सिंहदरबारमा म्युजियम बनाइँदै

सिंहदरबारमा म्युजियम बनाइँदै

काठमाडौं : सरकारले सिंहदरबारको सौन्दर्य बढाउन विभिन्न २६ बुँदे निर्णय गरेको छ। मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको सबै मन्त्रालयका सचिव सम्मिलित बैठकले सिंहदरबार परिसर व्यवस्थापनका लागि २६ बुँदे निर्णय गरेको हो।

निर्णयअनुसार अब सिंहदरबारमा सिंगो इतिहास झल्किने गरी म्युजियम स्थापना गरिनेछ। सहरी विकास मन्त्रालयलाई यससम्बन्धी प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइएको छ। यस्तै बैठकले सिंहदरबारको बाहिरी पर्खाललाई कलात्मक र सुन्दर बनाउने र पुरातात्विक महत्वका भवनलाई पूर्ण रूपमा संरक्षण गर्ने निर्णयसमेत गरेको छ।

बैठकको निर्णयअनुसार अब सिंहदरबार परिसरमा डिजिटल ल्यान्डस्केप मास्टर प्लान बाएर लागू गरिनेछ। त्यसका लागि मुख्यसचिवको अध्यक्षतामा एक समिति गठन गरिनेछ। बैठकले सिंहदरबार भवनलाई मूल कला र स्वरूपसँग सुहाउने गरी बाहिरी रूप बदल्ने र त्यसका लागि सहरी विकास मन्त्रालयले तत्काल काम थाल्ने निर्णय गरिएको छ।

बैठकले सिंहदरबारभित्र भत्काउनुपर्ने तथा पुनर्सबलीकरण गर्नुपर्ने भन तथा संरचनाको यकिन गरी तत्काल कार्य प्रारम्भ गर्ने निर्णयसमेत गरेको छ। निर्णयअनुसार सहरी विकास मन्त्रालयले सिंहदरबारभित्र भूकम्पबाट सिर्जित अवशेष हटाउन तत्काल काम अघि बढाउनुपर्नेछ।

अब सिंहदरबारभित्र मन्त्रालयको गेट तथा मन्त्रालयभित्रै रहेका क्यान्टिन हटाएर एकीकृत क्यान्टिनको व्यवस्था गरिनेछ। सिंहदरबारभित्रका प्रत्येक भवनमा फ्लट लाइट जडान गरी सौन्दर्यीकरण गरिनेछ। यस्तै सिंहदरबारका सबै गेट दुई महिनाभित्र खुला गर्ने निर्णय बैठकले गरेको छ। सिंहदरबारभित्र अब कुनै पनि पुराना गाडी डम्प गरेर राख्न पनि पाइनेछैन। सबै गाडीलाई सम्बन्धित निकायले लिलाम गरी हटाउनुपर्नेछ।

बैठकले पुरानो प्रधानमन्त्री कार्यालयनजिक रहेको महानगरीय सुरक्षा प्रहरी गण रहेको टहराले सिंहदरबारको सौन्दर्य बिगारेको भन्दै त्यसलाई त्यहाँबाट हटाउनेसमेत निर्णय गरेको छ। निर्णय कार्यान्वयन भए÷नभएको अनुगमन गर्न प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरको संयोजकत्वमा अनुगमन समिति बनाइनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.