स्वप्नील स्मृतिको कविता- जोकर व्यवस्था
जोकरबाट शासित हुनु कति कठिन छ !
राजा/महाराजा या तानाशाहबाट भन्दा कम छ ?
कृपया हाँसेर समय नबिताउनोसहाँस्दाहाँस्दै रोएर जीवन नबिताउनोस् ।
सोच्नोस्, किन ऊ—
बीरवल र अकबरका चुट्किला सुनाइरहेछ,
महाभारत र रामायणका झेली प्रसंग गाइरहेछ,
कामसूत्रका भद्दा आसन सचित्र देखाइरहेछ,
मक्किएका उखानटुक्काले काम चलाइरहेछ,
किनभने तपाईं हाँस्दै खुरुखुरु काम गरिरहनुभएको छ,
उसको काम हँसाउनु हो
उत्तेजनामा फसाउनु हो
किनभने ऊ जोकरसँगै कसैको नोकर पनि हो
तपाईं दासको पनि दास भइरहनुभएको छ ।
जोकरबाट शासित हुनु कति कठिन छ !
जब तपाईं सपना देख्नुहुन्छ
ऊ सपनाको पनि सपना अर्थात् दिउँसै तारा देखाउँछ
तर मानौं एउटा उदाहरण—
जब तपाईंकी छोरीको बलात्कारपछि हत्या हुन्छ
बलात्कारीभन्दा ऊ कमजोर हुन्छ ।
पत्रकार सम्मेलन, अनुसन्धान, गिरफ्तार, ल्याबटेस्ट...
दुनियाँ नौटंकी गर्छ
तर, ऊ जोकर आखिर जोकर नै हुन्छ ।
न्यायलाई ऊ ‘ब्ल्यांक चेक’मा सौदाबाजी गर्छ
तपाईंको छोरा भएको भए हत्यामात्र हुनेथ्यो भन्छ;
अझ तपाईं निःसन्तान भएको भए दुइटै हुँदैनथ्यो
यसरी उल्टोसुल्टो सोच्न सिकाउँछ ।
ठीकै हो,
बलात्कारपछि हत्या भयो छोरीको,
जिउँदै छोडिएकी भए
झन् कतिपल्ट बलात्कृत हुन्थी होला ? !
जब थाक्नुहुन्छ तपाईं यसरी सोच्न थाल्नुहुन्छ
पागल भएर हाँस्न थाल्नुहुन्छ ।
जोकर व्यवस्थामा शासित हुनु साँच्चिकै कठिन छ ।