खोजिँदै तिलौराकोट

खोजिँदै तिलौराकोट

बुद्धले २९ वर्ष बिताएको तिलौराकोट भारतमा रहेको भ्रम चलिरहेका बेला पुरातत्वको उत्खनन टोलीले भन्यो, ‘बौद्ध ग्रन्थहरूमा चर्चा भएजस्तै शुद्धोधनको दरबार नेपालकै कपिलवस्तुको तिलौराकोटमा छ ।’ अत्याधुनिक उपकरणको प्रयोगबाट जमिनमुनि दरबारका कोठा, पर्खाल र अन्य संरचना छरप्रस्ट देखिए ।

लामो समय तिलौराकोटको उत्खननमा खटिएका दु्रराम विश्वविद्यालयका प्रोफेसर रबिन कनिङ्म भन्छन्, ‘उत्खनन जुवा खेल्नु जस्तै हो। तिलौराकोटको खालमा हामीले बाजी मार्‍यौं ।’ बुद्धजन्मस्थल लुम्बिनीमा कनिङ्घमले बोलेका यी कुराले तिलौराकोटको भ्रम हटेको छ। तर चर्चा भएको छैन ।

तिलौराकोट बुद्धले बाल्यकाल बिताएको भूमि त हुँदै हो। सँगै २५ सय वर्षअघिको गणराज्य पनि हो यो। वर्तमान नेपालको संघीय संरचनाको अभ्यासको सिकाइ र पर्यटन प्रवद्र्धनका लागि तिलौराकोट निकै महत्वपूर्ण क्षेत्र हो।  अब यहाँको उत्खनन आवश्यक छ ।

कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि करिब तीन किलोमिटरको दूरीमा छ— तिलौराकोट। उत्तर वाणगंगा नदीको किनारामा रहेको तिलौराकोट विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको स्थान पनि हो। तिलौराकोट गौतम बुद्धका बुबा राजा शुद्धोधनको राजप्रसादले पनि चिनिन्छ। तिलौराकोटभित्र विशेष गरी तीन भग्नावशेष छन्। ती दरबार, पूर्वी द्वार र पश्चिमी द्वार हुन्। यी स्थानमा प्राचीन इँटा र ढुंगा प्रशस्त मात्रामा देख्न सकिन्छ। यही नै यसको प्रमुख आकर्षण हो। तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुने लयमा छ। 

२०१४ सालदेखि तिलौराकोटको उत्खनन तथा अन्वेषण भइरहेको छ। अहिलेसम्म पाँचौं पटक तिलौराकोटमा उत्खनन भएको हो। उत्खननले प्राचीन तिलौराकोट दरबारका थप प्रमाण भेटिएका छन्। तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा तीन सय वर्षअघि नै व्यवस्थित सहर रहेको तथ्य भेटिएको उत्खननमा सहभागी पुरातत्वविद् बताउँछन्। बुद्धको जन्म २५ सय वर्षअघि भएको इतिहासमा छ। तर त्यसअघि नै यहाँ मानव सभ्यता र सहर रहेको पुष्टि भएको पुरातत्वविद्को भनाइ छ।

दरबार क्षेत्रमा लगातार गरिएको पाँचाैं पटकको उत्खनन र अन्वेषणले प्राचीन कपिलवस्तु बुद्धकालीन समयभन्दा अघि नै मानव सभ्यताको विकसित सहर भएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताए। ‘यहाँ आठौं शताब्दीमै मानव बस्तीको विकास भएको देखिएको छ’, उनले भने।   

पुरातत्व विभाग, बेलायतको दुराम विश्वविद्यालय, लुम्बिनी विकास कोष र राष्ट्रिय÷अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले गरेको पुरातात्विक उत्खननबाट पाइएका विभिन्न सामग्रीको वैज्ञानिक अनुसन्धानपछि यो तथ्य बाहिर आएको हो। ‘युनेस्को जापानिज फन्ड इन ट्रस्ट’को आर्थिक सहयोगमा करिब चार वर्षदेखि भइरहेको उत्खननले उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको क्रमिक विकास भएको प्रमाण प्राप्त भएका छन्। त्यस क्षेत्रमा अहिले फलामका किल्ला, माटोका भाँडा र इँटाका टुक्रा, फुटेका चुरालगायत सामग्री संकलन गरिएको छ। 

त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका संस्कृति र पुरातत्व विषयका विद्यार्थीसमेत उत्खननमा क्रियाशील छन्। यसका लागि राष्ट्रिय विज्ञ कोषप्रसाद आचार्य र दुरहाम विश्वविद्यालयका प्रो. रविन कनिङ्घमले सहनिर्देशकको भूमिका निर्वाह गर्दै आएका छन्। विज्ञ आचार्यका अनुसार तिलौराकोटमा इपू छैटौं शताब्दीमा योजनाबद्ध सहरीकरण सुरु भएको पाइएको छ। उक्त क्षेत्रको चारैतर्फ किल्ला र पर्खालले घेरिएको, उत्तरतर्फ स्तूप, दक्षिणमा औद्योगिक स्थल, पूर्वमा विहार र पश्चिममा बसोवास रहेको उनी बताउँछन्।

स्तूपको नजिकै थुप्रै पर्खाल, पोखरीको किनारका साथै विहारको जगमा चाँदीका ४ सय ९७ पञ्चमार्क मुद्रा पनि भेटिएका छन्। सहरको दक्षिणतर्फको ढिस्कामा फलाम प्रशोधन गर्दा बचेका अवशेष फेला परेपछि त्यहाँ महत्वपूर्ण औद्योगिक स्थल रहेको जानकारी प्राप्त भएको छ। उत्खननका क्रममा करिब आठ टन धातुअंश प्राप्त भएपछि ठूलो मात्रामा धातु पगाल्ने काम भएको अनुमान गर्न सकिन्छ। 

यसअघि सोही टोलीले सन् २०११ देखि तीन वर्षसम्म लुम्बिनी क्षेत्रमा पनि अनुसन्धान गरी प्राचीन लुम्बिनीग्रामको नयाँ इतिहास बाहिर ल्याउनाका साथै लुम्बिनीबारे धेरै तथ्य प्रकाशमा ल्याएको थियो। पारिवारिक तथा राजकीय सुखसयल छाडेर बुद्ध दरबारको पूर्वतिरको द्वारबाट गृह त्याग गरेका थिए, जुन क्षेत्रलाई विश्वभरका बौद्धमार्गीहरूले एकपटक हेर्न चाहन्छन् ।

गत वर्ष गरिएको पाँचौं उत्खननको बेला पनि थुप्रै प्रमाण भेटिएका छन्। गतवर्ष दरबारका तीन स्थानमा उत्खनन गरिएको थियो। सेन्ट्रल कम्प्लेक्सका २ स्थान र सयममाई मन्दिरको छेउ एक स्थानमा ट्रेन्च बनाई उत्खनन गरिएको थियो। गत वर्ष मख्य दरबार क्षेत्रमा गरिएको उत्खननबाट पूर्वदेखि दक्षिण कुनामा र दक्षिण पूर्वी द्वारसमेत फेला परेका छन्। अघिल्लो वर्ष २ वटा द्वार फेला परेका थिए। 

गत वर्षको उत्खननले दरबारका चारवटै द्वार फेला परेको बताइन्छ। पाँचौं शताब्दीमा आएका चिनियाँ यात्री फाइयान र सातौं शताब्दीमा आएका हुवेनसाङले आफ्नो यात्रा विवरणमा उल्लेख भएअनुसारकै प्राचीन भग्नावशेष फेला परेको पुरातत्व विभाग प्रमुख कृष्ण केसी बताउँछन् ।

दरबारको सुरक्षा पर्खाल भित्रै व्यवस्थित सहर र घरका भग्नावशेषसमेत फेला परेका थिए। तिलौराकोटभित्र बाटो, नाली, सुरक्षा किल्ला पर्खाल र मानव बस्ती फेला परेका छन्। ठाउँठाउँमा ठूला भवनका संरचना, इनार र पोखरी पनि पाइएका छन्। दुवै चिनियाँ यात्रीले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका धेरै वस्तु पाइएपछि बुद्धस्थलको ऐतिहासिकता पुष्टि भएको पुरातत्वविद् कोषप्रसाद आचार्यको भनाइ छ। तिलौराकोटसहितका बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता रहेको उनी बताउँछन्। 

२५ सय वर्षअघिको गणराज्य पनि हो यो। वर्तमान नेपालको संघीय संरचनाको अभ्यासको सिकाइ र पर्यटन प्रवद्र्धनका लागि तिलौराकोट निकै महत्वपूर्ण क्षेत्र हो।  अब यहाँको उत्खनन आवश्यक छ ।

सन् २०१५ मा गरिएको उत्खननबाट प्राप्त सामग्री कालक्रम निर्धारणका लागि गरिएको नमुना संकलनका आधारमा इसापूर्व आठाैँ शताब्दीदेखि मावनको बासोवास भएको प्रमाणित भएको उनले जानकारी दिए। ‘५० गुना ५० मिटरको किल्ला, माटाका टुक्राहरूले इसापूर्व आठौं शताब्दीतिरको मावन बस्ती पत्ता लागेको छ। भारतीय पुरातत्वविद् देवला मित्राले सन् १९६२ मा तिलौराकोटमा गरेको उत्खननले भ्रम सिर्जना गरेको अहिलेको प्रमाणबाट पुष्टि भएको छ।

तिलौराकोटको प्राचीनता इसापूर्व दोस्रो शताब्दीसम्म भएको देवला मित्राको भनाइलाई तिलौराकोटमा भइरहेको वैज्ञानिक उत्खनन, अन्वेषण, अनुसन्धान र परीक्षणले इसापूर्व आठौं शताब्दीका भवनका किल्ला, पर्खालको पोस्टहोल काठ र बाँसका खाँबोको डोब भेटिएपछि गलत सावित गरेको आचार्यको भनाइ छ। मित्राले तिलौराकोटमा सहरको बनोट नभएको, किल्लाबन्दी पूरा नभएको, भएका किल्लाबन्दी इसापूर्व दोस्रो शताब्दीपछिका रहेको दाबी गरेकी थिइन् ।

अहिलेसम्मको अन्वेषण र वैज्ञानिक परीक्षणले तिलौराकोट व्यवस्थित किल्लाबन्दीको सहर भएको र त्यसको कालक्रम इसापूर्व आठौं शताब्दी ९२८ सय वर्ष पुरानो रहेको दुर्हम विश्वविद्यालयका प्रमुख पुरातत्वविद् रविन कनिङ्घमको भनाइ छ। मध्यभागमा १ सय गुना १ सय मिटर लम्बाइ र चौडाइको भग्नावशेष सहितको दरबार फेला परेको थियो। 

विकास र महत्व
बुद्धको क्रीडास्थल तिलौराकोटमा अहिले विकासका केही धर्सा देखापर्न थालेका छन्। ५ वर्षदेखि विज्ञको टोलीले प्राचीन कपिलवस्तुको तिलौराकोट दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन उत्खनन र अनुसन्धान थालेपछि तिलौराकोटको विकासमा आशा पलाएको हो। युनेस्कोको सहयोगमा बेलायतस्थित दुर्हाम विश्वविद्यालयका प्रोफेसरसहितको विज्ञ टोलीले बुद्धको क्रीडास्थल तिलौराकोटमा गरिएको अध्ययनपछि सरकारले पनि यसलाई प्राथमिकतामा राखेको छ। यसले जिल्लावासीमा आशा पलाएको हो। 

उत्खननलाई दृष्टिगत गरी सरकारले तिलौराकोटमा जग्गा अधिग्रहणको कामसमेत सुरु गरेको छ। अध्ययन र अनुसन्धान अन्वेषणपछि प्राचीन तिलौराकोट नै बुद्धका पिता राजा शुद्धोधनको राजप्रासाद प्रमाणित भएपछि तत्कालीन विष्णु पौडेल एवं कृष्णबहादुर महरा अर्थमन्त्री भएको वर्ष तिलौराकोटमा केही बजेट परेको थियो।

त्यसले पनि राज्यबाट पछि पर्दै आएको तिलौराकोटमा विकासको ढोका खुलेको जिल्लाबासी बताउँछन्। ‘जग्गा अधिग्रहणको प्रक्रियासँगै तिलौराकोटको विकासमा आशा पलाएको छ’, लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले भने। रूपन्देहीमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीदेखि तौलिहवासम्म डबल लेन सडक निर्माण सुरु भएको छ। यसले पनि प्राचीन कपिलवस्तुको तिलौराकोटसहित बुद्धस्थलहरूको विकासमा ठोस आशा जगाएको जिल्लावासी बताउँछन्।

 

प्रदेश ५ मा समेत तिलौराकोट प्राथमिकतामा परेको छ। मुख्यमन्त्रीमा निर्वाचित भएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पहिलो जिल्ला भ्रमणका रूपमा कपिलवस्तु आएका थिए। त्यतिबेलै मख्यमन्त्री पोखरेलले सार्वजनिक कार्यक्रममा तिलौराकोटलगायत बुद्धस्थलमा बजेट पार्ने आश्वासन दिएका थिए।

त्यहीअनुरूप अहिले प्रदेश सरकारले तिलौराकोट विकासमा बजेट छुट्याएको प्रदेश सांसद विष्णुप्रसाद पन्थी बताउँछन्। यद्यपि केन्द्र सरकार भने तिलौराकोटप्रति अहिले अनुदार देखिएको छ। केपी ओली नेतृत्वको सरकारले तिलौराकोटका लागि कुनै बजेट छुट्याएको छैन। 

प्राचीन कपिलवस्तु सहरको उत्खननसँगै यसको विकासमा घोषित बजेटले लुम्बिनी गुरुयोजना दुई वर्षभित्र सक्ने प्रदेश सरकारको योजना छ। लुम्बिनी गुरुयोजनाभित्र तिलौराकोट दरबार क्षेत्रसहित जिल्लाका महत्वपूर्ण बुद्धकालीन संरचना कुदान, निग्लीहवा, अरौराकोट, गोटिहवा, सिसहनिया र सगरहवासमेत जोडिएका छन्।

भवन तथा सहरी विकास डिभिजन कार्यालयले कपिलवस्तु नगरपालिका क्षेत्रभित्र रहेका बुद्धस्थललाई जोड्ने गरी ३६ किमि सडक निर्माण थालेको छ। तिलौराकोटमा दरबारभित्र सवा करोडभन्दा बढीको काठको पैलमार्ग विश्रामस्थलसमेत निर्माण भइसकेको छ। 
पुरातत्व विभागले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचीकृत गर्ने योजनाअनुसार उत्खनन र अन्वेषणको काम अघि बढाएको छ। तिलौराकोटको किनारमा रहेको कपिलवस्तु संग्रहालयमा पनि नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ। यस्तै बुद्धले बुद्धत्व प्राप्त गरेपछि उनले पहिलो पटक आफ्नो परिवारलाई ज्ञान दिएको निग्राधराम कुदानको तारबारसमेत गरिएको छ। यसले तिलौराकोटमा विकासको आशा पलाएको प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता बताउँछन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.