मनाङको स्वर्गद्वारी
ओप्लेको स्वर्गद्वारी पर्वतमा पुग्दा पापबाट मोक्ष प्राप्त हुन्छ भन्ने मान्यता छ।
यात्रामा रमाउने स्वभावले प्राकृतिक सौन्दर्यले सधैं मन लोभ्याइरहन्छ मलाई। मेरो जन्मस्थान भारत भएकाले भारतका केही राज्यहरूबाहेक धेरै सहर घुमेकी छु, बरु नेपाल घुमाइ कम छ। यसपटक हिमाली जिल्ला मनाङ पुग्ने रहरले एक्लै यात्रा तय गरेँ। साउन २० गते काठमाडौं, नयाँ बसपार्कबाट लमजुङको बेसीसहर एकदिन बस्नेगरी मनाङको यात्रा सुरु भयो। स्वागतस्वरूप मुसलधारे पानी परिरह्यो दिनभर।
अर्को दिन मेरो बसाइ मनाङको ताल गाउँमा हुने तय भएकोले बिहानै ८ बजे मनांगे चौताराबाट बलेरो जिप हिँड्यो। भुलभुले खुदीमा निर्माण भएको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको दृश्यसँगै अगाडि बढ्यो यात्रा। मनसुनी भेलसँगै मस्र्याङ्दीको गडगडाहटको भयभीत स्वरूप बिछट्टको थियो। चिनियाँहरूले तयार पारेको रिजर्भर र पावरहाउस, भुलभुलेको सुरुङ, डा. हर्क गुरुङकोे जन्मगाउँ तराचेँ–ङादी, कविवर माधव घिमिरेको बाहुनडाँडा सम्झिँदै आङ सिरिंग हुने भीर पार गर्दै थिएँ। कुनैबेला मिथ बनेको लिलिभिर, घेर्मु, स्यांगे, चिप्लालगायत बस्तीहरू आफ्नै लय र छन्दमा बसिरहेका थिए। सेनाले बेसीसहरदेखि चामे सडक खनेर गाडी कुद्ने बनाएका रहेछन्, धन्यवाद दिन मन लाग्यो। च्याम्चेको झरना क्यानेडाको नियाग्रा फल्सजस्तै बेजोड लाग्यो मलाई। कलकल एकतमासले बगिरहने यो झरना हेर्न गाडी एकछिन रोकियो, सबैजसोले क्यामेरामा यो सुन्दर दृश्य कैद गरिरहेका थिए।
गाडीले आफ्नै रफ्तारमा च्याम्चे गाउँ पुर्यायो। तामाङ, गुरुङ र केही तिब्बेतियन समुदायका मानिस बसोबास गरेको यो बस्ती लमजुङको अन्तिम गाउँ रहेछ। दुइटा अजिवका भयानक गगनचुम्बी पर्वतमालाको खोंच भव्य लाग्यो। त्यहाँबाट साँगुरो ओरालो, घुमाउरो, बाटोले अत्यायो। च्याम्चे पारिको भीरमा केही घोरलहरू चर्दै थिए। हेरुँ हेरुँ लाग्ने च्याम्चे माथि रहेको बेतोडले खसिरहेको झरनाका बाछिट्टा परपर हुत्तिरहेका थिए। ठाउँठाउँमा पहिरो गएकोले डोजरले पन्छाउँदै थियो। कच्ची बाटो डरलाग्दो थियो। मैले दुई मिनेटको भिडियो खिचेर त्यहाँको सम्झना कैद गरे।
म्यार्दी खोला लमजुङ र मनाङलाई छुट्ट्याउने साँध सीमा रहेछ। त्यहाँ बेली ब्रिज बन्दै रहेछ। म्यार्दी खोलासँगै अजंगको म्यार्दी भिर रहेछ। युट्युबमा यही मार्ग र भिरका दृश्य धेरै समेटिएका छन्। यो बाटो बनाउँदै गर्दा दिवंगत भएका यौद्धाहरूलाई भित्री मनबाटै सम्मान गरे।
टर्निङ सकिनेबित्तिकै मस्र्याङ्दी गंगा माथिको छाँगा पहरोले मनाङको आभास दियो र देखियो सुन्दर मनाङको श्रीगणेश गाउँ ताल। पर्यटन व्यवसायको लागि लोभलाग्दो गाउँको नामले परिचित रहेछ ताल गाउँ। करिब ६०/७० घरधुरी एकै ठाउँमा गुजुमुजु रहेका भए पनि सबै विकसित भवनको शैलीमा निर्माण गरिएका देखिए। चारैतिर ठूल्ठूला पहाड, चट्टानले घेरेको मस्र्याङ्दी खोला छेउबाटै बगिरहेको थियो।
बिहानको मीठो कफीको प्यालासँगै मन उडेर चंगा भएको थियो। मौसम सफा र हल्का घाम लागेको, मस्र्याङ्दी खोला आफ्नै रफ्तारले बगिरहेको थियो। गाउँमाथिको हरियो जंगललाई कुहिरोले ढाक्दै थियो। बाटोमा हिँड्दै गरेका पर्यटक, फुरफुर उड्दै गरेका पुतली, चराचखेवा, पारी भित्तामा बुर्कुसी मार्दै चर्ने घोरल सबै सबै रौनक थिए। त्यसैले त म ताल गाउँसँग मोहनी लागेझैं लोभिएकी थिएँ। दुई दिन यही गाउँमा बस्दा पनि मन अघाएन।
यहाँ गुरुङ र केही तिब्बतियन समुदायको सुन्दर बस्ती रहेछ। गाउँ नजिकै अद्भुत झरना छ, बिजुली त्यहीबाट आउँदो रहेछ। करिब चार सय जनसंख्या भएको यो गाउँमा हाइस्कुल, हेल्थपोस्ट, प्रहरी चौकी, कृषि कार्यालयदेखि वन कार्यालयसमेत रहेछ।
म स्थानीय चार जना बहिनीहरूलाई लिएर छहरे खोला हेर्न गए। निकै मनमोहक लाग्यो। यसै खोलाबाट छहरे खोला लघुजलविद्युत् आयोजना २०६४ सालमा निर्माण गरिएको रहेछ। यसले गाउँ चौबीसै घन्टा झलमल उज्यालो देखिन्थ्यो।
ताल गाउँमा दुई दिनको बसाइपछि एक जना सहयोगी भाइसँग बाइकमा मस्र्याङ्दीको तीरैतीर उत्तरतिर लागेँ। निकै डरलाग्दो टर्निङमा ओरालो लाग्दा भयले सीमा नाघ्यो। तर ठाउँठाउँका आकर्षक झरनाले रौनकता थपिँदै गयो। धारापानीबाट नाचै जाने बाटो देख्दा म विस्मित भएँ। कसरी जान्छन् मानिसहरू यति विकट बाटो र कसरी बस्ती बसाइरहेछन् यो डरलाग्दो भित्ताको कापकापमा भन्ने लाग्यो।
धारापानीमा प्रभु र कैलाश विकासका शाखा देखे। घरघरमा धारा जडान गरिएका, बिजुली चौबीसै घन्टा, इन्टरनेटले सूचना र सञ्चारमा सहजता ल्याएको रहेछ। त्यहाँबाट बाइकवाला भाइलाई फिर्ता पठाएँ। धारापानीको थोँचे गाउँ मुख्यत भीमदाङ र लार्के पासको मुख्य प्रस्थान बिन्दु रहेछ। यहाँ पनि उच्च मावि, हेल्थपोस्टका साथै हुलाक र वन कार्यालय रहेछ। मनास्लु सर्किटका नामले परिचित उत्तरी गोरखाका अधिकांश गाउँलेका लागि प्रवेश नाकाजस्तै रहेछ यो। यस भेगका बासिन्दालाई पर्यटन उद्यमतिर आकर्षित गरेको पाइयो।
एक होटेलमा चिया पिउन पसेँ। त्यहाँ थाहा पाइयो, यहाँबाट करिब डेढ घन्टा हिँडेपछि तिल्चे गाउँ पुगिने र त्यहाँबाट करिब एक घन्टा पर याकखर्क र प्रसिद्ध रमाइलो गाउँ भीमदाङ पुगिने रहेछ। विभिन्न जडीबुटी, पाँचऔंले, वन लसुन, जटामसीलगायतले त्यहाँको प्राकृतिक स्रोतलाई धनी बनाएको रहेछ। अरुण भ्यालीपछि नेपालमा सबैभन्दा बढी पुतली पाइने ठाउँ नै यही हो भन्दा म छक्क परेँ। मलाई त्यहाँ जाउँजाउँ लागिरह्यो। तर मेरो यात्रा चामे, तिमाङ, भ्राताङ, पिसाङ, हुम्डे, मनाङ गाउँ र तिलिचो तालको अवलोकन रहेकाले भीमदाङको यात्रालाई मनमै राखेँ।
अलि माथि बगरछाप पुग्नै लाग्दा बाटो तल माथि घाँघरीका रूखहरू रातै फुलेका र रुइस प्रजातिका वनस्पति सँगसँगै देखिए। मानिसहरू आफ्नो घरमा रुइस र घाँघरीका लौरी राखेमा सर्प पस्दैन भन्ने जनविश्वास पहाडी बस्तीहरूमा अझै रहेछ। त्यहाँ खरानी रंगको चाम्रो माटोले मानिसहरू घरका छाना, छत, पर्खाल आदि प्लास्टर गर्नुपर्दा प्रयोग गर्दा रहेछन्। यो सिमेन्टजस्तै बलियो र वर्षौंसम्म केही नहुने रहेछ।
गाडीमा दानक्यु खोला तरेर तिमाङको छहरातिर मोडिँडै गर्दा एउटा अर्को भव्य झरना देखियो। बाटोमा पर्ने जंगलमा अनेक थरी च्याउहरू पाइदा रहेछन्। तिमाङका गाउँले च्याउ संकलन गरी खाने र बिक्रीसमेत गर्दा रहेछन्। यहाँ वर्षात्मा फुल्ने थरीथरीका फूलहरूले मन लोभ्याइरहेका थिए। एकाएक हामी सवार जिप तिमाङ नदीमा फँस्योे। करिब एक घन्टाको प्रयासपछि बल्ल जिप निस्कियो। वर्षात्ले भिजेको शरीरमा चिसोले डसिरह्यो निकै बेर। वर्षात्को रफ्तारले गर्दा म चामे बस्ने निर्णय गरेँ। थकाइ निकै लागे पनि राति अबेरसम्म निद्रै परेन। मनमा कुराहरू खेलिरहे। कति बेर निदाएछु पत्तै भएन।
बिहानै ब्युँझदा मस्र्याङ्दी आफ्नै लयमा बगिरहेको थियो। मनास्लु पूर्वमा केही हाँसिरहेको थियो। आडैमा गजदम्भ उभिरहेकै थियो, विशाल भीमकाय चट्टानै चट्टानले निर्मित पर्वत। चामेका अफिसहरू म बसेको होटेलभन्दा निकै माथि रहेछन्। चामेबाट मनाङ पुग्न आठदेखि दस घन्टा लाग्ने रहेछ। त्यसैले मैले मेरो ट्रेकिङ मीठो चिया खाएर सुरु गरे। बाटोभरि युवराज नयाँघरेदेखि समरसेट ममसम्मका नियात्राकार र तिनका कृति सम्झिएँ।
करिब दुई घन्टाको हिँडाइपछि भ्राताङको स्याउबारी पुगियो। यो करिब सात सय रोपनीमा निजी स्तरमा सञ्चालित स्याउखेती दक्षिण एसियाकै सबैभन्दा ठूलो फार्म रहेछ। तीन हजार मिटरको उचाइमा अवस्थित यहाँ प्रसिद्ध इटालियन प्रजातिका हजारौं स्याउका बोट लगाएर फार्मिङ गरिएको छ। बोटमा लटरम्म फलिरहेका सुन्दर स्याउ खानभन्दा हेर्न मजा। पारि मस्र्याङ्दीमै खस्ने सुन्दर झरनाहरू, धुपी, लौठसल्लो र भोजपत्रका हाँगाहरू, आकाश नीलो र सफेद अनि क्षितिजका हिउँ फूलहरू एकाकार भएर सुन्दर तस्बिरहरू कोरिरहेका थिए, मानौं धर्ती र आकाश आफैंमा क्यानभास हो।
स्याउबारीकै उत्तरपट्टि भव्य चट्टान छ तर दक्षिणी भेगको सारा हरियाली हिमाली कञ्चनताले पुलकित बनाएको थियोे। धेरैबेर म स्याउबारीका बेजोड सौन्दर्यसँग लुटुपुटु गरिरहे र धोको पुग्ने गरी तस्बिरलाई क्यामेरामा कैद गरे। म निस्केँ स्याउ बगानबाट र नजिकै तयार पारिएको बेकरी क्याफेको कलात्मक कोठामा गएर साहुनी निर्मला तामाङलाई कफी र एउटा ब्रेडअर्डर गरे। बाहिरको सुन्दर वातावरण मुस्कुराइरहेको थियो, हेरिरहेको थियो मोहनी लगाएझै।
पुन एक घन्टाको पैदल यात्रापछि स्वर्गद्वारी पर्वतमा प्रवेश गरेँ। त्यहाँ आवत्जावतका लागि एउटा झोलुंगे पुल र मोटरेबल पुल बनेको रहेछ। मस्र्याङ्दी नजिकै गडगडाइरहेको थियो। नदीबाट धुवाँको मुस्लोझैं एकतमासले पानीका बाछिटाका लहरहरू उड्दै मलाई भिजाइरहेका थिए। ओप्लेको माथि सप्तरंगी इन्द्रेणी लाग्न सुरु भइसकेको थियो। नजिकै ओप्लेको त्यो महान् स्वर्गद्वारी पर्वतमा पुग्दा पापबाट मोक्ष प्राप्त हुन्छ भन्ने मान्यताअनुरूप मानिसहरू पनि स्वर्गद्वारी पर्वतमा आउने गर्दा रहेछन्। मस्र्याङ्दीको पानीको लहराले छ्यापिँदा स्वर्गद्वार पार गरेर पवित्र भएको अनूभूति भयो मलाई।
स्वर्गद्वारी पर्वतपट्टि विशाल पिसाङ लेकमा प्रवेश गरे। जहाँ धुपी, लौठ र भोजपत्रका बोटहरूले ढाकिएको थियो। विस्तारै उकालो चढ्दै गर्दा स्पेनकी मारिया, क्रिस र जर्मन फ्रेडेरिकसँग परिचय भयो। पिसाङ लेकको प्रवेशद्वारमा दिउँसो करिब १ बजे पुगियो। प्यास, थकान र भोकले होला च्याउको तरकारी सुपसँगै खाना खुब स्वादिलो लाग्यो।
सुपको स्वादसँगै संयोगले एउटा गाडी झुल्कियो। म स्वर्गको बगैंचाजस्तै चियाउन उपल्लो मनाङ पुग्ने भए। त्यो उचाइमा गाडी चढ्न पाउँदा आनन्दको सीमा थिएन। जताततै नांगा डाँडाहरू, भव्य प्रकृति। पिसाङ आयो, फापर फुलेर कञ्चन देखियो दृश्य। अप्पर पिसाङ, लोवर पिसाङका भवनहरू, घ्याङहरू, गुम्बाहरू। कति रमाइला फाँटहरू, दृश्यहरू। मन उद्देलित भयो। प्रकृतिसँगै एकाकार भइरहेकी थिएँ। हिमालको दृश्य चुम्दै थिएँ, तिब्बतियन प्लेटोको प्ल्याटफर्ममा हिँड्दै थिए, अनुभव गर्दै थिएँ। म झन्डै ३४ सय मिटरको उचाइमा रमाइरहेकी थिएँ।
पिसाङ हुँदै हुम्डे एयरपोर्टमा पुग्दा प्लेन थिएन। धावनमार्ग पूर्व उत्तर मोहोडा गरी बनाइएको रहेछ। जहाज अवतरण गर्न धेरै कठोर जंघार र पर्वत शृंखला पार गरी आउनु पर्दोरहेछ। धावनमार्ग वरपर फाँटमा फापर फुलेर रंगीन भएको थियो।
बेलुकी ४ बजे उपल्लो मनाङ गाउँ प्रवेश गरियो। यो हिमाली क्षेत्रको सुन्दर गाउँ रहेछ। प्रसिद्ध अन्नपूर्ण पदयात्राको थोरोङ पास र तिलिचो तालका लागि प्रवेशद्वार रहेछ यो। विदेशी पर्यटकहरू थोरोङ पास चढ्नुअघि यहाँ दुई दिन आराम गर्दा रहेछन्। यहाँ तिलिचो, याक, यतीजस्ता सुविधासम्पन्न होटेलहरू निकै रहेछन्। खेतबारीमा लहलह झुलिरहेको रंगीन फापरले प्रकृति नै सुन्दर बनाइरहेको थियो। त्यसमाथि नजिकै रहेको गंगापूर्ण ताल र अन्नपूर्ण हिमालको दृश्यले झन मन रमाइरहेको थियो। उचाइको समस्याले सताउने हो कि भनेर अन्नपूर्ण क्याप कार्यालय गई एन्टी हाइअल्टिच्युड सिक्नेस ट्याब्लेट मागेँ। डाक्टरले रक्तचाप र हर्टबिट चेक गरेर सबै नर्मल छ भन्दै केही सचेतना अपनाउने जानकारी दिए। यहाँ चिकित्सकीय सुविधा उपलब्ध भएकोमा निकै खुसी लाग्यो।
त्यसपछि पाँच विदेशी र दुई नेपालीको साथ लागेर गंगापूर्ण तालको अवलोकन गर्न ओरालो लागेँ। अहो कति सुन्दर फाँट, भ्याली, ढकमक्क फुलेका फापरका गह्राहरू। मनै उडाएर लग्यो कल्पनाको नयाँ संसारमा। बादलले छोपेको थियो, अन्नपूर्ण हिमाल र लुकेको थियो तिलिचो ताल, नजिकैबाट प्रादुर्भाव हुने मस्र्याङ्दीका सुन्दर झरना। गंगापूर्ण तालमाथि देखिने ग्ल्यासियर गजधुम्म परी बसिरहेको थियो रिसाएँझै गरी। घामले क्षितिजबाट मेरा गतिविधि नियालिरहेको जस्तै लाग्यो।
बाटोभरि लुङ्दा र तोर्जे फर्फराइरहेका थिए। यहाँ पुगेपछि थोराङ पास गरी मुस्ताङ पुग्ने रहर जागेको थियो। चार हजार नौ सय १९ मिटर उचाइको तिलिचो र पाँच हजार चार सय १६ मिटर उचाइबाट थोराङले टुलुटुलु हेरिरहेको थियो। तैपनि यसपटक यो पवित्र भन्ज्याङलाई काटेर जोमसोम मुस्ताङ पुग्ने रहर थाती राख्दै मनाङको मीठो स्मरण मानसपटलमा सँगालेर करिब एक सय किलोमिटरको कच्ची बाटो काट्दै थिएँ, मनाङबाट बेसीसहरसम्मको। साँच्ची हिमालका दृश्य, झरना अनि यहाँको मनोरम छटा जत्तिको सुन्दर अरू केही छैन।