ऊ छुट्यो
थाहै नपाई नवीन ‘छुटेको अनुहार’ बन्नेछ। रमेशले अरूको कथा भएको किताबको विमोचन गरेँ भन्ने सोच्नेछ, तर आफ्नै प्रिय साथीको अनुहार विमोचन गरिरहेको हुनेछ।
धारा १ : ‘कसैले कसैलाई त्यत्तिकै छोडेर जान पाइने छैन।’
उपधारा १ : छोडेर जानै परेको खण्डमा, छोडेर जाने मान्छे छुट्ने मान्छेसँग कम्तीमा तबसम्म सँगै रहनुपर्नेछ जबसम्म छुट्ने मान्छेलाई छोड्ने मान्छेबिना पनि आफू बाँच्न सक्छु भन्ने आँट आउँदैन।
उपधारा २ : छोडेर जानु परेमा छोड्ने मान्छेले जुन कारणले छोड्न लागेको हो त्यो सबै कुरा छुट्ने मान्छेलाई साँचो साँचो भनेर जानुपर्नेछ।
उपधारा ३ : छुट्ने मान्छेले केही समयपछि क्यै गरी छोडेको कारण झुट भएको थाहा पायो भने, थाहा पाएकै दिन उजुरी गर्न सक्नेछ। र, छोडेर जाने मान्छे तुरुन्तै फर्किनुपर्नेछ। अनि छोडेर जाने मान्छे त्यही मान्छे हुनुपर्र्ने र बन्नुपर्नेछ जो छोडेर जाँदा थियो।
नेपालमा यस्तो संविधान लेखिन बाँकी नै थियो। यसैको फाइदा छोड्नेहरूले लुटे। पैले ‘तिमी बिना बाँच्न सक्दिनँ’ भनेपछि ‘तिमीसँग बाँच्न सक्दिनँ’ भने।
जो छुट्नेहरू थिए, उनीहरूसँग न छुट्ने आँट थियो न छुट्छु होला भन्ने शंका थियो। तर, छोड्नेहरूले यसरी छोडेर गए मानौं छुट्नेहरूले भने छुट्ने तालिम नै लिएका छन्।
गाउँ वा देशमा छुट्ने ती मान्छेहरू बसे जो ‘म पनि जान्छु नि’ भन्न सक्दैनथिए। छोड्नेहरू कतिजना सहर गए, जाँदैछन्। कति खाडी गए, कति जाँदैछन्। कति जापान कोरिया गए, जाँदैछन्। कति युरोप गए, जाँदै छन्। कति अस्ट्रेलिया गए, जाँदैछन्। अनि कति अमेरिका गए, जाँदैछन्।
(अँ साँच्चै, छोडेर जानेको कुरा गर्दा हामी जहिल्यै पनि ‘उसले छोडेर सहर गयो’ वा ‘उसले छोडेर विदेश गयो’ भन्दा रहेछौं है ? सहर जाने वा विदेश जाने मान्छे आफैं नै पनि त छुटेको हुन सक्छ नि, हैन र ? जानेहरू नै छोड्ने नहुन पनि त सक्छन् नि ! जानेहरू नै छुटेका पनि त हुन सक्दा रैछन्। सधैं सहर र विदेशले छोड्दैन रहेछ। सहर वा विदेश आफैं पनि छुटिरहेको हुँदो रहेछ।)
‘आमा रुँदै गाउँबेसी मेलैमा
छोरो रुँदै गोरखपुर रेलैमा...’
वनारस जाँदा भारतको गोरखपुरमा पुगेपछि एक्कासि यो गीत सम्झिएँ मैले। रत्नपार्कबाट कीर्तिपुर आउने एउटा लामो ‘लाउडा’ गाडी थियो पैले। त्यसको खलासीले इँटाभट्टामा इँटा मिलाए जस्तरी गाडीभित्र उभिएका मान्छे मिलाउँथ्यो। एउटा गाडीभित्र सबैभन्दा बढी मान्छे खाँदेर अटाउनेको ‘गिनिज वल्र्ड रेकर्ड’ मा त्यै गाडीका भाइहरूको नाम छ होला। अहिले ती गाडीहरू छुटे। अहिले कुखुराको अन्डाजस्तो सानो गाडीमा ती भाइहरूले मान्छेलाई भालेपोथी बनाएर कोच्छन्। गोरखपुरमा हामी त्यस्तै लामो गाडीको दोस्रो अन्तिम सिटमा थियौं। मैले त्यो गीत बेपर्वाह गाइरहेँ। नेपाल आइडलका निर्णायक त्यहाँ भएका भए, जुरुक्क सिटबाट उठेर मलाई गोल्डेन माइक दिन्थे होला ! (नपत्याउनुस् !) भारतमा वा विदेशमा (मलाई भारतलाई विदेश भन्न मन नलागेको हेर्नु न !) आफ्नो भाषा नबुझ्नेको अगाडि ठूलो ठूलो स्वरमा नेपाली गीत गाउँदा कति मज्जा आउँछ भन्ने कुरा म कसरी भनौं ? अझ भारत मा त ! त्यो मज्जालाई केहीसँग तुलना गर्न एउटा राम्रो कवि नै चाहिन्छ। कुनै दिन राम्रो कवि बनेँ भने तुलना गर्नेछु।
रमेशले भन्यो, ‘नवराज, तँ गीत गा, म अभिनय गर्छु।’
नवीनले भन्यो, ‘म भिडियो खिच्छु।’
यो गीतको ओरिजिनल भिडियोको सुटिङ गोरखपुरमा भएको थिएन। त्यसैले यो गीतका शब्दलाई रियल लोकेसन दिने महान् तथा गौरवशाली काम गर्दै थियौं हामी। मैले फेरि गाउन सुरु गरेँ–
‘आमा रुँदै गाउँबेसी मेलैमा
छोरो रुँदै गोरखपुर रेलैमा...’
रमेशले यति नराम्रो गरी अनुहार बिगार्यो कि म कसरी भनौं ? त्यो झुर अभिनयलाई केहीसँग तुलना गर्न त म ऐले नै सक्छु। तर होस्। उसको अभिनयको भविष्यको पानीपेटमा किन लात हान्नु !
हामी रोक्किएनौं।
नवीनले भन्यो, ‘याक्सन् !’
‘... आज आउला भोलि आउला वर्षौं बिती गयो
छोरो पर्खी बस्दा बस्दै आधी उमेर गयो
बूढा बाबु ओछ्यानबाट तिम्लाई बोलाउँदैछन्
दाजुभाइ दिदीबहिनी तिम्लाई पर्खिराछन्
हे छोरा ! फर्कन अब त !
बूढा बाबा आमालाई सम्झेर...’
गाडीभित्रै नवीनले बनाएको भिडियो हेर्र्यौं। हल्लाएर खिचेछ। त्यै पनि खुसीले मन हल्लियो। त्यो हेरेर रमेश यति साह्रो हाँस्यो कि उसले कमेडी नाइट्स विथ कपिलको सिद्दु पाजीलाई फ्लप ख्वाइदियो। भारतमै गएर भारत तर्सिने गरी त्यति ठूलो आवाजमा हाँस्ने रमेश पहिलो क्रान्तिकारी तथा महान् तथा गौरवशाली नेपाली थियो (नपत्याउनस्)।
त्यो भिडियो नवीनसँग मात्रै थियो। हामीले माग्दा उसले भनेकोथ्यो, ‘एक दिन जब तिमीहरू नेपालका प्रख्यात लेखक बन्छौ, त्यसदिन म यो भिडियो युट्युबमा हाल्छु र बसीबसी पैसा कमाउँछु।’
केही महिनाअघि त्यो भिडियो बोकेर नवीन क्यानडा गएछ। जानुअघि उसले हामी दुवैलाई भेटेन। उसले क्यानडा पुगेर भाउजूसँगको फोटो फेसबुकमा हालेको देखेपछि मात्रै रमेशले थाहा पाएछ ! रमेशले मलाई फोन गर्यो र भन्यो, ‘नवराज, त्यो (यहाँ बोलेको शब्द यहाँ लेख्न मिल्दैन) नवीन त क्यानडा पुगिसकेछ नि, था पाइस् ? ’ यो सुनेर त्यो भिडियोमा जस्तै म हल्लिएँ। मैले रमेशलाई भनेँ, ‘ऊ छुट्यो।’
नवीनको मोबाइलमा रमेश र नवराजको भिडियो छ। अब उसका दुई साथी मोबाइलको भिडियोमा छन्। मोबाइलको भिडियोमा भएका मान्छे आफूसँग हुन्नन्। मेरो मोबाइलमा इन्टरनेट छ। यो मोबाइलभित्र को मात्रै छैनन् होला ! तर ती कोही पनि मसँग छैनन्। मेरा औंलालाई न्यास्रो लागेका बेला म मोबाइलभित्रका मान्छेको औंला पकड्न सक्दिनँ। म मोबाइलभित्रका मान्छेको हत्केलामा हत्केला पड्काएर हाँस्न सक्दिनँ। म मोबाइलभित्रका मान्छेको काँधमा चिउँडो राखेर रुन सक्दिनँ। म मोबाइलभित्रका मान्छेलाई एकछिन स्वास फेर्नै गाह्रो हुने गरी च्याप्प अँगालेर आफू डराएको कुरा चुपचाप भन्न सक्दिनँ।
नवीनको मोबाइलमा रमेश र नवराजको भिडियो छ। अब उसका दुई साथी मोबाइलको भिडियोमा छन्।
नवीन करिब दुई वर्षपछि आफ्नी प्रेमिका र श्रीमतीलाई भेट्दैथियो। यो कुराले म खुसी थिएँ। तर, केही कुरा थियो जो मैले उसलाई भन्नु थियो। त्यो कुरा म उसलाई मात्रै भन्न सक्थें। ऊ जानुअघि भन्छु भनेर सोचेको थिएँ। कत्ति कुरा हुन्छन् जो ठिक्क कोही जानुअघि मात्रै भन्ने आँट आउँछ। मैले भन्न पाइनँ। अब म यो कुरा उसलाई कहिल्यै भन्न सक्दिनँ। ऊ र म भेटौंला। म क्यानडा जाउँला वा ऊ नेपाल आउला। तर, ऊ अर्कै भइसकेको हुनेछ, वा म अर्कै भइसकेको हुनेछु। वा यो भन्ने कुरा अर्कै भइसकेको हुनेछ।
हाम्रो भेट कहिल्यै नहुन पनि सक्छ किनकि यो संसार यति सानो भइसकेको छ कि भेट नै हुँदैन।
उसको जीवनमा अरू साथी आउनेछन् र ऊ अलिअलि गर्दै उसका अरू साथी जस्तै हुनेछ, उसका नयाँ साथीहरू मजस्ता नहुन सक्छन् (मजस्ता पक्कै नहोलान्, मजस्तो कोही नहोस्, संसारलाई त्यसैमा फाइदा।) मैले नयाँ साथी भेट्नेछु, र म अलि अलि गर्दै उनीहरू जस्तै हुनेछु। केही समयदेखि म लेनिन बञ्जाडे, कालीप्रसाद बाँस्कोटा, गोकर्ण गौतम, आसिफ शाह, राजेश पाण्डेसँग निरन्तर भेटिरहेको छु। म बिस्तारै बिस्तारै उनीहरूजस्तो हुनेछु। उनीहरू बिस्तारै बिस्तारै मजस्ता हुनेछन्। हामीसँगै रहेको मान्छे जस्तै हुनेछौं र त्यो छुटेको मान्छे अलि अलि गर्दै छुट्नेछ, रकेटले फालेको धुवाँ छुटेजस्तै।
रमेश, नवीन र मेरो भेट कहिल्यै नहुन पनि सक्छ किनकि यो संसार यति सानो भइसकेको छ कि भेट नै हुँदैन।
नवीन छुट्नेछ।
जुन दिन रमेशले उसको किताब ‘छुटेका अनुहार’ विमोचन गर्नेछ, त्यो दिन मनमनै भन्नेछ, ‘आज मेरो किताबको विमोचनमा नवराज खुसीले मनमनै गीत गाइरहेको छ, म अभिनय नगरी नै गम्भीर छु। हाम्रो यो भिडियो आज नवीनले क्यामेरा हल्लाउँदै भए पनि खिचिदिए हुने नि !’
तर नवीन छुट्नेछ, जसरी रमेशको किताबका मान्छेहरू छुटे।
थाहै नपाई नवीन ‘छुटेको अनुहार’ बन्नेछ। रमेशले अरूको कथा भएको किताबको विमोचन गरेँ भन्ने सोच्नेछ, तर आफ्नै प्रिय साथीको अनुहार विमोचन गरिरहेको हुनेछ।
हुन त हामी दुईतिरै हुन नसक्ने रहेछौं।
‘यह जवानी है दिवानी’ फिल्ममा डुब्दो घाम हेरिरहेको नायकलाई नायिकाले भन्छे, ‘जित्ना भी ट्राई करो लाइफ मे कुछ ना कुछ तो छुटेगा ही।’