फूलजस्तो नरम, बज्रभन्दा कठोर

फूलजस्तो नरम, बज्रभन्दा कठोर

अपरिमित पारिवेशिक परिघटनामय सम्झनाका तरेलीहरूले उहाँको व्यक्तित्व मेरो मस्तिष्कभरि छाएको छ।


‘कसैको जीवन टुंगो छैन तर मेरो जीवनको टुंगो छ। औसत दुईचार वर्ष हो, आगे उपरवालाको मर्जी। भविष्य चिन्ता व्यर्थ हो, आफ्नो नियन्त्रणमा छैन, सोच्नै नपाई आइसक्छ, मेरोजस्तो रोग। अनि चिन्ताले केही थेगिने पनि होइन। चिन्ता जानेलाई होइन नजानेलाई हुन्छ। मेरो जाने टिकट र भ्रमण आदेश आइसकेपछि अब केको चिन्ता ? सबैको जन्मँदै दुईतर्फी टिकट बनेको हुन्छ। फर्कने मितिमात्रै गोप्य हुने हो (पृ. १६७)।’

माथिको पंक्ति साहित्यकार जगदीश घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘अन्तर्मनको यात्रा’को हो। यतिखेर मेरो स्मृतिमा साहित्यकार जगदीश रहेका छन्। अपरिमित पारिवेशिक परिघटनामय सम्झनाका तरेलीहरूले उहाँको व्यक्तित्व मेरो मस्तिष्कभरि छाएको छ। मैले विगतमा आफूले जस्तो देखेँ, भोगेँ त्यस्तैमा जगदीशलाई शब्दचित्रमा वर्णन गर्ने जमर्को गरेको छु।

रामेछाप बसाइका करिब सत्ताइस वर्षे दौरानमा यहाँ रहेका पेसा, आर्थिक अवस्था र दर्शनका दाउनमा कला खेलाउने वैविध्य हाँचका अनेकानेक मानिससँग उठबस, रसोबसो र सरसंगत गर्ने अधिक मौका पाएँ। एक हिसाबले भन्दा मलाई रामेछापले सामाजिक विश्वविद्यालयको सिकारू हुने पउल अवसर दिएर लेखनलाई निजी अनुभूतिका चास्नीमा घोलेर लेख्न सिकायो। त्यसका प्रेरक जगदीश घिमिरे पनि थिए। घिमिरे २०७० कात्तिक १४ गते आफ्ना कृति र कीर्तिहरू समाजलाई सुम्पेर अनन्त यात्राका यात्री भइसकेका छन्।

माइलोमा नामक क्यान्सरबाट करिब आठ वर्ष गुज्रँदा असीम आत्मबल र औषधिका माध्यममा बाँचेका घिमिरे नेपाली साहित्यमा बीसको दशकदेखि अनवरत सत्तरीको दशकसम्म लेखन, चालीसको दशकदेखि सामाजसेवा र राजनीतिक वृत्तमा चलायमान नामका रूपमा रहेका थिए।

लेखकका रूपमा घिमिरेलाई तीसको दशकमै रचना, रूपरेखा, मधुपर्क, अभिव्यक्ति, गोरखापत्र र गरिमाजस्ता पत्रिकामा रुचिपूर्वक पढिए पनि उनीसँग आमनेसामने भई साहित्यिक भलाकुसारी गर्ने सुयोगचाहिँ मैले २०५० सालमा मात्र पाएको हुँ। तिनताक अहिलेजस्तो रामेछापमा मोटरबाटो, ईमेल र इन्टरनेटजस्ता आधुनिक प्रविधिमय सुविधा थिएनन्। यातायात नाममा शाही नेपाल वायुसेवा निगमको जहाज हप्ताको तीन दिन आउँथ्यो। हामी जहाजमा आउने बासी गोरखापत्र र थोरबहुत साप्ताहिक पत्रिका पढेर ज्ञानतिर्खा मेटाउँथ्यौं। घिमिरे आफूबाट स्थापित संस्थाका विकासे कार्यक्रमहरूको निरीक्षण गर्न सहयोगी र विदेशी मित्रहरूका साथ मन्थली आउनुभएको थियो। म आफू साहित्यको पाठक र स्थानीय अध्यापक भनेपछि क्रमशः उहाँसँग नजिकिएको थिएँ। खरो र हक्की स्वभावका हुनुभएकाले उहाँसँग खुलेर संवाद गर्न धक लाग्थ्यो। उहाँसँग ठट्टा÷मजाक गर्न जोकोही हच्कन्थे।

पहिलोपटक उहाँसँग एउटा वार्ता गरेँ। सायद २०५० सालतिर हुनुपर्छ चितवनबाट प्रकाशित रामबाबु घिमिरे सम्पादक तथा हिक्मत थापा कार्यकारी सम्पादक रहेको ‘सम्प्रेषण’ साहित्यिक त्रैमासिकका लागि। अन्तर्वार्तामा पुरस्कार सन्दर्भमा उहाँले भन्नुभएको थियो, ‘साहित्यकारले पाएको पुरस्कार तरकारी किन्दा फोसामा पाएको खोर्सानी हो।’

हाम्रो विद्यालयमा उहाँले अलिअघि २०४९ सालतिर यूएससी क्यानाडा नामक संस्थाबाट केही रकम सहयोग जुटाइदिएर धुलाम्मे कक्षाकोठालाई प्लास्टर र फ्लोरिङ गर्न मद्दत गर्नुभयो। उहाँ प्रत्येक हिउँदमा मन्थली आउनुहुन्थ्यो। हेर्दैमा विदेशीजस्तो अग्लो देखिने, आकर्षक जीउडाल र उम्दो काँटका घिमिरे प्रायः हलुका फलामे लौरो टेक्ने र क्रिकेटरले लगाउनेजस्तो ठूलो ह्याट लगाउनुहुन्थ्यो। खानपिन र डे«सअपमा असाध्यै ध्यान दिने जगदीश ‘फूलजस्तो नरम र बज्रभन्दा कठोर’ वैपरीत्य स्वभावका हुनुहुन्थ्यो। बोल्दा ओजयुक्त स्वरमा र तार्किक र नेतृत्वदायी अभिव्यक्तिका वाणी प्रकट गर्नुहुन्थ्यो। आफूले बोल्दा श्रोताले सुने नसुनेको निकै तन्मयका साथ विचार्ने हुँदा वरिपरिका मानिसहरू पिन ड्रप साइलेन्ट मुडमा बस्थे।

मैले उहाँसँग २०५० देखि २०७० सालबीच करिब २० वर्षका सान्निध्यमा रहँदाबस्दा लिएका साहित्यिक र साप्ताहिक पत्रिकाका करिब एक दर्जनभन्दा बढी अन्तर्वार्ता र भलाकुसारीमा उहाँको मेधावी शक्ति र कुशाग्रताको पहिचान पाएँ। २०५६ सालको कुरा हो। म मन्थलीमै पढाउँथे। ‘साहित्यकार जगदीश घिमिरेको व्यक्तित्व र कृतित्व’ शीर्षकमा वैकुण्ठ पौडेल भन्ने एकजना भाइ एमए नेपालीको थेसिस लेख्न आए। त्यस बेला उहाँले आफ्नो ‘तामाकोसी सेवा समिति’को अफिसमा मलाई बोलाएर पौडेलसँग परिचय गराई उहाँका बारे मैले पढेजानेका कुराहरू, मैले उहाँका बारे राष्ट्रिय स्तरका पत्रपत्रिकामा प्रकाशित गरेका वार्ता र फिचरहरूका फोटोकपी उपलब्ध गराइदिन अनुरोध गर्नुभयो। त्यस बेला म ‘जनमञ्च’ र ‘आजको समाचारपत्र’मा काम गर्थें। मैले मसँग भएजति सबै सामग्री वैकुण्ठजीलाई उपलब्ध गराएँ। थेसिसकै सिलसिलामा केहीपटक म उहाँको चोभारस्थित घर गएको छु।

पछि उहाँ जब हिउँदका याममा मन्थलीमा काठमाडौंबाट विभिन्न हाँचका कवि, साहित्यकार र पत्रकारहरू निमन्त्रणा गरेर साहित्य महोत्सव गराउनुहुन्थ्यो, त्यस बेला मेरो खोजी हुने गर्थ्यो। म आफूले सकेजति साहित्यिक र रचनात्मक सहयोग गर्थें। २०६० फागुनको पहिलो हप्ता मन्थलीमा वसन्त काव्य संगम नाममा साहित्यिक संगोष्ठी गर्‍यौं। गोष्ठीमा प्रमुख अतिथि भएर वरिष्ठ साहित्यकार मदनमणि दीक्षित आउनुभएको थियो। संगोष्ठी संयोजनमा म थिएँ। सो सन्दर्भ ‘रामेछाप साहित्यिक महोत्सव’ उपशीर्षक दिई उहाँको कृति ‘अन्तर्मनको यात्रा’को दोस्रो संस्करणमा उल्लेख गर्नुभएको छ। दिनभरि भएको सो कार्यक्रममा वरिष्ठ आख्यानकार दीक्षितको ऐतिहासिक ‘कृतिभूमिशुक्त’ नामक कृति घिमिरेबाटै लोकार्पण गरिएको थियो।

विसं २०६० देखि २०६५ सम्म हरेक वर्ष रामेछाप साहित्यिक महोत्सवका नाममा नेपाली साहित्य, संगीत, कला र पत्रकारिताका क्षेत्रमा चर्चित स्वनामधन्य हस्तीहरू सयौंका संख्यामा मन्थली आए। त्यसरी आउँदा कहिल्यै नछुट्ने कलमजीवीमध्ये सम्पादकद्वय नगेन्द्रराज शर्मा, रोचक घिमिरे र गजलकार ज्ञानुवाकर पौडेल हुन्। ज्ञानु दाइको गजल र मुसायरा वाचनशैली अनि जोक गर्ने स्टायललाई उद्धृत गर्दै स्थानीय अखबारमा हामी स्तम्भ बनाएर लेख्थ्यौं।

मन्थलीमा हुने साहित्यिक जमघटहरूमा रामेछापबाट निरन्तर साहित्य लेखिरहनेहरूमा रामचन्द्र वियोगी, डा. सुमन कर्माचार्य, माधव सयपत्री, माधव काफ्ले र म गरी पाँचजना कहिल्यै छुट्दैनथ्यौं। पछिल्ला केही वर्षका कार्यक्रममा कथाकार सयपत्री अनुपस्थित रहे। हाम्रो खोजखबर नगरी उहाँको चित्त बुझ्दैनथ्यो। दिनभरि साहित्यिक माहोललाई एकातिर साथ दिनु त पथ्र्यौ नै, साँझमा हुने क्याम्प फायरमा पनि सक्दो उपस्थिति जनाउनु पर्थ्यो।

विसं २०६४ को हिउँद प्रसंग। प्रसिद्ध समालोचक कृष्णचन्द्रसिंह प्रधान, निबन्धकार तथा अनुसन्धाता कमलमणि दीक्षित र वरिष्ठ कलाकार किरण मानन्धरले क्याम्प फायरकै क्रममा चलाउनुभएको कला, साहित्य र समालोचनाको सत्र (लगभग कक्षा) त्यो हिउँदको सुस्वादु श्रवणीय र दिगन्त सत्र रहेको अझै मनमा छ। आफूमात्र चर्चित हुने मञ्च नबनाई अरूलाई समेत मञ्च उपलब्ध गराउनु जगदीशको शैली थियो।

विसं २०६८ मा सकस आख्यानलाई अन्तिम रूप दिन मन्थली लेखन शिविरमा आउनुभएको थाहा पाएर उहाँलाई प्रमुख अतिथि बनाएर त्रिदिवसीय पहिलो रामेछाप कला प्रदर्शनी–२०६८ उद्घाटन गराएँ। अनि त्यसै हिउँदको होली पर्वका दिन उहाँकै संस्था तासेसमा होली कविगोष्ठी गरी अनौपचारिक साहित्यिक मञ्चलाई पुनर्जीवन दियौं।

विसं २०६९ पुसमा हाम्रो क्याम्पसमा बीए, बीएड र एमएड पढ्ने विद्यार्थी र नेपाली भाषा शिक्षकहरूलाई उहाँको लेखक व्यक्तित्वको जानकारी गराउन एउटा लघु अन्तरक्रिया राखेका थियौं। सो बखत पाठ्यक्रममा समावेश र बाँचेका स्रष्टा निबन्धकारहरूमा डा. तारानाथ शर्मा र आफू मात्र पुरानो पुस्ता भएको बताउँदा श्रोताहरू मक्ख परेका थिए। उहाँसँग मैले लिएको अन्तिम अन्तर्वार्ता २०६८ मंसिर १५ गतेको रहेछ, जसमा उहाँले ‘म परि श्रम गर्ने मानिस हुँ’ भन्नुभएको छ।

हो, उहाँ समय, बोली र लवाइखवाइका सवालमा अत्यन्त मेनेजेबल पर्सन हुनुहुन्थ्यो। उहाँ लेखकका आवरणमा ‘फूलजस्तो नरम’ र व्यवस्थापकीय दायित्वमा ‘बज्रभन्दा कठोर’ विशेषताको व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले स्थापना गरेका तामाकोसी सेवा समिति, तामाकोसी सहकारी अस्पताल, मन्थली साकोस र तामाकोसी सामुदायिक पुस्तकालय जस्ता विकासे र सेवामूलक सामाजिक संस्थाहरू ‘रामेछापमा जगदीश राज’ विशेषण बोकेर यद्यपि रामेछापेली जनताका विविध सेवामा सक्रिय छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.