हात्तीले पाँच घर भत्कायो, धानबाली पनि नष्ट
महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीले बितण्डा मच्चाउन थालेको छ।
बिहीबार राति हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका क्षेत्रका पाँच घर भत्काएको छ। सँगै किसानको धानबाली नष्ट गरेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट गाउँ पसेको हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका १ र १२ का पाँच घर भत्काएको हो।
हात्तीले वडा नम्बर १ का पार्वती सार्की, धनवीरे सार्की र मोहन विकको घर भत्काएको छ। वडा नम्बर १२ का सन्तराम राना र सन्तु रानाको घर भत्काएको छ। हात्तीले घर भत्काउनुका साथै भित्र रहेको अन्नबाली समेत खाइदिएको छ।
‘रात पर्ने बेला ठूलै बथान जंगलबाट आएर घर भत्काउन थाल्यो’ शुक्लाफाँटा १ की पार्वती सुनारले भनिन्, ‘हात्तीको आएको थाहा पाएर आफ्नो र बालबच्चाको जिउ जोगाउन सक्यौं।’ उनको घरसँगै रहेका अन्य २ घर हात्तीले भत्काएको हो।
हात्तीले शुक्लाफाँटा नगरपालिकाको १, २, ७, ८,९, १०, ११ र १२ नम्बरमा केही समयदेखि क्षति गरिरहेको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !