हात्तीले पाँच घर भत्कायो

हात्तीले पाँच घर भत्कायो

महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीले वितण्डा मच्चाउन थालेको छ। हात्तीको बथानले बिहीबार राति शुक्लाफाँटा नगरपालिका क्षेत्रका ५ घर भत्काएको छ भने किसानको धानबाली नष्ट गरिदिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट गाउँ पसेको हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ र १२ का ५ घर भत्काएको हो।

हात्तीले वडा नम्बर १ का पार्वती सार्की, धनवीरे सार्की र मोहन विक र वडा नम्बर १२ का सन्तराम राना र सन्तु रानाको घर भत्काएको छ। हात्तीले अन्नबालीसमेत खाइदिएको छ। ‘रात पर्ने बेला ठूलै बथान जंगलबाट आएर घर भत्काउन थाल्यो’, शुक्लाफाँटा १ की पार्वती सुनारले भनिन्, ‘हात्ती आएको थाहा पाएपछि बालबच्चा जोगाउन सक्यौं।’

उनको घरसँगै अन्य २ घरसमेत हात्तीले भत्काएको छ। ‘चाडबाड आएकै बेला घर भत्काएर अन्नबालीसमेत सबै सखाप पार्‍यो’, उनले रुँदै भनिन्। ‘कहाँ गएर बस्ने र के खाने चिन्ताले सताएको छ।’ हात्तीले भत्काएका ५ वटै घर बाढीपीडित परिवारका हुन्। ‘१५/२० वटाको बथान नै आएर घर भत्काउँदै धानबाली नष्ट गर्न थाल्यो’, स्थानीय मोहन विकले भने, ‘बिहीबार राति हात्तीको बथानले नगरपालिका क्षेत्रका वडामा धेरै क्षति पुर्या‍एको छ।’

‘दसैंकै बेला काट्नुपर्ने अवस्थाको धानबाली हात्तीले नष्ट गर्‍यो’, शुक्लाफाँटा १ का कलावती भट्टले भनिन्, ‘यसै धानबाली नै हो खाने र घरखर्च चलाउने माध्यम अब के गरेर केटाकेटी पाल्ने होला ? ’ केही समयदेखि जंगली हात्तीले यस नगरपालिका क्षेत्रमा वितण्डा मच्चाइरहेको छ’, शुक्लाफाँटा नगरपालिका नगरप्रमुख दिलबहादुर ऐरले भने, ‘बिहीबार राति त ६ वटा घर नै भत्कायो र धेरै क्षेत्रफलमा लगाइएको धानबालीसमेत नष्ट गरेको छ।’ उनका अनुसार १ नम्बर वडामा रहेको सिद्धबैजनाथ विद्यालयको पर्खालसमेत हात्तीले भत्काएको छ।

हात्तीले शुक्लाफाँटा नगरपालिकाको १, २, ७, ८, ९, १०, ११ र १२ नम्बर वडामा केही समयदेखि क्षति गरिरहेको नगरपालिकाले जनाएको छ। स्थानीयले हात्ती नियन्त्रण, क्षतिपूर्ति र रातह माग गरेका छन्। हात्तीले घर र धानबाली नष्ट गरेपछि प्रदेशसभा सदस्य लालबहादुर खड्का, शुक्लाफाँटाका नगर प्रमुख दिलबहादुर ऐरलगायतले स्थलगत निरीक्षण गरेका छन्।

‘हामीलाई यहाँ जंगली हात्तीले दुःख दिन थालेको छ, लगाएको धानबालीसमेत सखाप पार्‍यो’, स्थानीय मदनराज जोशीले भने, ‘यसको नियन्त्रण र पीडितलाई क्षतिपूर्तिको व्यवस्था मिलाउनुपर्‍यो।’ निरीक्षण क्रममा प्रदेशसभा सदस्य लालबहादुर खड्काले जंगली हात्तीले हरेक वर्ष पुर्या‍उँदै आएको क्षति नियन्त्रणका लागि दीर्घकालीन समाधान गर्नेतर्फ पहल थालिने बताए। उनले अहिले तत्काल पीडित परिवारलाई क्षतिपूर्ति र राहतका लागि आफूले पहल गर्ने बताए।

यसैबीच, बिहीबार नै जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले घर भत्किएका परिवारलाई तत्काल त्रिपाल, खानेकुरा र भाँडाकुँडा वितरण गर्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले हात्ती नियन्त्रण गर्न पटाका पड्काउनेलगायत निर्णय गरिएको बताए।

‘पटाका पड्काउने, फोकसिङ लाइट, हेलोजन लाइटलगायत दिने निर्णय भएको छ’, उनले भने, ‘क्षतिपूर्ति र विद्युतीय तार लगाउने सम्बन्धमा संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ।’ बैठकले आवश्यक परे हवाई फायर गर्ने र त्यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आपसमा समन्वय गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीले जाानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.