निम्बसका उत्पादन गुणस्तरीय छन्
पशुपन्छीको दाना उत्पादनबाट सुरु भएको निम्बस अहिले नेपाली कृषि बजारमा परिचित नाम हो। कम्पनीले सुरुका चरणमा भारतबाट सामान आयात गर्यो। सन् २००२ मा पशुपन्छीका लागि औषधि उत्पादन गरेर भारत निकासी गर्न सुरु गरेको कम्पनीले भटमासको गेडाबाट तेल, पिना, स्विस प्रविधिको रिफाइनरी, तोरीको तेल र पिना, भटमासको पिठो र मस्यौरालगायत कृषिजन्य बस्तु उत्पादन गर्दै आएको छ। १८ वर्षयता निम्बसमा कार्यरत कम्पनीका कार्यकारी निर्देशक भेटनरी डा. दिनेश गौतमसँग अन्नपूर्णकर्मी रञ्जनहरि कोइरालाले गरेको कुराकानीको सम्पादित अंशः
पछिल्लो समयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको टोलीले वीरगन्ज कारखानाको अनुगमन गरेको थियो। अनुगमनका क्रममा खानेतेल गुणस्तरहीन रहेको कुरा बाहिर आयो ? वास्तविकता के हो ?
यो विषयमा सही तथ्य बाहिर आएन। तथ्य के हो भने, हाम्रो तयारी वस्तु बजारमा परीक्षण नै भएन। प्रसोधनका लागि राखिएको बस्तु लिएर परीक्षण गरियो। त्यसको आधिकारिक निकायमा कानुनी रूपमा परीक्षण पनि भएन। आधिकारि रिपोर्ट हामीलाई अहिलेसम्म प्राप्त भएको छैन।
कुनै पनि उद्योग र त्यसले उत्पादन गर्ने बस्तुमा त्रुटि छ भने त्यसलाई सोधपुछ गर्ने र त्यसलाई सुधार्ने मौका दिने हो। त्यसो गर्दा पनि भएन भने बन्द गर्ने हो। त्यो अन्तिम उपाए हो। तर हाम्रो विषयमा सबैभन्दा पहिलो बन्द गरियो। त्यसैमा हाम्रो आपत्ति छ। उहाँहरूले रिपोर्टमा खान अयोग्य भनेर आएको बताउनुभयो। त्यसमा कुनै सत्यता थिएन। पछि हामीले त्यसको रिपोर्ट सरकारी निकायमा हेर्यो। त्यहाँ अयोग्य शब्द कतै लेखिएको थिएन। खाद्य प्रयोगशाला छ। त्यहाँ विशेषज्ञ हुन्छन्। पत्रपत्रिकामा आएको कुरा र हामीले पाएको रिपोर्टलाई लिएर हामी खाद्य प्रयोगशालामा गर्यो। उहाँहरूले पनि खाना अयोग्य हो भन्नु भएन। सहज भाषामा भन्नुपर्दा चियामा अलिकती चिनी नपुगेको हुन सक्ला। त्यसले बन्द गर्नुपर्ने अपराध पुष्टि गर्दैन।
हाम्रोमा तिन चरणको गुणस्तर मापन प्रक्रिया छ, पहिलोमा कच्चापदार्थ आउँदा नै परीक्षण हुन्छ। प्रत्येक लटको परीक्षण नगरी त्यो माल कम्पनीमा आउँदैन। त्यसपछि बन्ने पक्रियामा पनि परीक्षण हुन्छ। त्यसमा पनि तीन चरणको परीक्षण हुन्छ। तेस्रो परीक्षण सरकारी ल्याबमा हुन्छ। त्यतिले नपुगे हामीले विदेशमा लगेर पनि परीक्षण गराउँछौं।
अनुगमन विवाद कसरी सल्टियो ?
हाम्रो उद्योग धेरै दिनदेखि बन्द भयो। यसबीचमा हामीलाई जिल्ला प्रशासन कार्यलयबाट उद्योग बन्द भएको सूचनाबाहेक अन्य कुनै सूचना प्राप्त भएको छैन। जिल्ला प्रशासन कार्यलयबाट पत्र पाएसँगै हामीले जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, आपूर्ति मन्त्रालय, प्रधानमन्त्री कार्यालयमा निवेदन दियौं। त्यो गर्दा पनि कतैबाट सुनवाइ भएन।
उद्योगको विषयमा कुनै निर्णय नभएपछि हामी २२ गते सर्वोच्च अदालतमा उद्योग खोली पाउँ भन्दै मुद्धा दायर गर्यौं। त्यसको सुनवाई २५ गते भयो। त्यसमा अदालतले सरकारलाई कारण देखाउँ आदेश दियो। जो विपक्षमा थिए ती सबैलाई हाजिर हुन अदालतले निर्देशन दियो। त्यसपछि मन्त्रालयबाट हामीलाई मौखिक रूपमा भेट्न बोलाइयो। मन्त्रीज्यूले मुद्धा मामलामा नजाऔं, मुद्धा र्फिता लिएर आउनुस् हामी उद्योग खोलि दिन्छौ भन्नुभयो। त्यहीँअनुसार मुद्धा फिर्ता लियौं। त्यसलगत्तै हाम्रो उद्योग पनि सञ्चालनमा आयो। जुन प्रक्रिया पहिले नै हुनुपर्ने थियो।
खानेतेलका लागि सरकारले प्रदान गरेको गुणस्तर चिह्न पनि यो अनुगमनपछि खोसेको र अहिले आएर फेरि प्रदान गरेको विषय पछाडि के कारण छ ?
छैन, सरकारले गुणस्तर चिह्न अहिलेसम्म खोसेकै छैन। हाम्रो नेपाल गुणस्तर प्राप्त तेल हो। त्यसमा हाम्रा सुनौलो र व्यञ्जन गरी दुई ब्रान्ड छन्।
व्यञ्जन ब्रान्डले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको छ। त्यसमा सूर्यमुखी तेल र तोरीको तेल छन्। त्यो दुवैमा नेपाल गुणस्तर चिह्न छ। त्यो अहिलेसम्म खोसिएको छैन। खोसिएको भए, कम्पनीलाई जानकारी हुनुपर्ने हो। त्यो विषयमा हामीलाई अहिलेसम्म कुनै आधिकारिकपत्र पनि आएको छैन।
तपाईहरूको उत्पादनले थप नयाँ गुणस्तर प्राप्त गरेको छ भन्ने कुरा आएको छ, के हो ?
यो पाएको तीन महिना भयो। गुणस्तरका हिसाबले नेपालमा दुई किसिमका गुणस्तर चिह्न प्रदान गरिन्छ। जसमा एउटा अनिवार्य मापदण्ड हो। त्यो कृषि मन्त्रालयअन्तर्गतको खाद्य विभागले लागू गर्ने हो। सबै खाद्यको नियमन, नियन्त्रण, गुणस्तर प्रदान गर्ने सबै काम कृषि विभागअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो। तर हामीलाई अर्कै विभागबाट अनुगमन भयो। कार्यक्षत्र मिचेर पनि यो अनुगमन भएको थियो।
गुणस्तरकै कुरा गर्दा हामी एउटा नेपाल गुणस्तर चिह्न प्राप्त छौं, अर्को हामी हालसालै अन्तर्राष्ट्रिय खाद्य स्वछन्ता प्रमाणपत्र प्राप्त गरेका छौं। त्यो हो आईएसओ २०२०००–२००५। यो कम्पनीले प्रयोग गर्ने उत्पादन विधिलाई हेरेर खाद्य स्वछन्ताको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ भनि प्रदान गरिन्छ।
रामदेव ब्रान्डमा बिक्री हुने खानेतेल तपाईहरूले नै उपलब्ध गराउने हल्ला छ ? यसमा कतिसम्म सत्यता छ ? रामदेवले तपाईहरूकै खानेतेल किन खरिद गरेको हो ?
रामदेवको उद्योग अहिले छैन। अहिले नेपाल ग्रामो उद्योग भनेर सुरु भएको छ। उहाँहरूकोमा तोरीको तेल उत्पादन गर्ने सुविधा छैन। त्यैसले उहाँहरूले बाहिरबाट किन्दै आउनुभएको छ।
कुनै बेला हाम्रोबाट किनिन्छ, कुनै बेला बाहिरबाट ल्याएर बिक्री गर्दै आउनुभएको छ। जबसम्म पतञ्जलीको नाममा उत्पादन बिक्री हुन्थ्यो तबसम्म हामीले नै पठाएका हौं। ठूला कम्पनीबीच हाम्रो क्वालिटी एप्रुभ थियो। त्यसैका आधारमा पतञ्जलीले हाम्रो उत्पादन खरिद गरेको थियो।
खानेतेलको कच्चापदार्थ व्यवस्थापन कसरी गर्नुहुन्छ ?
कञ्चापदार्थ अहिले तीन किसिममा आएको छ। सोयाबिनको हाम्रो आफ्नै फ्याक्ट्री छ। भटमासको गेडा ल्याई त्यसलाई पेलेर तेल उत्पादन गर्छौं। त्यसलाई हामी आफैं प्रसोधन गर्छौं।
सूर्यमुखीको संसारमै दुईवटा देश हो, युक्रेन र अर्जेन्टिना। त्यहाँबाट कच्चापदार्थ आउँछ। त्सलाई ल्याएर हामी प्रसोधन गर्दै आएका छौं। तोरीका लागि भारत र केही नेपालकै पश्चिम दाङबाट आउँछ। अहिलेको अवस्थामा कुल कच्चापदार्थको २५ प्रतिशत नेपालकै प्रयोग हुन्छ।
कुखुरा र गाईभैंसीलाई खुवाउने दाना गुणस्तरयुक्त छैन भन्ने गुनासो छ। गुणस्तरकै विषयमा किन प्रश्न उठिरहन्छ ?
हामीलाई यसबारे जानकारी छैन। यसलाई विभिन्न परिवेशले पनि फरक पार्छ। कहिले हल्लाले परक पार्छ कहिले व्यवस्थापकीय कुराले। कहिले स्वस्थ्य अवस्था त कहिले रोगले फरक पार्छ।
केही समययता पोल्ट्री उद्योगमा चुनौती देखिएका छन्। कहिले सिजन त कहिले रोगको छ। तर कुनै दिन पनि कम्पनीले गुणस्तरमा कन्जुस्याईं गरेको छैन।
नेपालमा उत्पादित कृषिजन्य कच्चापदार्थको चर्को अभाव भइरहँदा तपाईहरूले दाना उत्पादन गर्न आवश्यक कच्चापदार्थ कहाँबाट ल्याउनुहुन्छ ?
हामीले दुई तरीकाबाट व्यवस्थापन गरिरहेका छौं। पहिलो ३५ प्रतिशतको हाराहारीमा नेपालमै छ। जस्तो मकै, ढुटो, पीना सहज रूपमा पाइन्छ। जुन विदेशबाट आउने हो त्यसलाई ल्याएर भण्डार गर्नुपर्छ। भण्डारण प्रविधिका लागि हाम्रोमा साइलो प्रविधि रहेको छ।
किसानलाई आकर्षित गर्न दानामा कस्ता प्रकारका सुविधा ल्याउनुभएको छ ?
हामी सिधै किसानसँग काम गर्दैनौं। हामीले किसानलाई दुईवटा कुरामा सहयोग गर्दै आएको छौं। पहिलो प्राविधिक समस्याका लागि हामीले टोल फ्री नम्बर राखेका छौं। जहाँबाट किसानले आफ्नो समस्याको समाधान प्राप्त गर्न सक्नेछन्। अर्को तालिम हो। हाम्रा उत्पादन पुगेको ठाउँमा हामीले किसानलाई तालिम प्रदान गर्छौ। वर्षमा पाँच हजारको हाराहारीमा किसानलाई तालिम प्रदान गर्दै आएका छौं।
तपाईंले नेपालको कृषिलाई कसरी हेर्नुभएको छ ?
कृषि क्षेत्र व्यावसायिक भएन। यहाँ कच्चापदार्थ पाउन सहज छैन। छरिएर बसेको छ। उत्पादन छ, चाहिने भएको छैन। हामीकहाँ पकेट क्षेत्र भन्ने अवधारण नै आएन। जबसम्म कृषिको पकेट क्षेत्रमा एकै प्रकारका बस्तु लगाइँदैन र त्यसको बजारीकरण हुँदैन तबसम्म किसानले प्र श्रय पाउने कुरै हुँदैन। कृषिको उत्पादन छरियो। त्यसलाई सरकाले कार्यक्षेत्र ल्याउनुपर्नेछ।
तपाईहरुका आगामी योजना के छन् ?
पहिलो नम्बरमा उद्योगको क्षमता वृद्धि हो। ८० हजार टन उत्पादन गर्दै आएको दाना उद्यागको क्षमता वृद्धि गरेर एक लाख टन पुर्इनेछ। अर्को नेपालमै पहिलो पटक हामीले धानको ढुटोबाट तेल निकाल्ने प्रयास गरिरहेका छौं। खानेतेलको पनि क्षमता वृद्धि गर्ने योजना छ। अहिले मासिक २२ सय टन रहेको यो उद्योगको क्षमता वृद्धि गरी तीन हजार टन पुर्इनेछ। साथै विभिन्न किसिमका दाल उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउने तयारीमा छौं। त्यो अबको पाँच महिनामा सञ्चालनमा आउनेछ।