कर्णालीमा मनपरी भाडा

कर्णालीमा मनपरी भाडा

जुम्ला : कर्णाली राजमार्गमा गुड्ने साना तथा ठूला यात्रुवाहक सवारीसाधनले मनपरी भाडा असुल्ने गरेका छन्। दसैं, तिहार नजिकिँदै गर्दा राजमार्गमा आउजाउ गर्ने यात्रुको निकै भीड हुन थालेपछि यात्रुवाहक गाडी सञ्चालकले यातायात नियमावलीले तोकेभन्दा दोब्बर बढी भाडा असुल्ने गरेका हुन्। कर्णाली राजमार्गमा गुड्ने साना तथा ठूला यात्रुवाहक सवारीले समान भाडा लिने सम्झौता गरे पनि छिटो पुर्‍याउने भन्दै यातायात व्यवसायीले मनपरी भाडा उठाउने गरेका छन्।

दसैं मान्न सुर्खेतबाट जुम्ला पुगेका यात्रु हस्त कामीले भने, ‘समयमै टिकट पाइँदैन, पाइए पनि महँगो भन्छन्, कि फर्किनुपर्‍यो होइन भने महँगो भए पनि गाडी त चढ्नै पर्‍यो।’ विशेषगरी राजमार्गमा चल्ने जिप तथा टेम्पो व्यवसायी तथा साना यात्रुवाहक सवारीधनीले भाडामा निकै मनपरी गरेका छन्।

जुम्ला, नेपालगन्जका लागि सरकारले तोकेको प्रतियात्रु १२ सय भाडामा अहिले जिप व्यवसायीले दुई हजार भाडा असुल्न थालेका छन्। जुम्लामा रहेका १० भन्दा बढी यातायात व्यवसायीमध्ये कर्णाली यातायात प्रालिले मात्रै यातायात नियमावलीअनुसार भाडा लिने गरेको छ। अरू सबै व्यवसायीले मनपरी भाडा असुल्ने गरेको स्थानीय बताउँछन्।

सम्झौता र निर्णय भंग गर्दै, यहाँका बुलबुले, गोकर्णाली, सनराइन, देउती नागरिक, सुर्खेत यातायात प्रालिले मनपरी भाडा लिइरहेका छन्। कर्णाली यातायात प्रालिका अध्यक्ष मीनबहादुर महतले आफ्नो प्रालिद्वारा सञ्चालित सवारीले सरकारले तोकेको भाडा असुलेको भन्दै भाडा समायोजन नगर्नेलाई जिल्ला प्रशासनले कारबाही गर्नुपर्ने बताए।

१२ सयबाट दुई हजार

जिप व्यवसायीले जुम्लाबाट नेपालगन्जसम्मका लागि सरकारले तोकेको १२ सय भाडालाई बढाउँदै दुई हजार पुर्‍याएका छन्। यातायात व्यवसायीले मनपरी भाडा बढाउँदा यात्रु ठगिएका हुन्। सुर्खेतका लागि सरकारले ९ सय रुपैयाँ तोकेको छ। तर, यातायात व्यवसायी भने १७ सय भाडा असुलिरहेका छन्।

जुम्लाबाट सुर्खेत र नेपालगन्जसम्म दैनिक आउजाउ गर्ने ५० भन्दा बढी यात्रुवाहक गाडीले भाडामा ब्रह्मलुट गरिरहेका हुन्। ‘यात्रुवाहक जिप व्यवसायीले जुम्लामा भाडा आतंक फैलाएका छन्, छिटो पुग्ने बहानामा महँगो भाडामा हामी ठगिएका छौं’, नेपालगन्जबाट जुम्ला पुगेका यात्रु पवन गिरीले भने, ‘प्रशासन यस विषयमा मौन बस्नु हुँदैन, आमनागरिकको हितका लागि पहल गर्नुपर्छ।’ छोटोभन्दा लामो दूरीमा सञ्चालन हुने सवारीले मनपरी भाडा असुलिरहेको पाइन्छ।

अव्यवस्थित टिकट काउन्टर

जुम्लामा सञ्चालित यातायात व्यवसायीले बसपार्क छाडेर सदरमुकामका सडकपेटीमा टिकट काउन्टर खोलेका छन्। बसपार्कमै सबै यातायात व्यवसायीका काउन्टर व्यवस्थापन गर्न प्रशासन तथा नगरपालिकाले निर्देशन दिए पनि त्यसको सुनुवाइ भएको छैन।

सबै काउन्टर एकै ठाउँमा नहुँदा पनि भाडादरमा मनपरी चलेको नागरिक समाजका सचिव सरोज शाहीले बताए। भाडादरमा एकरूपता ल्याउन र टिकट लिँदा सहज पार्न सबै काउन्टर बसपार्कमै हुनुपर्ने यात्रुको माग छ। चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले जुम्लामा रहेका सबै यातायात व्यवसायीलाई बसपार्कमा काउन्टर सार्न निर्देशन दिएको बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.