जुम्लामा बन्यो अग्लो स्तुप
जुम्ला : विश्वमा दिगो शान्तिको कामना गर्दै जुम्लामा देशकै ठूलो बौद्ध शान्ति स्तुप निर्माण गरिएको छ। जुम्ला र मुगुमा बस्ने मुगाली समुदायले चन्दननाथ नगरपालिका–४ सिंगाचौरमा ७२ फिट अग्लो र ३२ फिट चौडाइको स्तुप बनाएका हुन्। उक्त स्तुप बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका छन्।
स्तुपमा तीन दिनदेखि जारी विश्व दिगो शान्तिको कामना तथा अभिषेक कार्यक्रममा शरण विनायक धर्मगुरु रब्ज्याम रिन्पोछेन्युद्वारा प्रवचन भइरहेको छ। स्तुप बनाउन करिब ३० करोड रुपैयाँ खर्च भएको छ। स्तुप ०६८ सालबाट बनाउन सुरु गरिएको हो। प्यागोडा शैलीमा स्तुप निर्माण गर्दा नुनदेखि सुनसम्मका सामग्री प्रयोग गरिएका छन्। हिंसा नहोस् भन्नका लागि हतियार, तरबार तथा भोकमरी नहोस् र उत्पादन वृद्धि होस् भनेर स्तुप निर्माणमा अन्नपातसमेत प्रयोग गरिएको छ।
जनजाति अगुवा तथा स्तुप व्यवस्थापन सदस्य फुर्वा छिरिङ लामाले भने, ‘स्तुप निर्माणमा धातुदेखि अमेरिकाबाट सहयोग भएको करिब २८ टन किताब प्रयोग गरेका छांै।’ सरकारी तथा निजी क्षेत्रबाट पनि सहयोग भएको उनले बताए। निर्माणपछि बौद्ध स्तुप पर्यटनको आकर्षण केन्द्रविन्दुका रूपमा विकास हुन थालेको छ।

स्तुप उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी।
शान्ति स्तुपले यहाँको पर्यटन विकासमा टेवा पुर्याउने भन्दै स्तुपको दिगो संरक्षणमा जोड दिनुपर्ने मन्त्री रवीन्द्र अधिकारीले बताए। देशका यस्ता पुरातात्विक सम्पत्ति संरक्षण एवं सम्वद्र्धनका लागि राज्यको तर्फबाट पनि सहयोग रहने उनको भनाइ छ। उनले भने, ‘जुम्लाको स्तुप, चन्दननाथ मन्दिर हुँदै राराताल जाने पर्यटकको संख्या बढाउन जुम्ला विमानस्थल स्तरोन्नति हुँदै छ, केही समयपछि आन्तरिक तथा बाह्य पर्यटकको ओहिरो लाग्छ।’
यसैबीच, मन्त्री अधिकारीले पूर्व शान्ति तथा पुनर्निर्माण राज्यमन्त्री एवं तत्कालीन एमालेका केन्द्रीय सदस्य स्वर्गीय डिल्लाबहादुर महतको सालिक अनावरण गरेका छन्। उनको सालिक नेकपा पार्टी कार्यालय जुम्लामा निर्माण गरिएको छ। करिब १३ लाख रुपैयाँमा सालिक निर्माण गरिएको स्वर्गीय डिल्लाबहादुर महत स्मृति प्रतिष्ठानका संयोजक शान्तिलाल महतले बताए।
प्रतिक्रिया दिनुहोस !