६ करोडको बन्दाकोभी बिक्री
चरिकाेट : भीमेश्वर नगरपालिका ९, साविकको लाकुरीडाँडा गाविसबाट ६ महिनामा ६ करोड रुपैयाँ बराबरको बन्दाकोभी निर्यात हुने गरेको छ। लाकुरीडाँडाका एकै किसानले २० हजारदेखि ४ लाखसम्मको बन्दाकोभी बिक्री गरेका हुन्।
साविकको लाकुरीडाँडा–७, ८ र ९ तथा अन्य वडाका करिब डेढ सय किसानले दैनिक करिब १ सय ३० टन बन्दाकोभी निर्यात गर्नेे गरेको भीमेश्वर नगरपालिका–९, झिँगानेका किसान धनबहादुर लामाले जानकारी दिए। उनका अनुसार सडकमा पुर्याइएको बन्दाकोभी ६ महिनायता १५ देखि २९ सम्ममा बिक्री गरिरहेका छन्। राजधानीमा खरिढुंगाको बन्दाकोभीको माग बढ्न थालेपछि किसानको घरदैलोमै व्यापारी पुग्ने गरेको भीमेश्वर नगरपालिका–९ का जनप्रतिनिधि एवं जिल्ला समन्वय समितिका सदस्य जितबहादुर श्रेष्ठले बताए।
लाकुरीडाँडाको खरिढुंगा, झिँगाने, हलहले, चित्रे, फोक्टे, चिसापानी, आहालडाँडा, फूलबारीघुम्तीलगायत क्षेत्रबाट दैनिक करिब ४ लाख रुपैयाँ बराबरको बन्दाकोभी राजधानी कालिकाटी तरकारी बजारलगायत स्थानमा निर्यात हुने गरेको भीमेश्वर नगरपालिका–९ का किसान फुर्वा लामाले जानकारी दिए। सामान्य करेसाबारीमा लगाइएको बन्दाबाट कम्तीमा १० हजार रुपैयाँ नाफा कमाउने किसान पनि रहेको उनको भनाइ छ।

सदरमुकाम चरिकोट, मैनापोखरी, जिरी, सिंगटी, मागादेउरालीलगायत स्थानीय बजारमा पनि लाकुरीडाँडाको बन्दाकोभी बिक्री हुने गरेको किसान बताउँछन्। केही वर्षसम्म बन्दाकोभीले बजार भाउ नपाएपछि आत्तिएका किसानले मिहिनेत गरेपछि चालु आर्थिक वर्षमा मनग्ये आम्दानी लिन पाइएको किसान सोममाया श्रेष्ठले बताइन्। ‘अघिल्लो सिजनमा निकै सस्तोमा बिक्री गर्न बाध्य हामीले पोहोरको घाटासमेत उठायौं,’ किसान श्रेष्ठले भनिन्।
लाकुरीडाँडाका करिब २ हजार ५ सय रोपनीमा बन्दाकोभी खेती हुने गरेको छ। साविकको कृषि विकास कार्यालय दोलखाले अर्गानिक तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा समेत विकास गरेसँगै किसान व्यावसायिक तरकारी खेतीमा उत्साहित भएर लागेका हुन्।
प्रतिक्रिया दिनुहोस !