाग्ने गरेको छ।