अमेरिकी राष्ट्रपति ट्रम्पको विरोधमा हजारौंको प्रदर्शन
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्धमा हजारौं अमेरिकी सर्वसाधारणले प्रदर्शन गरेका छन् । मध्यावधि निर्वाचन हुनु भन्दा एक महिनाअघि नै उनीहरु सडकमा उत्रिएका हुन् ।
नोभेम्वरमा हुने निर्वाचनको लागि डेमोक्रेट्स समर्थकले ट्रम्पको विरोध गर्दै आन्दोलन गरेका हुन् । नारावाजी सहित ‘नीलोलाई मतदान’ लेखिएका ब्यानर प्रदर्शन गर्दै उनीहरु आन्दोलित भएका हुन् । ट्रम्पलाई पहिलेदेखि नै ‘महिला विरोधी नेता’को रुपमा चित्रित गरिँदै आएको छ ।
अमेरिकाको सिकागोमा सुरु भएको यस्तो आन्दोलनलाई मूलतः डेमोक्रेट्स समर्थकले आफ्नो पक्षमा मत माग्ने शैलीको रुपमा पनि प्रयोग गरेको छ । प्रदर्शनको क्रममा हिलारीको भिडियो सम्बोधनलाई ब्यापक प्रचार सामाग्री बनाइएको छ । जहाँ उनले डेमोक्रेट्सलाई मतदानको लागि आग्रह गरेकी छन् । हिलारी क्लिन्टन अमेरिकाको पछिल्लो चुनावमा राष्ट्रपति ट्रम्पसँग पराजित भएकी हुन् ।