म रातो बाकस
केही सिपालु श्रमिकद्वारा टुक्राटुक्रा जोडिएर
पूर्ण हुँदै गएको छु म रातो बाकस
जब पूर्ण हुनेछु
मभित्र बन्द हुनेछ एउटा निष्प्राण शरीर
को होला त्यो,
जो प्लास्टिकको थैलोमा बेरिएर
मभित्र बन्द हुनेछ
को होला त्यो,
जो सपनाहरूको झोला बोकेर
मरुभूमिको यात्रामा निस्किन्छ
मुट्ठीको बालुवाजस्तो
औंलाका कापबाट खसेर बगरमै बिलाई जान्छ
सायद त्यो,
आफ्नो घर र खेत
लिलामी हुने धम्कीपछि ऋण निखन्छु भनेर
बूढीआमाको सँघारमा खसेको आँसु
नाघेर आएको होला
सायद त्यो
बूढा बाबुको धमिला आँखामा
अलिकति खुसीका आँसु छल्काउँछु भन्दै
आशातीत आँखा बोकेर आएको होला
सायद त्यो,
पत्नीका रुग्ण र फिक्का ओठहरूमा
घामको लाली टिपेर पोतिदिने अभिलाषाले
पचास डिग्रीको रापिलो घाममा बिसाउन आइपुगेको होला
सायद त्यो
आफ्ना कलिला बालबच्चाको
उज्यालो भविष्य खोज्न निस्किएको जूनकीरी होला
सपनाको पटुकी बाँधेर
गगनचुम्बी महलको भित्तामा झुन्डिएर
रङ पोत्दै गर्दा
चुँडियो होला जीवनको बन्धन
र बजारियो होला धर्तीमा,
आफ्ना रहरलाई छातीमा दबाएर
ढुंगा फुटाउँदै गर्दा
ढुंगाभन्दा अघि फुट्यो होला मुटु
निदायो होला सधै्रका लागि
र नियतिको बज्र लागेर
क्षतविक्षत भएको कोही आउँदै होला मभित्र बन्द हुन
म रातो बाकस
अब मैले कसैको लास बोकेर
पुग्नु पर्नेछ कसैको आँगनसम्म
हेर्नुपर्नेछ एउटा लासको वरिपरि रोइरहेका धेरै लासहरू ।