बैतडीका तीनसय किशोरीलाई आत्मरक्षा तालिम
बैतडी : जिल्लाको पाटन नगरपालिकामा किशोरीलाई आत्मरक्षा तालिम दिइएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा किशोरीका लागि तालिम सञ्चालन गरिएको हो।
पछिल्लो समयमा महिला तथा किशोरीमाथि विभिन्न खालका हिंसात्मक घटना भइरहेकाले त्यसको न्यूनीकरणका लागि किशोरीलाई आत्मरक्षक तालिम दिइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए।
‘किशोरीलाई समस्या परेका बेला कसरी प्रतिकार गर्ने, खेलकुदमा किशोरी तथा महिलाको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ हामीले तालिम सञ्चालन गरेका हौं’, उनले भने, ‘यसमा किशोरीको स्वस्फूर्त सहभागिता जनाएका छन्।’
तालिममा किशोरीलाई कसैले आक्रमण गर्न खोजेमा बच्ने उपायका बारेमा सिकाइरहेको प्रशिक्षक सुरेन्द्र विष्टले बताए। पाटनमा भइरहेको तालिममा सहभागी किशोरी पनि तालिमबाट आफूलाई धेरै फाइदा भएको बताउँछन्।
‘हामीलाई विभिन्न खालका आधारभूत सीप सिकाइएको छ। यसले हामीलाई धेरै फाइदा हुने विश्वास लिएकी छु’, पाटनकी एलिशा भण्डारीले भनिन्, ‘हामीहरुलाई प्रतिकार गर्ने सीप नभएकै कारण धेरै समस्या हुने गरेको थियो।’
मंगलबारबाट सुरु भएको तीनदिने आत्मरक्षा तालिममा धेरै कुरा सिकेको सहभागी पूजा लिम्बुले बताइन्।
पहिलो चरणमा पाटनमा तालिम सञ्चालन गरिएको र यसलाई जिल्लाका सबै ठाउँमा सञ्चालन गर्ने खेलकुद विकास समितिका अध्यक्ष भण्डारीले बताए।
प्रतिक्रिया दिनुहोस !