चियापानमा भ्याइनभ्याइ

चियापानमा भ्याइनभ्याइ

विराटनगर : नेकपा अध्यक्ष पुष्पकमल दाहाल सोमबार ‘टाइट सेड्युल’बीच विराटनगर विमानस्थल ओर्लिए । चार घण्टाको यात्रामा उनीसँगै थिए, महासचिव विष्णु पौडेल । उनीहरू तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन यहाँ आएका थिए । पार्टी एकतापछि पहिलो पटक तत्कालीन एमालेको कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो । विमानस्थलमा उनले सरकारलाई गाडीसँग तुलना गरेका थिए । ‘हिलोमैलो हुँदा गाडी एक नम्बर गियरले चलाउनुपर्ने हुन्छ ।

हिलोमैलो सकिएको छ । अब गति लिन्छ’, उनले भने, ‘गियर फेरेर भए पनि सरकार अगाडि जान्छ र जनताले सरकारको विकल्प छैनन् भन्न थाल्नेछन् ।’ पार्टी कार्यालयमा भने उनले एकताका उपलब्धिबारे बोलेका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजना गरेको चियापानमा सहभागी हुने भन्दै उनीहरू अपराह्न काठमाडौं फर्किए । त्यसपछि मन्त्रीहरू लालबाबु पण्डित र भानुभक्त ढकाल कार्यक्रममा आकर्षण बने । उनीहरूलाई प्रदेशका मन्त्रीले साथ दिए । पण्डित र ढकाल एक सातादेखि आआफ्ना क्षेत्रमा हुने चियापानमा सहभागी भइरहेका छन् ।

त्यस्तै, कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार पनि पूर्व आएका छन् । मोरङ र सुनसरीका दर्जनभन्दा बढी कार्यक्रममा उनले सहभागिता जनाएका छन् । पार्टी एकतापछि कांग्रेसले नयाँ गति लिने भन्दै उनले कार्यकर्तालाई हौस्याउने गरेका छन् । ‘अब नयाँ सोच र दृष्टिकोणबाट चल्ने भएकाले कांग्रेसको विकल्प छैन’, मोरङको धनपालथान गाउँपालिकामा आयोजित कार्यक्रममा गच्छदारले भने ।

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला, मीनेन्द्र रिजाल, गगन थापा, गुरुराज घिमिरे, अमृत अर्याल, विश्वप्रकाश शर्मालगायत नेतालाई चियापान भ्याउन भ्याइनभ्याइ छ । कांग्रेसले आइतबार रतुवामाई नगरपालिकास्थित झुर्कियामा आयोजना गरेको कार्यक्रममा बाक्लो उपस्थिति थियो । केन्द्रीय नेताको उपस्थितिले गाम्रीण भेगमा कार्यक्रमको रौनक देखिएको थियो । रतुवामाईकै कर्सियामा आयोजित कार्यक्रममा पनि स्थानीयको भीड लागेको थियो । मोरङ कांग्रेसले पार्टी कार्यालयमै चियापान ग¥यो । ‘चाडबाडमा भेटघाट र शुभकामना दिन कार्यक्रममा पुग्ने गरेको छु’, नेता कोइरालाले भने, ‘कार्यक्रममा सहभागी हुन बिहानदेखि निमन्त्रणा आउँछ ।’ उनी निवासबाट बिहान ७ बजे निस्किन्छन् ।

नेकपाले रंगेलीमा गरेको कार्यक्रममा सहभागिता बाक्लो थियो । मुख्यमन्त्री शेरधन राईसहित प्रदेशका मन्त्री सहभागी थिए । समृद्धिको चाहना पूरा गरिने मुख्यमन्त्री राईको भनाइ थियो । ‘विकास र जनताको पीरमर्का बुझ्न स्थानीय र प्रदेश सरकार आएका हुन्’, उनले भने ।

नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले चियापान र शुभकामना आदानप्रदान कार्यक्रम केन्द्रले थितिको स्वरूप भएको बताए । ‘कांग्रेस र कम्युनिस्टले प्रतिबन्धित कालमा निरंकुशताका विरुद्धमा विचार आदानप्रदान गर्न यस्ता कार्यक्रम संयुक्त रूपमा गर्दथे’, उनले भने, ‘अहिले अलग-अलग गरे पनि सबैलाई निमन्त्रणा भने गर्ने गरिएको छ ।’ यस्ता कार्यक्रमले संस्कृति, संस्कार जोगाउन र भाइचारा बढाउन मद्दत मिलेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.