खप्तडः एक सपना

खप्तडः एक सपना

केही जोडा महिनाहरूदेखि मन त्यसै त्यसै अनिश्चित्ताहरूमा अल्झिरहेको थियो। जीवनबाट केही महत्वपूर्ण चिजहरू हराइरहेको जस्तो लाग्थ्यो। सायद जीवनबाट छुटेका तिनै दिनहरू पो खोजिबस्थ्यो कि मेरो मनले। जो हराउनै हुन्नथ्यो जीवनबाट। आखिर के हुन सक्छ त्यस्तो महत्वको कुरा ? जसलाई खोजेर म आफै हराइरहेको छु यस्तरी। कुनै प्रिय सम्बन्ध पो हराएँ कि ? हराएँ– कुनै गोधुलीको गाढा यादहरू ? कि तलाउमा सँगै खसेका युगल अनुहारका छायाँहरू हराएँ ? थाहा छैन, सायद यस्ता अनदेख चिजहरू छुट्यो जीवनबाट, जसलाई जीवनबाटै हराउन दिन बाहेक अरु कुनै विकल्पहरू नै भएनन्। हुन त जीवनमा जीवन रहनु भन्दा अर्को महत्वपूर्ण कुरा के नै हुन सक्ला र ? तर एक सांसारिक मानिसका लागि यति तर्कले दिल बुझाउन मुस्किल हुन्छ। छुटेको दिनहरूको याद गर्नु, बाँकी दिनहरूप्रति लोभ गर्नु एक सामन्य मानिसका लागि कुनै नौलो कुरै भएन। तर म भने आफूसँगै छुटेर गएका दिनहरू सँग मात्र पो अल्झीरहेँ कि ? बितेर गएका समय सँग मात्र पो बल्झिरहेँ कि ?

दिनहरू छुटिरहेका थिए यसरी नै। रातहरू आउँदै जान्थे यसरी नै। म भने स्थिर थिएँ प्रायजसो। मेरा छेउछाउ आउँथे र जान्थे दिन रातहरू। आफन्तहरूको अनुहार आउथे र छोडिजान्थे। प्रेम, गाली र उत्प्रेरणा पनि आउथे। तर चुपचाप थिए म। तलाउ जस्तो।

एक दिन शान्त तलाउमा अमृत भादगाउँले नाम गरेको दोस्तले ढुङ्गा हाने र बिथोलिदिए। उनको प्रहार महसुस गरेपछि म त्यसै तरङ्गीत भइगएँ। खासमा अमृतको प्रस्ताब सुन्ने जो कोही उत्साहीत हुन्थे नै। देशभरिका कवि, लेखक, पत्रकार र केही पर्यटन क्षेत्रमा काम गरिरहेकाहरूलाई खप्तड क्षेत्रको यात्रामा सहभागि गराउने प्रस्ताव थियो भादगाउलेको। खप्तड नाम सुन्नसाथ मेरो मनमा खप्तड बाबाको बिचार बिज्ञान पुस्तकको सम्झना भएर आउछ। खप्तड क्षेत्रमा पचासौँ बर्ष साधना गरेर बसेका बाबाले बिचार बिज्ञान जस्तो महत्वपूर्ण पुस्तक त्यही बसेर लेखेका थिए। जीवनलाई अत्यन्तै निकटबाट अनुभव गरेर, अध्ययन गरेर, साधना गरेर लेखिएको उक्त पुस्तकले मानिस भित्रको अदृश्य सामथ्र्यहरूलाई पहिचान गर्ने काम गरेको छ। मैले खप्तड बाबाको बिचार बिज्ञान को कैयौँ प्रति साथीहरूलाई उपहार दिएको छु। आफैलाई नजीकबाट छाम्न, अनुभूत गर्न, अभ्यास गर्न बिचार बिज्ञानले महत्वपूर्ण भूमिका खेल्दछ भन्ने लाग्छ। खप्तड बाबा पछि मैले याद गर्ने अर्का प्रिय मानिस हुन्– कवि हेमन्त बिवस। बिवस बाटै मैले खप्तडको गुणगान सुनेको हुँ। उनका कविता र गीतहरूले त्यस क्षेत्रको सुगन्ध लिएर हिडेको देखेको थिएँ, पढेको थिएँ। र हेरेको थिएँ– बिशाल खप्तडको छाती माथि बसेको हेमन्तको सुन्दर तस्बीर पनि। लागेको थियो– कुनै दिन खप्तडको सौन्दर्य साक्षात्कार गर्न जरुर पुग्नेछु।

आखिर त्यो दिन पनि आयो। जेष्ठ महिनाको पहिलो हप्ताभरि हामीले खप्तडको यात्रामा निस्कनु पर्ने भयो। मित्र अमृत भादगाउले र हेमन्त बिवसले यात्रामा चाहिने बन्दोबस्तिका सामानहरूको फेहरिस्त पठाए। सरसर्ती पढ्दा करिव पाँच मिनेट लाग्ने गरिको उक्त निर्देशीका पढीसकेपछि एक मनले भन्यो– हेमन ! तँ यो यात्रामा निस्कन सक्छस् ? झरिको मौसम छ, धेरैजसो यात्रा पैदलले भ्याउनु पर्ने, हाइ अल्टीच्युडको समस्या हुन सक्ने, बास बस्नलाई असहज हुने जस्ता थुप्रै कुराहरूले जाउँ कि नजाउँको दोसाँधमा झुन्डिरह्यो मन। तर मस्त मौलान पोखरेली दोस्त, आख्यानकार गनेस पौडेलले दोसाँधमा झुन्डिरहेको मेरो मनलाई तानेर जमिनमा झारे र हिँड्न लगाए। यात्रामा निस्कनलाई आयोजक साथीहरूले भनेका बन्दोबस्तीका सामानहरू केही थिएनन् मसँग। हिँड्ने दिनको अघिल्लो साँझ मात्रै आफूलाई चाहीने केही सामानहरू लिएँ, केही पोखराबाट गनेस आफैले बोकिदिने भयो।

जेष्ठ ६ गते

अघिल्लो साँझ तयार गरेर राखेको झोली–तुम्बी बोकेर घरबाट बिहानै निस्किएँ म। इटहरी बसपार्क पुगेर काठमाण्डौको लागि छुटेको बसमा चढ्दा छ बजिसकेको थियो। बसले क्रमशः इटहरी छोड्दै गयो। एकपटक म आफू बसेको सीटबाट पछिल्तीर फर्केर हेरेँ, पूर्वको पहेँलो घामले पछिल्तीरबाट हामीलाई पछ्याइरहेको रहेछ। इटहरीबाट चितवन पुग्ने र काठमाण्डौकाबाट यात्राका लागि जोडिने साथीहरू भेट्नु छ साँझसम्म। यही बिचमा हेटौडाबाट कवि निमेश निखिल जोडिने भए पनि त्यहाँसम्मको यात्रामा आफूलाई बाहेक चिनेको अरु कोही थिएनन्। बाटामा कोही साथी बनाएर कुरा गर्न उती जाँगर चल्दैन मलाई। बरु आफै आफ्नो साथी बनेर एक हप्ते यात्राका बारेमा अनेक कुरा गरिरहेँ।

मद्यान्न बाह« बजे निमेशको शहर पुगिसकेको थियो बस। सबेरै बसपार्क आएर पर्खिरहेको रहेछ उसले। भेटेर एक ठट्टाले हिर्कायो मलाई– वालेटमा जम्मा पाँचसय रुपयाँ छ केटा, यो यात्राभरि मेरो जिम्मा तिमर्ले लिने हो। तातो चिसो, दुःख बिराम...। त्यसपछि एक झोक्का हास्यौँ दुबैजना र बस हिँड्यो।

चितवन पुग्दा दिनको करिव तीन बजिसकेको थियो। उदय अधिकारी र भूपिन थपिए चितवनबाट। तर काठमाण्डौका साथीहरूले ढिला सुस्ती गर्दा चितवनमा लामो समय बस्न पर्‍यो। नजिकै नारायणी नदीको किनारमा निक्कै साँझसम्म बसिरह्यौँ हामी। नारायणी नदी, जो सँग मेरो तिता मिठा दुई स्मृतिहरू जोडिएका छन्। आजभन्दा करिब दश बर्षअघि यही नदीको बिचमा गएर आफ्ना केही कविताहरू पढेको थिएँ मैले। साक्षी उनै थिए– भूपिन, सुरेन्द्र अस्तफल, जी शर्मा, प्रसन्न घिमिरे लगायतका साथीहरू। अक्षर समूह सँग जोडिएका यिनै साथीहरूले पछि यस्ता धेरै कविताका कार्यक्रमहरू गरे। दोस्रो सुजालाई लिएर क्यनसर हस्पीटल भरतपुर पुगेको एउटा साँझ यही नारायणी नदीको पुलमा झरीले रुझ्दै ओहोर दोहोर गरेको थिएँ। नारायणी नदीको यही पुलबाट तल बग्दै गरेको धमिले पानी हेर्दै गर्दा एउटा कविताको गर्भाधान थियो। आफै सँग सम्बन्धीत बिषय थियो त्यो। पछि होटल पुगेर त्यस रातभरि “नारायणी मेरो आँखामा” शीर्षक मा कविता लेखेको थिएँ। जुन कविता मेरो कविताकृति “पहाड मसितै यात्रा गर्छ” मा पनि समाबेस गरेको छु।

रातको सवा नौ बज्यो। चितवनको मूख्य चोक पुलचोक। काठमाण्डौ बाट धनगढी जाने रात्रीकालीन बस रोकियो। पोखरा र काठमाण्डौबाट हिँडेका साथीहरू बल्ल झुल्कीए। चितवनको गर्मीले रापीएर बसेको हामीले रापीलो स्वागत गर्‍यौँ। भेटमा एक एक अंगालो साट्यौँ। ब्याकुल माइला दाई, घनश्याम खड्का, अभय श्रेष्ट लगायत केही थोरै साथीहरू बाहेक अरु सबैजसो साथीहरू रौसीला देखिन्थे। केही छिन्को मुलाकात, केही छिनको खानपान पछि नारायणीको पुल छिचोलेर बसले आफ्नो रफ्तार लियो। रात अबेला सम्म बसमै नाचगान चलिरह्यो। को कतिखेर निदायौँ ? पत्तै भएन। बिहान बिम्झँदा कोहलपुर छेउछाउ पुगेका रहेछौँ।

 जेष्ठ ७ गते

धनगढी स्थित उद्यमी तथा “सुन्दर सुदुरपश्चिम” अभियानका एक अभियन्ता गोपी हमालको दिनेश होटलमा पुग्दा झन्डै ११ बजीसकेको थियो। हमालको आतिथ्य संगै सुदुरपश्चिमलाई आन्तरीक तथा बाह्य रुपमा पर्यटन प्रबर्धनका लागि कसरी बिकास गर्न खोजिरहेका छन् भन्ने बिषयमा हमालबाट जानकारी पायौँ हामीले। हाम्रो यात्रा फगत यात्राका लागि मात्रै नभएर सुदुरपश्चिमको पर्यटनका लागि काव्यको माध्यमद्धारा प्रोमोट गर्नु पनि थियो। खास गरि हामी जुन ठाउँका लागि निस्किएका थियौँ, त्यस ठाउँ सुदुरपश्चिमको सपनाको केन्द्र बनाएर काम गरिरहेका रहेछन् हमालजीहरूले। जसलाई सिङ्गो सुदुरपश्चिमले नै गुरु योजना बनाएर देश बिदेशमा प्रचार प्रसार गराउन लागिपरेका रहेछन्।

होटल दिनेशको आतिथ्य पछि सोही होटलको पूर्व करिब पाँच मिनेटको दुरी भएको “एयर क्राफ्ट म्युजियम” को निम्तो मान्न पुग्यौँ हामी। क्याप्टेन बेद उपे्रतिको परिकल्पनामा तयार भएको एयर क्राफ्ट म्युजियममा ब्युटिफुल लेडिहरूले हामीलाई स्वागत गरे। कस्मीक एयरको ग्रउन्डेड उक्त बिमानमा करिब साडे तिनसय ठूला साना बिमानहरूको तस्बीर सङ्ग्रहित गरिएको थियो, सँगसँगै सुदुरपश्चिमकै बिभिन्न पर्यटकिय क्षेत्रहरूको तस्बीरहरू राखिएको थियो। नेपाली पर्यटनको यो नयाँ आइडिया तारीफ गर्न लायक थियो। उपे्रतिले काठमाण्डौको सिनामङ्गलमा समेत एभिएसन म्युजियम स्थापना गरि नेपालमा फरक किसिमको पर्यटनमा योगदान गरेका छन् भन्दा अन्यथा लिन पर्दैन सायद।

धन ल्याउँछु भन्दै गएका थियौँ उडेर आकाशमा

कस्तो भई गयौ, कस्तो भई आयौ काठको बाकसमा

सँगै जाउ स्वर्ग भनेको भए मै जन्न थिएँर ?

जवाफ देउ प्यारा एक बचन बोल, बोल्दैनौ किनर ?

एरक्राफ्ट म्युजियम अघिल्तिर हामीलाई पर्खिरहेको बसभित्र मनै काटीने गीत बजीरहेको थियो। बैदेशीक रोजगारमा गएर काठको बाकसमा फर्कीएका प्रेमीको बियोगमा, एउटी प्रेमिकाको दर्दले रुझेको गीत सुन्दै धनगढी उत्तर लाग्यौँ। केहीबेरमा गाडी अत्तरीया पुगेर रोकियो।  केही छिन् बिश्राम लियो र हिँड्यो उकालै उकालो। घुम्ती, जङ्गल र भीरको बाटो भएर। बुढो भइसकेको घामले रुखको चेपचेपबाट चियाउथे घरिघरि। तर बिस्तारै बुढो घाम समेत ढल्दै गयो। छिनभरमै अध्याराले आकाश छोप्यो। आकाश मुन्तीरको अध्यारै अध्यारो बाटो भएर खानीडाँडा, बोडर, भातकाँडा, स्याउले हुँदै सेतीको किनारै किनार दिपायल पुग्दा मध्यरात बाह« बजिसकेको थियो।

८ गते

दिपायल बाट सिलगडी पुग्दा बिहानको नौ बजिसकेको थियो। शैलेस्वरी मन्दिरको आँगनमा बसेर एउटा चिटिक्कको औपचिारिक कार्यक्रम सक्यौँ हामीले। हाम्रो यात्राको चाँजोपाजो मिलाउने कन्सेप्ट नेपालले लामो समय देखि सक्रिय स्थानीय कला, संस्कृति क्षेत्रका साधकहरूलाई नगद र प्रमाणपत्रले सम्मान गरेर कन्सेप्टले आफूलाई साँच्चै कन्सेप्ट बोकेरै हिँडेको प्रमाणित गरे। चित्रकार धन बहादुर मल्ल, देउडा गायक गोपाल पार्की र पदम नेपाली उक्त समारोहको बिचमा सम्मानित भएका हुन्। दिपायलबाट नाती केटोका साथ लागेर आएका गोपाल पार्की, अनुहारमा ढल्दो उमेरको धर्काहरू बोकेर मञ्चमा पुरस्कृत हुँदै गर्दाको दृश्य हेर्न लायक थियो। सेती नदीको पुल तरेर हामी सँगै सिलगडी उक्लेका पार्की बाजे को हुन् ? त्यसबेला सम्म हामीलाई केही थाहा थिएन। शैलेस्वरीको आँगनमा कवि हेमन्त बिवसले उनका बारेमा परिचय गराउदा मात्रै हामीले थाहा पायौँ –पार्की बैँसको नामुद देउडा गायक हुनुहुदोरहेछ। समाजले प्राय बिर्सदै गइरहेको उनको ब्यक्तित्वको उत्खनन् गरेर कन्सेप्ट नेपालले प्रतिभा र मानबिय मूल्य दुबैको सम्मान गरेको थियो। अप्रत्यासीत रुपमा प्राप्त भएको सम्मानले, सम्मानीत ब्यक्तित्वहरूले आ–आफ्ना बैँसका दिनहरू सम्झेर पुलकित भएका थिए।

सो सम्मान कार्यक्रमको समापन पश्चात बिहानको भोजन सिलगडीमै सकेर हाम्रो समूह झिग्राना प्रस्थान गर्‍यो। करिब डेढ घन्टाको धुलाम्मे बाटो छिचोलेर पीकअप भेनले खप्तडको प्रस्थानबिन्दु झिग्राना पुर्‍याएर खसालिदियो।

यतिबेला ठिक हाम्रो टाउकै माथि छ तातो घाम। बाटाको धुलोले धुलोजस्तो भएको छौँ हामी। मानौँ घामले पनि हामीलाई नभएर, माटो माथि उठेको धुलो सम्झेर पोलीरहेको छ। घाम लागेको छ यति बेपर्बाह, यति चर्को। हिँड्नु छ ठाडो उकालो। जो हाम्रो अघिल्तिर आकाश छोएर उभ्भीइरहेको छ। डल्लै उकालो छिचोलेर जानु छ अझ पर पर सम्म। तर कुन उत्साहले हो जन्तीझैँ मानिसको ताँती चढिरहेका छन् उकालो। यो उकालो देखेर मलाई भने उदय सोताङको आवाज सम्झना भएर आउँछ–

“कहिले उकालै–उकालो भीरको बाटो अप्ठेरो

 एक साथमा चडौँ झै लाग्छ ...”

यो धरती भरि अर्बौँ मानिसहरू बस्छन्। कति हजार, कति लाख मानिसहरू उदयले गएजस्तो भीरको बाटो एक साथमा हिँडरहेका होलान् ? अप्ठ्यारोमा हात समाएर सँगै हिँडिरहेका होलान् ? हरपल ति जो एक साथ छन् – धरतीकै भाग्यमानी जोडिहरू हुन् ति। नत्र यस धरतीमा धेरै अभागी मानिसहरू बस्छन्। दुःखका गीत गाउँदै र सुन्दै एक्लै हिँड्छन्। दुई दर्जन जो यात्रामा छौँ हामी, यही यात्रामा कति दुःखी आत्माहरू हिँडिरहेका छौँ हामी। सायद दुःख बिर्सन हिँडिरहेका छौँ। प्रत्येक मानिस सँग कुनै न कुनै दुःखहरू जरुर हुन्छन्। पीरहरू हुन्छन्। चोटहरू हुन्छन्। यिनीहरूको उपचार, यात्रा पनि एक हो भनिन्छ। भनिन्छ– मनको सास्ती, तनाब र ऐठनलाई यात्राले आधा ब्यवस्थापन गर्न मद्दत गर्छ। यो यात्राले हामी सँग भएको त्यस्ता मनको घाउहरूलाई पुरिदिनेछन्।

गुराँस फुल्ने याम सकिए पनि रहलपहल बाँकी नै थिएँ बोटमा। उमेर र रोगले थलिएको मानिस जस्तो ख्याउटे गुराँस टिपेर हातमा बोकिहिँडेको थिएँ उकालामा। सल्ला र गुराँस प्रति बेग्लै मोह छ मसित। पहिले–पहिले रिले क्यामेराको जमानामा ३६ पटक पोज दिन मिल्ने सिङ्गै रिल बोकोर गुराँस र सल्ला खोज्दै फोटो खिज्न जान्थ्यौँ हामी। अहिले पनि अल्बममा ति तस्बीरहरू सुरक्षित छन्। तर यो उकालोमा गुराँस हातमा बोकेर हिँड्नुको प्रयोजन भने अलग थियो। गनेस, भूपिन, अमृत सुबेदीहरूलाई गुराँसको प्रयोजनबारे सुनाइसकेको थिएँ। गुराँसको उद्धेश्यबारे जानकार भएपछि उनीहरूले भरपुर समर्थन गरे। गुराँसहरूकै समर्थन भएपछि थप उत्साहीत भइहालेँ।

उकालोको पहिलो बिश्राम थियो त्यो। हाम्रो टोलीका धेरैजसो साथीहरू जम्मा भइसकेका थियौँ। बाँकी थिए साइकल राइडर साथीहरू, जसले खप्तडमा साइकल लगेर साइकल पर्यटनको इतिहास रच्न चाहन्थे। एउटा शरीर र केही किलोगा्रम मसलन्द बोकेर हिँड्न हम्मे भइरहेको थियो हामीलाई। तर यस्तो उकालो बाटोमा साइकल काँदमा हालेर उक्लीरहेका साथीहरूको साहस भने मान्नै पथ्र्यौ। नजिकै साइकल खेलाडी साथीहरू आइपुगे। म आफू भने बसेको ठाउँबाट एक पाइला अघि सरे। हातको गुँरास मिलाएजस्तो गरेँ। त्यसपछि एउटा गोडा भूइँमा टेकेँ। अर्को गोडाको आडमा उभिएर हातको गुराँस अघिल्तिर बडाएँ। सबै साथीहरू चल्दै गरेको स्वासको गती कम गरेर हेरिरहेका थिए, कि मैले अघि बडाएको गुराँस स्वीकार हुन्छ हुदैन ?

तर भयो। स्वीकार भयो। मैले दिएको गुराँस स्वीकार गरिन् उनले। यता सबै साथीहरूले ताली पिटेर समर्थन गरे। उनी थिइन् ब्यूटीफुल– आरजु हमाल। जो धनगढीबाट हामी सँगै यात्रामा जोडिएकी थिइन्।

उकालोमा, उकालो र जङ्गल बाहेक केही थिएन। दृश्यहरू सब गुमनाम थिए। चारैतिर फिजीएको जङ्गलले मानिस हिँड्ने स्यानो गोरेटो सिवाय अरु केही दिएको थिएन। ठूल्ठूला रुखका टुप्पाले आकाश छोएको देखिन्थ्यो। जङ्गल बिचबाट त सग्लै आकाश पनि टुक्रा टुक्रा भएको देखिनेरहेको छ। मान्छेको मन टुक्रियो भन्छन् नि, सायद यो जङ्गलको रुखले आकाशलाई  छल गरेर टुक्रा बनाएजस्तै त होला ! मान्छेको बिस्वासमा छल गरेपछि मन टुक्रिने। नत्र गीतकार राजेन्द्र थापालाई थाहा हुन सक्छ, कि मन कसरी टुक्रिन्छ, कसरी फाट्छ  ? उनले आफ्नै मन फाटेरै लेखेको हुदो हो– यसपाली त मनै फाट्यो... भनेर।

जङ्गल यति घनघोर कि, एक्लो दुक्लो हिँड्न ठूलै हिम्मत गर्न पर्ने। करिब पाँच घन्टाको उकालो छिचोलेपछि एकलासमा, एकान्तमा, जङ्गल बिचमा धुवा उडिरहेको देखियो। केही छाप्राहरू देखिए, मानिसहरू देखिए र देखिए हरेक चौबीस घन्टामा आइरहने झम्के साँझ। साँझ र हामी सँगै जस्तो पुगेका थियौँ बिचपानी। यो साँझ यहाँभन्दा पर जान सकिएन।

९ गते

जब समुन्द्र सतहदेखि करिव ३५०० मिटरको उचाइमा उक्लीयौँ हामी। एउटा मिठो सपना देखेजस्तै अनुभव भयो। सपना सम्झेर रोमाञ्चीत भएजस्तो, बिपना छ आँखा अघि। चिच्याउँ जस्तो भएर आयो। रोउँ जस्तो भएर आयो। खै के के भएर आयो मनमा ? ठूल्ठूला पोस्टर अथवा तस्बीरहरूमा मात्रै देखेको थिए यति रहरलाग्दो ठाउँ। अहिले त म आफै सामुन्नेमा छु। यस्तो बेला अभिब्यक्ति ज्यादै कमजोर भएर जाँदोरहेछ। हरियो दुबोको गलैचा माथि शरीर फ्यालेर लडिबुडी गरिरहेँ। कतिखेर हो मेरो सामुन्ने त बालापन पो आईपुगेको रहेछ। यसरी नै खेल्थ्यौँ हामी निर्धक्क, निसङ्कोच केटाकेटी छँदा। जीवनको अत्यन्तै सुन्दरतम मोडहरूमा केकाकेटीपनले जिस्काउन आइपुग्छ सायद।

जेष्ठ महिना खप्तड माथिको आकाश छिन्छिनमा फेरिरहन्थे। सेतै कुद्थे बादल। सेतो बादलको बिचबाट सुनौला घामका रेसाहरू छिरेर कुद्थे। घरिघरि त हराउथे सेतो बादल पनि। हराउँथे सुनौला घामका किरण समेत। अध्यारो मात्रै देखिन्थे आकाशमा। छिन्छिन्मा बद्लीरहने खप्तडको आकाश मुनि आकाश नै छोउलाझैँ गरि अग्ला अग्ला हरिया रुखका झ्याङहरू उभिएका छन्। भूइँ कुहिरो रुखलाई फन्को मार्दै उडिजान्थे आकाशमा। समयले बनाइदिएको बिशाल नागी सुतिबसेको छ –आँखाले हेर्न भ्याएसम्मको भूगोलभरि। नागी माथि फुलेका रहरजस्ता भुइँफूल जोगाएर हरियो दुबो टिपीरहेका छन् घोडाका बथान। त्यही दुबो माथि हिँडिरहेका छन् मान्छेका लस्कर। बसिरहेका छन् थकानले सुस्केरा हाल्दै कोही। त्यतै कतै मिसिएर बसेको छु म पनि। एउटा लामो यात्रापछिको बिश्राममा। लामा लामा गरि स्वास तान्दै फ्यालीरहेको छु। निक्कै परपर सम्म दौडिइरहेको छ मेरा दुई आँखाहरू। मानौँ, कोही प्रिय मानिस आइरहेका छ मैतिर। खास आउनै पर्ने त कोही थिएन, तर गोपाल प्रसाद रिमालले भनेजस्तो “तिमी आउँछौ भन्ने मेरो यौवन भरिको सपना थियो...” जस्तो एउटा सपना थियो त्यो। सुन्दर ठाउँमा प्रिय मानिसको सम्झना भएर आउनु मिठो सपना जस्तै रहेछ।

प्रदेश नं ७ को बझाङ, बाजुरा, डोटी र अछाम गरि चार जिल्ला भेटीएको बिशाल पाटन नै पाटनले बनिएको ठाउँ रहेछ खप्तड क्षेत्र। प्रत्येक बर्ष यही बेला आर्थात जेष्ठ सुक्लपक्षमा गंगा दशहरा मेला लाग्ने यस क्षेत्रमा हजारौँ मानिसको घुइचो देखिन्छ। त्रिबेणी धामको पानीले स्नान गरे मनले चाहेको कुरा पुग्दछ भन्ने बिस्वास रहेछ यहाँ। बिशेष यिनै चार जिल्ला र जिल्ला बाहिरबाट हजारौँको संख्यामा गंगा दशहरा पुगेका मानिसहरू कुन इच्छा लिएर आएका हुन् कुन्नी ? यसै भन्न त सकिएन। तर पहाडजस्तो बिस्वास बोकेर यहाँ आइपुगेका उनीहरूको निधारमा देखिएको धर्सो भने यति मजबुद देखिन्छ कि, मानौँ हत्केलामा कोरिएका भाग्य रेखाहरू दुःखले लखेटेर उनीहरूको निधारमा सारिदिएका हुन्। तिनै निधारका रेखाहरू चम्काउने पानी बगिरहेको छ, म बसेको पाटनको फेद भएर। आशा गरौँ अनन्तदेखिको मानिसका दुः खहरू यहीँ खप्तडको पानीले बगाएर लगोस्। र उनीहरूको मनको चाह पुरा होस्।

१० गते

दिनभरिको थकानले राती चाँडै ढलीसकेको थियो शरीर। बतास र झरीको बिचमा पनि कुनै प्रवाह नगरी निदायौँ हामी। केही साथीहरू नजिकै रहेको सेनाको क्याम्पतीर हान्नीएका थिए। मिर्मिरेमै निन्द्राबाट बिम्झँदा कानमा गुञ्जीरहेका थिए सामूहिक आवाजमा देउडाका भाकाहरू―

बटा तल बटा माथि बन मौरीको भन्को

जन्मे पछि मर्नु पर्छ गर्नु आफ्नो मनको

पाको फल चरीले खायो काँचो फल रुखैछ

सुखिलाई सधैको सुख्ख दुखिलाई दुखै छ

झिमिक्क ननिदाईकन खुल्ला आकाश मुनि यसरी नै देउडा मार्फत आफ्ना मनका अभिब्यक्ति पोखेर रात कटाए यहाँका मानिहरूले। बषौँ बर्षदेखिको यो परम्परा आज पनि उस्तै छ। कति जोडीले देउडा गाउदा गाउदै यही मेलाबाट घरजम सुरु गरे। छोरा छोरी, नाती नतिना भए। तिनै नाति नतिना पुस्ता आज पनि सम्बन्धको सुरुवात गर्न आइपुगेका हुन सक्छन् मेलामा। खासमा यो भीड मात्र नभएर सम्बन्धहरू जोड्ने उत्सव पनि हो। दशहरा मेलाले नयाँ सम्बन्धहरूको स्थापना सँगसँगै यस क्षेत्रको लोक संस्कृतिलाई जिवन्त बनाइ राख्न महत्वपूर्ण भूमिका खेल्दोरहेछ।

राती छुटीएका साथीहरू बिस्तारै जम्मा हुदै गयो। हाम्रा राष्ट्र गानका रचयिता ब्याकुल माइला दाई भने अघिल्लो बिहानै देखि बेपत्ता हुनुहुन्थ्यो। बिचपानी बाट आउदा आउँदै आयोजकले बिशेष ब्यवस्था गरेर घोडा पठाइदिएका थिए। ब्याकुल दाई त्यही घोडा चढेर अघि लाग्नुभएको थियो। हामी उहाँको पछि पछि हिँडेर खप्तड आइपुगेका थियौँ। बिहानको खानापछि खप्तड बाबाको आश्रम, घोडा दाउन्ने पुगेर पुन हामी त्रिबेणी धाम आइसकेका थियौँ। उहाँ अझै बेपत्ता हुनुहुथ्यो। राती निन्द्राले ओछ्यान लागिसकेपछि बल्ल मञ्चमा भाषण गर्दैगरेको दाइको आवाज सुनिएको थियो। यो बिहान पनि माइला दाईलाई छाडेर हामी खप्तडको केही भागहरूको यात्रामा निस्कियौँ। सहस्र लिङ्ग, खप्तड दह, गैरी पाटन भएर त्रिवेणी फर्किदै गर्दा पो हाम्रा राष्ट्र कवि सँग पुनरमिलन भयो। आयोजकले ब्यावस्था गरेको उही घोडामा सवार कविजी सँग दुई दिन पछिको भेटमा ठट्टाका केही फोहोरा नै छुटेको थियो।

११ गते   

घाम झरिसकेको थियो खप्तडको भूइँभरि। पूर्व पश्चिम छुट्टाउन मुस्कील थियो यहाँ। कता पूर्व, पश्चिम कता ? अलमल्ल थिएँ म। खप्तड ठाँउ नै त्यस्तो छ। नेपालको कुनै भूभाग यति अलग, यति बिबिधता, यति सुन्दर छ भनेर पत्यउनै गाह्रो भइरहेको थियो। घर फर्कीनु अघि खप्तड राष्ट्रिय निकुन्जको आँगनमा उभीएर खप्तडबारे आफ्नो अनुभव राखेको थिएँ, कि मानिस मरेपछि स्वर्ग पुग्छ भनिन्छ। मरेको मानिसले स्वर्ग अनुभव गर्छन् गर्दैनन् थाहा हुने कुरै भएन। यदी जीवितै स्वर्गीक अनुभव गर्नु छ भने एकपटक खप्तड आउनै पर्छ। हो, खप्तड आएपछि मलाई यही स्वर्गीक आनन्द प्राप्त गरेको अनुभव भयो। क्यामेराको अघि उभ्भीएर खप्तड यात्रामा निस्किएका हामी सबैले आ―आफ्नो अनुभव बाँड्यो र खप्तडलाई मनमा, आँखामा बोकेर फर्कियौँ― उही जङ्गल, उही बाटो, उही धुलो उही सडक हुँदै।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.