‘नयाँ वर्ग’ जन्माउने कारखाना
हरेक राजनीतिक परिवर्तनले समाजको मुहार नफेरे पनि नयाँ सम्भ्रान्त वर्ग भने हरेकपटक जन्माइरहेको ‘केस–स्टडी’ बन्न सक्छ नेपाल
अचेल हाते फोनहरू खास पत्रकारसरह भएका छन्, जसले लुकाउन खोजिएको सत्य र नदेखाउन खोजिएको मनोविज्ञानलाई पनि फुत्त–फुत्त फोटोका रूपमा बाहिर ल्याइदिन्छ। शीतलनिवासभित्र स्थानान्तरित सामन्तवाद यसपालिको दसैंमा यसैगरी सार्वजनिक भइदियो। कसैले घुँडा टेकेको, केहीले त घुँडै धसेको, अनि राष्ट्राध्यक्षले चाहिँ आरामसँग सोफामा बसेर टीका लगाइदिएको दृश्य सार्वजनिक सञ्जालभरि फैलियो।
तत्कालीन राजाले आफूलाई ‘प्रभु’ र अरूलाई ‘प्रजा’ मान्दै टीका लगाइदिने गरेको परम्परालाई गणतन्त्रका प्रतीकले पनि प्राथमिकता दिनु आफैंमा उदेकलाग्दो छँदैछ (इच्छुकलाई लगाइदिँदा हुन्छ, तर त्यसका लागि धुमधामको कार्यक्रम नै बनाउन जरुरी छैन), त्यसमाथि अपमानित शैलीमा टीका लगाइदिने प्रवृत्तिले नेपाली समाजबाट पुराना सामन्तहरू लोप भए पनि सामन्तवादका प्वाँखहरू बाँकी नै रहेछन्– यस्तै देखियो। शीतलनिवासको टीका प्रकरण यो प्रवृत्तिको एउटा दृष्टान्त मात्र हो।
गत मंगलबार साझा यातायातमा विद्युतीय बस भिœयाउने कार्यक्रम थियो। प्रमुख अतिथि थिए प्रधानमन्त्री। मन्त्री, सचिव, सरकारी अधिकारी, विदेशी राजदूत, कूटनीतिज्ञ आदिको ठूलो भीड थियो। चिरपरिचित कनकमणि दीक्षित निम्तालु रहेकाले होला– काठमाडौंको ‘हु–इज–हु’ जमात पनि बिहानै हाजिर थियो। ती सबैलाई प्रधानमन्त्रीले झन्डै एक घन्टा कुराइदिए। सायद प्रधानमन्त्रीका निम्ति यो नयाँ कुरा थिएन, तर त्यहाँ सयौं मानिसको समय र धैर्यमाथि खेलबाड भइरहेको थियो।
दसैंको बेला काठमाडौंको ट्राफिक तुलनात्मक रूपले खुला हुने गर्छ, तर लाजिम्पाटमा अचानक जाम भइदियो– झन्डै एक घन्टा यात्रुहरूको बिचल्ली भयो। कारण बुझ्दा ‘सवारी’ रहेछ। जनताबाट चुनिएका ओहोदावालहरू हिँड्डुल गर्दा जनतालाई नै सास्ती दिँदै घन्टौं सडक ठप्प पार्नु मूलतः सामन्ती शैलीकै शक्ति प्रदर्शन हो। आवश्यक सुरक्षा प्रबन्ध मिलाउन त्यस स्तरको ‘आतंक’ मच्चाउनै पर्दैन।
एकजना मित्रले चिया–भेटमा बोलाएका थिए। उनी नेता हुन्, अहिले मन्त्री पनि छन्। उनीकहाँ पस्दा बाहिर निकै ठूलो भीड थियो। केहीबेर कुराकानी गरेर म निस्कनँ खोजें। उनले एकछिन बसौं न भनेर कर गरे। केहीबेर बसें अनि फेरि निस्कन खोजें। उनले फेरि पनि गफ तन्काउन खोजे।
मैले भनें, ‘बाहिर यतिका मान्छे पर्खिरहेका छन्।’
‘यस्तै हो, आउँछन्, बस्दै गर्छन्।’
उनलाई कुनै हतारो थिएन। वास्तवमा प्रभावशाली नेताहरूको हैसियत–मापन पनि मानिँदो रहेछ यस्तो भीड। ‘बरु कुनै दिन मान्छे आएनन् भने आफ्नो लोकप्रियता (कि शक्ति ? ) घटेको हो कि जस्तो लाग्छ’, उनले नलुकाई भने। मलाई लाग्यो– राणाकालमा बिहान–बिहान औपचारिक रूपमै चाकडी गर्न दरबार धाउने चलनले अझै कुनै न कुनै रूपमा निरन्तरता पाइरहेको छ।

मैले सबै नेतालाई एउटै घानमा हालेर सामान्यीकरण गर्न खोजेको होइन, तर उनीहरूमध्ये धेरैमा आफूलाई ‘विशेष’ ठान्ने, अरूलाई ‘आम’ मान्ने अनि त्यसैअनुरूप हेपाहा व्यवहार गर्ने प्रवृत्ति बढ्दै गएको छ। हिजो जसले आफूविरुद्ध शासन गर्यो, आफू पनि त्यस्तै बन्ने, अझ सकियो भने त्यसभन्दा उपल्लो शासकीय हैसियत बनाउन खोज्ने अन्यत्र पनि देखिएको प्रवृत्तिकै पुनरावृत्ति हो यो। नवसामन्तवादको यस्तो विस्तार गणतन्त्रकालमा झनै मौलाएको छ।
निश्चय पनि समस्या नेताहरूमा मात्र देखिएको होइन, बुद्धिजीवी, पत्रकार, प्रशासक, व्यवसायीलगायत समाजका अन्य क्षेत्रमा पनि विसंगति उत्तिकै छ। तर राजनीतिज्ञहरू राज्यको मूल जिम्मेवारीमा रहेको र सार्वजनिक जवाफदेहिताको अघिल्लो पंक्तिमा भएकाले अौंला उनीहरूतर्फ बढी ठडिएको हो।
नेताहरू आफू बदलिए, तर समाजको मुहार बदलिएन। फलस्वरूप हरेक परिवर्तन दुर्घटनामा पुगेर टुंगियो। कतै हामी फेरि अर्को यस्तै पानीढलोतिर उभिन लम्किरहेका त होइनौं ?
हरेक राजनीतिक परिवर्तनले अपेक्षित आर्थिक परिवर्तन ल्याउन नसके पनि हरेकपटक नयाँ सम्भ्रान्त वर्गको उदय भने राम्रैसँग गराइरहेको ‘केस–स्टडी’ बन्न सक्छ हाम्रो मुलुक। ‘नयाँ वर्ग’ को उदयका सम्बन्धमा कुनै बेलाका युगोस्लाभ कम्युनिस्ट नेता मिलोभान जिलासले आफ्नो अध्ययन र अनुभवका आधारमा ६० वर्षअघि निकालेको निष्कर्ष हाम्रो सन्दर्भमा अहिले पनि मेल खान्छ। परिवर्तनको सपना देखाउने नेतृत्वदायी जमात नै कसरी नयाँ शासकीय वर्गमा रूपान्तरण हुन्छ र आम जनताले तिनबाटै सास्ती खेप्नुपर्छ भन्नेबारे उनको विश्लेषण अहिले पनि प्रासंगिक छ।
एक समय मार्सल टिटोका उत्तराधिकारी ठानिने उनले गुरिल्ला युद्ध लडे, क्रान्तिको अगुवाइ गरे, उपप्रधानमन्त्री भए, उपराष्ट्रपति पनि बने, तर अन्त्यमा सबै छाडेर लेखक बन्न पुगे। र, आफ्नै सहकर्मीविरुद्ध विद्रोह गर्न थाले, किनभने उनीहरू नै ‘नयाँ वर्ग’ मा रूपान्तरण भइसकेका थिए। मिलोभानले सन् १९५७ मा ‘द न्यु क्लास’ पुस्तक लेखेर यसको सैद्धान्तीकरण गरेका थिए, जसको चुरो कुरो कसरी एउटा दमनकारी सत्ताविरुद्ध लडेको समूह नै पछि गएर त्यस्तै सत्ताको व्युह रचनामा लाग्छ र नयाँ सम्भ्रान्त समुदाय बन्न पुग्छ भन्ने हो। यो र यस्तै यथार्थ लेखेबापत उनले लामै समय जेल र नजरबन्दमा बिताउनुपरेको थियो।
मिलोभानको विश्लेषणले मूलतः कम्युनिस्ट शासन पद्धतिको सैद्धान्तिक चिरफार गरेको छ। हाम्रो हालको सत्ता संरचनामा पनि वाम बाहुल्य छ। तर मैले जुन प्रवृत्तिको कुरा गर्न चाहेको हो, त्यो वामपन्थी नेताहरूमा मात्र सीमित छैन। हामीकहाँ जो सत्तामा जान्छ, हरेकले उही–उस्तै नवसामन्तवादी हैकम देखाउन खोजिहाल्छ। यसमा प्रतिपक्षी कांग्रेस नेताहरू पनि कम छैनन्। त्यहाँ थुप्रै नेता त्यसैगरी नवसम्भ्रान्त वर्गमा परिवर्तित हुन चाहन्छन्, जुन बाटो उनीहरूलाई आफ्ना सभापतिले देखाएका छन्।
अलि मिहिन ढंगले केलाउने हो भने काठमाडौं खाल्डोमा तिनै २०–२५ परिवार देखिन्छन्, जसले जुनसुकै सत्ता आए पनि र जोसुकैको सरकार बने पनि घुमाइरहेका छन्। व्यापार, व्यवसाय, कमिसन एजेन्ट, सेना, प्रहरी आदिमा उनीहरूकै पकड र प्रभाव छ। २०४६ सालपछि अलिकति र २०६२–६३ को परिवर्तनपश्चात् अलि धेरै बिचौलियाहरू थपिए होलान्, नत्र सात दशकदेखि नेपाल नचाउने समूह लगभग उही हो।
तराई–पहाडका कुनाबाट सरकार चलाउन आउने राजनीतिज्ञ काठमाडौंको स्थायी सत्ताको दृष्टिमा प्रायः बाहिरियाहरू हुन्। त्यस्ता ‘बाहिरिया’ जसलाई राजधानीको अनौपचारिक अवयव थाहा हुन्न। उनीहरू आफू ‘नयाँ वर्ग’ बन्न चाहेका त हुन्छन्, तर नवधनाढ्य कसरी हुने– जानेका हुन्नन्। त्यहींनेर यहाँका पुराना सम्भ्रान्त र नयाँ कमिसन एजेन्टहरूको भूमिका जोडिन्छ। प्रायः काठमाडौंबाहिरको मध्यमवर्गीय परिवारबाट आएका नेताहरूलाई यही वर्गले घुमाउँछ। पाँचतारे संगत यसैले गराउँछ। भ्रष्टाचार गर्न यसैले सिकाउँछ।
नेताहरू ‘विचरा’ नजानेर फस्दा रहेछन् भन्न खोजेको होइन। वास्तवमा जो नेता यो जञ्जालको अंग हुन चाहँदैनन् या मान्दैनन्, तिनलाई किनारा लगाउन खोज्ने तत्व आफ्नै पार्टीभित्र पर्याप्त हुन्छन्। त्यसैले धेरै नेताको ध्याउन्न– कसरी आफू उच्च वर्गमा उक्लिने– त्यसैमा हुन्छ। मन्त्री नहुँदा पनि निश्चित आय आइरहोस्, पार्टीमा हैकम जमाउन र गुट चलाउन सक्ने आर्थिक स्रोत रहिरहोस्– यस्तै ‘स्तरोन्नति’ धेरैले चाहेका हुन्छन्। राजनीतिक संरक्षणमा छाया व्यापार त्यत्तिकै फस्टाएको हैन !
यो सबै गर्दागर्दै अधिकांशलाई सत्ताको मात कति लाग्छ भने हिजो राजा–रजौटाले जे–जे गर्थे, त्यही–त्यही गर्न मन लाग्न थाल्छ। राजाका छोराले जे गर्थे, नेता–पुत्रहरूलाई त्यस्तै हर्कत देखाउन मन लाग्छ। हिजोका शासकले जे गर्थे, त्यसभन्दा अगाडि बढेर हैकम प्रदर्शन गर्न मन लाग्छ। त्यसका निम्ति उचाल्ने माथि उल्लिखित एउटा निश्चित वर्ग यहाँ तम्तयार छँदैछ। तिनलाई सजिलो के भने उनीहरू पानीमाथिको ओभानो भइहाल्छन्, बदनामी त राजनीति, राजनीतिज्ञ, राजनीतिक दल र शासन पद्धतिको हुने हो– जसको उनीहरूलाई के मलतब ! आफूले ल्याएको परिवर्तनलाई बदनाम गराउने निमित्त पात्र आफैं बनिरहेको नेताहरूलाई पत्तै हुन्न।
नेपाली राजनीतिमा यो चक्र निरन्तर चलिरहेको छ। सोच र शैली नबदलिएसम्म राजनीतिक व्यवस्था या संविधान बदलिएर मात्र केही नहुँदो रहेछ। नत्र त विगत सात दशकमै तीनवटा ठूलाठूला राजनीतिक परिवर्तन मुलुकले देखिसकेकै हो। तर २००७, २०४६ र २०६२–६३ सालका परिवर्तनले एक–एकवटा ‘नयाँ वर्ग’ जन्माउनेबाहेक आम मानिसको जीवनमा आर्थिक कायापलट ल्याउन सकेन। नेताहरू आफू बदलिए, तर समाजको मुहार बदलिएन। फलस्वरूप हरेक परिवर्तन दुर्घटनामा पुगेर टुंगियो। कतै हामी फेरि अर्को यस्तै पानीढलोतिर उभिन लम्किरहेका त होइनौं ?
प्रतिक्रिया दिनुहोस !