सार्वजनिक यातायातमा विद्युतीय सवारी
काठमाडौं : साझा यातायातले मंगलबारदेखि काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । चिनियाँ कम्पनी बीवाईडीले निर्माण गरेका दुईवटा विद्युतीय बस साझाले सञ्चालनमा ल्याएको हो । एसियाली विकास बैंक (एडीबी) सँगको समन्वयमा लुम्बिनी क्षेत्र विकास कोषले पाँचवटा विद्युतीय गाडी नेपाल भित्याएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नबनुन्जेल कोषले ती गाडी साझालाई काठमाडौं उपत्यकामा सञ्चालन गर्न दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ व्यक्तिले ठूलै तामझाम साथ विद्युतीय सवारीको स्वागत गरे । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले पाँचवटा विद्युतीय गाडी मात्र नभई यो देशको आगामी कार्यदीशा भएको घोषणा गरे । विद्युतीय बसको उद्घाटन प्रधानमन्त्रीबाट हुनुलाई वातावरण विज्ञहरूले सकारात्मक रूपमा लिएका छन् । यसले विद्युतीय सवारी प्रवद्र्धन गर्न टेवा मिल्ने धेरैको अपेक्षा छ ।
वातावरण तथा विद्युतीय सवारीका अभियन्ता पूर्ण रञ्जितकार पाँचवटा विद्युतीय सवारी भित्याउनाले वातावरण संरक्षणमा तात्विक भिन्नता नभए पनि नीति निर्माताले विद्युतीय सवारीबारे बुझ्ने अवसर सिर्जना गरेको बताए । ‘नेपाल आफैंले सवारीसाधन उत्पादन गर्दैन । अन्य मुलुकबाट आयात गरेर गाडी चढ्ने गरिन्छ’, रञ्जितकार भन्छन्, ‘आयात गर्ने हो भने विद्युतीय गाडी उपयुक्त हुन्छ । यसले देशको ठूलो धनराशि बच्नुका साथै वातावरण जर्गेना पनि हुन्छ ।’ त्यसका लागि सरकारले आवश्यक नीति नियम बनाउन समय खर्चिनुपर्ने उनको भनाइ छ । सरकारले पनि विद्युतीय सवारी प्रवद्र्धन गर्ने नीति लिएको छ । सवारी नीतिअनुसार सन् २०२० सम्म विद्युतीय सवारी २० प्रतिशतभन्दा बढी पुर्याउने उल्लेख छ ।
विद्युतीय सवारीमा प्रयोग हुने विद्युत् नेपालमै उत्पादन हुन्छ । नेपालले तीन वर्षमा तीन हजार मेगावट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । नेपालमा उत्पादन हुने जलविद्युत्को उच्चतम प्रयोग गर्न पनि विद्युतीय सवारी अत्यावश्यक भइसकेको छ ।
आम मानिसले अनुभव गर्ने गरी सरकारको तर्फबाट कुनै नीति सार्वजनिक हुन सकेका छैन । ती कागजमा मात्रै सीमित छ । रञ्जितिकार भन्छन्, ‘सम्पूर्ण देशबासीका लागि विद्युतीय सवारी चढ्ने वातावरण सिर्जना गनुपर्छ । मुलुकमा अहिले शक्तिशाली सरकार छ । जनता र राज्यको हितका लागि धेरै काम गर्न सकिन्छ । त्यसको सुरुवात विद्युतीय सवारीबाट हुन सक्छ ।’ सरकारले इच्छा शक्ति देखाए अबको साढे पाँच वर्षमा मुलुकभर विद्युतीय सवारी सञ्चालन हुन सक्ने उनको तर्क छ । त्यसका लागि सरकारले इच्छा देखाउनुपर्र्यो । ‘आजै एलसी खोलेमा ६ महिनामा विद्युतीय सवारी भित्याउन सकिन्छ । प्रत्येक वर्ष २० प्रतिशत विद्युतीय सवारी भित्याउँदा पाँच वर्षमा शतप्रतिशत पुग्छ’, उनको दाबी छ ।
मानिसको सोख तथा आवश्यकताअनुसार विश्वभर सवारीसाधनको प्रयोग बढ्दो छ । सवारीसाधनबाट निस्कने धुवाँको प्रदूषणले विश्वभर चिन्ता र चासो बढाएको छ । तापमान बढ्नुको मुख्य कारक वायु प्रदूषण नै हो । जैविक इन्जिनबाट चल्ने सवारीसाधनबाट निस्किने धुवाँले काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहर प्राभावित छन् । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार नेपालमा हाल इन्धनबाट गुड्ने सवारीसाधनको संख्या ३२ लाख नाघिसकेको छ । जसमा १२ लाख उपत्यकाभित्रै गुड्ने गरेको विभागले जानकारी दिएको छ । वातावरण विभागको तथ्यांकअनुसार देशमा वायु प्रदूषणको स्तर राष्ट्रिय मापदण्डभन्दा तेब्बर बढी छ । वायु प्रदूषणमा ३८ प्रतिशत कारकतत्व सवारीसाधनबाट निस्कने धुवाँ रहेको अनुसन्धानले देखाएको छ । पीएम २ दशमलव ५ भन्दा सानो धुलोका कणको स्रोत पेट्रोल÷डिजेलबाट चल्ने सवारीसाधन नै हो ।
भविष्य विद्युतीय सवारीको
यातायात इन्जिनियर आशीष गजुरेल अबको भविष्य विद्युतीय सवारीको भएको बताउँछन् । उनी भन्छन्, ‘नेपालमा आयात हुने अधिकतम सवारीको हिस्सा भारतले ओगटेको छ । भारतले सन् २०३० सम्म विद्युतीय सवारीमा जाने उद्घोष गरिसकेको छ ।’ नेपालमा गाडी र इन्धन दुवै उत्पादन नहुने भएकाले विद्युतीय सवारीमा जान फाइदा हुने उनको तर्क छ । विद्युतीय सवारीमा प्रयोग हुने विद्युत् नेपालमै उत्पादन हुन्छ । नेपालले तीन वर्षमा तीन हजार मेगावट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । नेपालमा उत्पादन हुने जलविद्युत्को उच्चतम प्रयोग गर्न पनि विद्युतीय सवारी अत्यावश्यक भइसकेको छ ।
केही समयमा माथिल्लो तामाकोसीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि बर्खायाममा खेर जाने बिजुली जोगाउन पनि विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने देखिन्छ । तामाकोसी जलविद्युत् आयोजना पूर्णरूपमा सञ्चालनमा आएसँगै नेपाल विद्युत्मा आत्मनिर्भर हुनेछ । तामाकोसी चार सय ५६ मेगावाटको आयोजना हो । हाल नेपालले बर्खायाममा एक सय २० मेगाहर्ज र सुक्खायाममा चार सय ५० मेगावाट विद्युत् दैनिक रूपमा भारतबाट आयात हुँदै आएको छ । ‘तामाकोसीलगायत परियोजनासँग नेपालमा खतपभन्दा विद्युत् आपूर्ति धेरै हुन्छ । खेर जाने विद्युत् यातायात र घरायसी प्रयोजनमा प्रयोग गर्नुपर्छ’, गजुरेलले भने ।
साढे तीन लाख विद्युतीय सवारी
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का उपाध्यक्ष कृष्ण दुलालले नेपालमा साढे तीन लाख विद्युतीय सवारी आयात भएको बताए । ‘पछिल्लो समय विद्युतीय सवारीमा ग्राहकको मोह बढ्दो क्रममा छ । ग्राहकको माग सम्बोधन गर्न तथा विद्युतीय सवारीको महत्वबारे सांकेतिक सन्देश प्रवाह गर्न विद्युतीय सवारी भित्रिएका छन्’, उपाध्यक्ष दुलालले भने । नेपालमा विद्युतीय कार र स्कुटर चल्न थालेको दशक पुगिसक्यो । सन् २००७ मा पहिलो पटक विद्युतीय कार रेभा भित्रिएको थियो ।
हाल नेपालमा चारपांग्रे र दुईपांग्रे गरी ३० भन्दा बढी कम्पनीले विद्युतीय सवारी बिक्री वितरण गरिरहेका छन् । नेपालमा भित्रिएका विद्युतीय सवारीमा दुईपांग्रेको हिस्सा ९९ प्रतिशतभन्दा धेरै भएको उनको दाबी छ । ‘सडक तथा चार्जिङ स्टेसनको अभावले ठूला गाडी भित्रिएका छैनन्’, उनले भने, ‘साना गाडी सुगम स्थानमा चल्ने भएकाले यसको बिक्री बढेको हो ।’ ठूला गाडी सेमिफ्लोरका हुने र खाल्डाखुल्डी सडकमा गुडाउन कठिन हुने भएकाले विद्युतीय सवारी भित्याउने इच्छा हुँदा पनि व्यवसायीले ल्याउन सकेका छैनन् । त्यसका लागि सरकारले पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
विद्युतीय सवारीलाई सहुलियत
यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक शरदचन्द्र पौडेल विद्युतीय सवारीलाई प्रवद्र्धन गर्न सरकारले सहुलियत दिनुपर्ने बताउँछन् । सरकारले जौविक इन्धनबाट सञ्चालन हुने सवारीको तुलनामा विद्युतीय सवारीलाई सहुलियत दिइरहेको छ । विद्युतीय सवारीमा एकदेखि १० प्रतिशतसम्म मात्र भन्सार शुल्क लिँदै आएको छ । भने जौविक इन्धनबाट सञ्चालन हुने गाडीमा दुई सय ४८ प्रतिशतसम्म भन्सार शुल्क लाग्छ । सरकारको विद्युतीय सवारी प्रवद्र्धन गर्ने नीतिका बाबजुत पनि लागत मूल्य बढी नै पर्ने उनी बताउँछन् ।
यसका लागि सरकारले थप सुविधा तथा सहुलियत दिए व्यवासयीहरू विद्युतीय सवारी भित्याउन इच्छुक हुने उनको तर्क छ । ‘विद्युतीय सवारीको लागत मूल्य बढी छ । व्यवसायीको लगानी सुरक्षित हुने वातावरण बनाउनुपर्छ’, पौडेलले भने, ‘त्यसका लागि सहुलियत ब्याजदरमा ऋण वा अनुदानको व्यवस्था गर्नुपर्छ ।’ विद्युतीय सवारी प्रवद्र्धन गर्न मागअनुसार रुट इजाजत दिनुपर्छ । साथै, निःशुल्क पार्किङ, कर छुटलगायत व्यवस्था गर्न सके विद्युतीय सवारीको प्रयोग स्वतः वृद्धि हुन्छ ।
निजी कम्पनी पनि विद्युतीय सवारीमा
पछिल्लो समय निजी सार्वजनिक यातायात व्यवसायीले पनि विद्युतीय सवारी भित्याउन खोजिरहेका छन् । यसले पनि विद्युतीय सवारीप्रतिको मोह बढ्दो क्रममा रहेको देखाउँछ । नेपालमा हालसम्म निजी क्षेत्रका विद्युतीय सार्वजनिक बस चलेका छैनन् । तर, पछिल्लो समय काठमाडौंमा विद्युतीय बस ल्याउने विभिन्न कम्पनीले तयारी गरिरहेका छन् ।
मयुर यातायात, सुन्दर यातायात, गोर्खा ईकोलगायत कम्पनीले यसका लागि गृहकार्य गरिरहेका छन् । मयुर यातायात कम्पनीका उपाध्यक्ष चन्द्र लामाले काठमाडौंका सडकमा गुडाउन ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहेको बताए । पछिल्लो समय ठूला बस ल्याएर सेवा दिइरहेको मयुरले विद्युतीय बस किन्ने प्रक्रिया अघि बढाएको छ । त्यसका लागि बजेट छुट्याइसकेको उनको दाबी छ । मयुरले ल्याउने भनेको विद्युतीय बस २५ देखि ४२ सिट क्षमताका हुनेछन् । ती बसको अनुमानित मूल्य एक करोड ६८ लाखदेखि एक करोड ८६ लाख सम्म पर्ने बताइएको छ ।
व्यापार घाटा घट्ने
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्मा विद्युतीय सवारीले वातावरण जोगाउन र व्यापार घाटा न्यूनीकरण गर्न सहयोगी हुने बताउँछन् । ‘विद्युतीय गाडीलाई डिजेल र पेट्रोल चाहिँदैन । इन्धन आयातमै राज्यको अर्बौं रुपैयाँ बाहिरिने गरेको छ’, शर्माले भने, ‘विद्युत् नेपालमै उत्पादन हुन्छ ।’ नेपालले गत आर्थिक वर्ष एक खर्ब ५५ अर्ब रुपैयाँको इन्धन आयात गरेको छ । इन्धनका लागि भारतको भर पर्नुपर्ने अवस्था छ ।
भारतसँगको कुल व्यापार घाटामा सबैभन्दा ठूलो हिस्सा इन्धनले ओगटेको छ । इन्धनको आयातदर प्रतिस्थापन गर्न सके व्यापार घाटा कम हुने निश्चित छ । २०७२ साल असोजमा भारतले लगाएको नाकाबन्दीको समयमा नेपालमा इन्धनको ठूलो हाहाकार मचिएको थियो । विद्युतीय सवारीको प्रयोग बढाउन सके भारतको परनिर्भतामा रहनुपर्ने बाध्यता घट्नेछ ।
डिजेल तथा पेट्रोलबाट चल्ने सवारीको तुलनामा विद्युतीय सवारीमा लुब्रिकेन्ट, क्लज, फिल्टरलगायत पार्टपुर्जा लाग्दैन । नाडाका अनुसार गत आर्थिक वर्ष साढे १६ अर्ब रुपैयाँ बराबरको सावरीसाधनका लागि लिुब्रकेन्टलगायत पार्टपुर्जा आयात भएको थियो । विद्युतीय सवारीको प्रयोग बढाउन सके केही हदसम्म पार्टपुर्जाको आयात रोक्न सकिन्छ ।
नेपालमा पहिलै थियो विद्युतीय बस
नेपालमा विद्युतीय बसको इतिहास चार दशकभन्दा लामो छ । तर राजनीतिक खिचातानी र कार्यकर्ता भर्ती केन्द्रको रूपमा परिणत भएपछि चीन सरकारको अनुदान सहयोगमा सञ्चालित ‘ट्रली बस’ लामो समयसम्म सञ्चालन हुन सकेन । २०३२ पुस १४ देखि ट्रली बस सञ्चालनमा आएको थियो । तीन दशकसम्म राजधानीबासीलाई सेवा दिएको उक्त ट्रली बस २०६६ सालदेखि पूर्णरूपमा बन्द भयो ।
काठमाडौंबाट मध्यपुर ठिमी र भक्तपुरको सूर्यविनायकसम्म १३ किलोमिटर सडकमा सञ्चालन भएका ३२ वटा ट्रली बस अहिले कवाडीमा परिणत भइसकेका छन् । ४३ वर्षअघि २२ ट्रली बससहित चीन सरकारले स्थापना गरिदिएको ट्रली बस सेवामा २०५२ सालमा दाताले १० वटा बस थपेको थियो । बन्द हुने बेलासम्म नौवटा मात्र चालू अवस्थामा थिए ।
चीन, भारत, अमेरिका, युरोपियन मुलुकले निश्चित समय तोकेर फोसिल फ्युलबाट चल्ने सवारीलाई विद्युतीय गाडीबाट विस्थापित गर्ने उद्घोष गरिसकेका छन् । नेपालले पनि त्यसैको अनुसरण गरी सार्वजनिक यातायातमा विद्युतीय सवारी सुरु गर्न खोजिरहेको छ ।
लागत मूल्य बढी
जौविक इन्धनबाट सञ्चालन हुने सवारीको तुलनामा विद्युतीय सवारीको लागत मूल्य बढी छ । अन्तर्राष्ट्रिय बजारमै विद्युतीय सवारीमा लाग्ने ब्याट्रीको मूल्य अधिक भएर लागत मूल्य धेरै भएको जानकारहरूको भनाइ छ । प्रतिघण्टा एक किलोवाट विद्युत् खपत गर्ने ब्याट्रीको अन्तर्राष्ट्रिय बजारमा तीन सय ५० अमेरिकी डलर छ । हाल अधिकतम विद्युतीय सवारीमा लिथियम आयन ब्याट्री प्रयोग हुन्छ । लिड एसिड, निकेल मेटल हाइड्राइड, जेब्रा हुँदै लिथियम आयनसम्म आइपुगेको छ ।
ब्याट्रीको प्रविधिमा बढोत्तरी हुने क्रममा मूल्य घट्ने टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलोन माक्सको भनाइ छ । प्रविधिको विकाससँगै प्रत्येक वर्ष २० प्रतिशतले मूल्य घट्दै जाने उनी बताउँछन् । निकट भविष्यमा ब्याट्री एक सय अमेरिकी डलरभन्दा सस्तो हुने उनको दाबी छ । ब्याट्रीको मूल्यमा कमी आएसँगै विद्युतीय सवारी पनि जौविक इन्धनबाट चल्ने सवारीकै मूल्यमा खरिद गर्न सकिन्छ ।
साझाले भित्याएका विद्युतीय बस
साझाले काठमाडौंमा सञ्चालन गर्ने विद्युतीय बसमा चालकसहित २० सिट क्षमता र दुईवटा ह्विल चेयर राख्ने स्थान छ । ह्विलचेयरमा यात्रा गर्ने व्यक्तिलाई गाडीमा चढाउन लिफ्ट पनि छ । यी गाडीमा सीसी क्यामरा, उभिएर यात्रा गर्नेका लागि ह्यांगरलगायत सुविधा छन् । बसको उच्च गती १०० किलोमिटर प्रतिघण्टासम्म छ ।
यसले १५० किलोवाट पावर र ५५० एनएम टर्क दिन्छ । यो बस पूरा चार्ज गर्न तीनदेखि चार घण्टा लाग्ने र पूरा चार्ज भएको गाडी दुई सय किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ । यसको मूल्य करिब एक करोड ७५ लाख रुपैयाँ बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !